रुकुम पश्चिम । रुकुम पश्चिमको छिनखेतमा एक दशक अघिसम्म धान, तरकारी र समय अनुसारको अन्नबाली फल्थ्यो । बाँफिकोट गाउँपालिकाका किसान छिनखेत झर्थे अन्नवालीले खेतै खेतको फाँटमा रहेको यो जिउलो निकै हरियाली हुन्थ्यो । देख्नेलाई पनि अन्नबालीको लागि यो क्षेत्र उत्तम हो जस्तो लाग्थ्यो । यहाँको उत्पादनले १२ महिनासम्म खान पुग्थ्यो । गाउँमा अनाज प्रर्याप्त मात्रामा हुन्थ्यो । त्यतिबेला गाउँमा सडक थिएन । फाँटमा दुई–चार वटा कच्ची घर थिए । आयातका खाद्यन्नमा भन्दा यहाँका स्थानीय आफैँले उत्पादन गरेको खाद्यान्नमा आत्मनिर्भर थिए । धेरै खेत भएकाहरू धान, गहुँ र मकै घोडा खच्चडमार्फत बिक्री गर्थे ।
जब सोही जिउला हुँदै सदरमुकाम मुसिकोटदेखि छिनखेत, नदुवा, राडी सडक सञ्चालनमा आयो । त्यसपछि यहाँको खेतीयोग्य जमिन मासिँदै गयो । घरहरू ठडिँदै गए । छिनखेत मात्रै होइन जिल्लाका धान फल्ने मुख्य फाँटहरू यतिबेला घरैघरले ढाकिएका छन् । खेतीयोग्य उर्वरभूमीका रूपमा चिनिएका सोलावाङ बजार, माछिमि, सिम्ली, छिनखेत, चौरजहारी र आठबिसकोटको राडीबजारका खेतीयोग्य जमिनमा धमाधम घर निर्माण भइरहेका छन् । छोटो समयमै खेतीयोग्य जमिन मासेर सहरीकरणसँगै बिस्तारै घरहरू थपिँदै गएका छन् । हरियो धान देखिने यो समयमा अहिले कतै बाँझो जमिन र घरहरू ठडिएका छन् ।
चौरजहारी नगरपालिका पनि केही वर्षअघिसम्म धान, तोरी र गहुँ उत्पादनका लागि नामी थियो । अहिले उक्त ठाउँमा पनि खेतीयोग्यजमिन मासिँदै गएको छ । अन्नवाली फल्ने खेत मासेर धमाधम जमिनमा ठूला भवनहरू खडा भएका छन् । खेतीयोग्य जमिन मासिँदै जाँदा सरोकारवालाहरूलाई कुनै चासो छैन । खेतीयोग्य जमिनमा घर बन्दै गएपछि उत्पादनमा कमि आएको छ । एकातिर खेतीयोग्य जमिन नै छैन । अर्कोतिर कृषि उत्पादनबाट सोचेजस्तो उपलब्धि हासिल हुन नसक्दा किसानहरू चिन्तित छन् । जिल्लाको मुख्यबजार क्षेत्रमा मात्रै होइन । ग्रामीण भेकमा पनि खेतीयोग्य जमिनमा रंगीविरंगी घरहरू देख्न सकिन्छ । पूर्वाधार विकासले ग्रामीण स्तरसम्म छुँदा खेतको बीचमै सडक र भवन निर्माणले खेतीयोग्य जमिन मासिने क्रम बढ्दै गएको छ ।
यहाँका बजार आसपास मात्रै होइन, जिल्लाका ग्रामीण भेगमा पनि अहिले खेत मासेर धमाधम भौतिक संरचना निर्माण हुने क्रम बढ्दो छ । नगरपालिका र गाउँपालिका केन्द्र तथा वडा कार्यालय रहेका ठाउँमा झन् जमिनको मूल्य आकासिने र घरहरूले खेत भरिएका छन् । आठबिसकोट नगरपालिका–९ स्थित राडीबजारमा पछिल्लो समय सयौँ घर र सरकारी भवनहरू ठडिएका छन् । नयाँ घर थपिने क्रम बढिरहेको छ । आठबिसकोट नगरपालिका–९ का स्थानीय मनबहादुर खत्री खेतीयोग्य जमिन मासिँदै गएकोमा चिन्ता व्यक्त गर्छन् ।
यो क्रम तीव्र छ । ग्रामीण भेगमा त झन् खेतको बीचमै सडक र भवन निर्माणले तीव्रता पाएको छ । स्थानीय तहहरूले जमिन खण्डीकरण र खेतीयोग्य ठाउँमा जथाभावी भौतिक संरचना निर्माणमा कडाइ गर्नुपर्ने कृषि प्राविधिक बताउँछन् । उनले आफूले मुरीका–मुरी धान उत्पादन गर्दै आएको खेतमा उत्पादन घटेको र घरहरू ठडिएको सुनाउँछन् । उनी भन्छन्, ‘हाम्रो पालामा गाईभैँसी पाल्ने चलन थियो । अर्गानिक मल खेतमा हाल्दा राम्रै उत्पादन हुन्थ्यो । सडक थिएन । बाहिरको खाद्यान्न आउँथेन आफ्नै खेतमा उब्जिएको अन्नले हामीलाई १२ महिना खान पुग्थ्यो । आजभोलि त नुनदेखि सुनसम्म बाहिरबाट आएको हुन्छ । खेत जोत्न जागर कसलाई लाग्छ ? घरहरू बनाएर बचेका खेतमा पनि मान्छेले खेती लगाउनै छाडे ।’
केहि वर्ष पहिले यतिबेला हरियो धान देखिने यो ठाँउमा अहिले बजार बनेको छ । गाडी पुगेपछि बिस्तारै खेतीयोग्य जमिन मासिँदै गए । अहिले न्यूनतम एक तलादेखि आठ तला सम्मका घरहरू ठडिएका छन् । मुलुकमा संघीयता आएसँगै बनेको स्थानीय सरकारपछि मुख्य बजार क्षेत्रमा बढ्दो सहरीकरणका कारण जमिन मासिँदै गएको जानकारहरू बताउँछन् । जग्गा बेचेर पैसा कमाउने होडबाजीले अधिकांशले खेतीयोग्य जमिन मास्दै आएका छन् । २०६४ सालमा राडीबजारमा गाडी पुगेपछी जग्गाको भाउ बढ्यो । खेतीयोग्य जमिन घडेरीका रूपमा बिक्री हुन थाले । परम्परागत कृषि प्रणालीबाट कृषिमा लगाइएको मिहिनेतमा उपलब्धि नदेखिएपछि किसानले घडेरी बेच्न थाले ।
सडक गाउँमै पुगेपछि खेतीयोग्य जमिन बेच्ने क्रम बढ्यो । अर्का किसान सालिकराम भन्छन्, यातायातको सहजसँगै सबै कुराहरू बाहिरबाट आउन थाल्यो । गाउँमा बचेको जमिन पनि बाँझै हुन थाल्यो । युवाहरूमा खेती गर्ने जागर छैन । बाँकी रहेको जमिन पनि घरहरूले भरिसकेका छन् । भौतिक पूर्वाधारसँगै खेतीयोग्य जमिन मासिँदै गएको उनी बताउँछन् ।
पाँच वर्ष यताको तथ्यांक हेर्ने हो भने यहाँ आधिभन्दा बढी ठाउँमा घरहरू निर्माण भएका छन् । गाडी नपुग्दासम्म यहाँका स्थानीय रैथाने खाद्यान्नमा आत्मनिर्भर थिए । तर पछिल्लो समयमा खेतीपाती गर्नेको संख्या कम हुँदै आएको छ । रुकुम पश्चिमका ३ हजार ४८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । धानखेतीका लागि जिल्लाको चौरजहारी, सानीभेरी, बाँफिकोट, मुसिकोट र आठविसकोट मानिन्छन् । ठाउँहरू उपयुक्त मानिन्छन् ।
रुकुम पश्चिम
प्रतिक्रिया