ट्विटरको लाेगो परिवर्तन

काठमाडौं । एलन मस्कले ट्विटरको लागो परिवर्तन गरेका छन् । ट्विटरको ट्विटर ह्यान्डलमा चराको ठाउँमा एक्स राखिएको हो । ट्विटरमा रहेको चराको फोटो पनि आजै परिवर्तन गरिने मस्कले ट्विट गर्दै जानकारी दिएका छन् ।

मस्कले एक्स डटकम वेबसाइट खोल्दा ट्विटर डटकम खुल्ने भइसकेको पनि बताएका छन् । ट्विटर कम्पनीलाई खरिद गरेपछि मस्कले एक्स कर्प कम्पनीका रूपमा रिब्रान्डिङ गर्न खोजेका छन् । सोहीअनुसार लोगो परिवर्तन र एक्स डककम खोल्दा ट्विटर डटकम खुल्ने बनाइएको हो ।

ट्विटरकी सीईओ लिन्डा याकारिनोले ‘एक्स असीमित अन्तरक्रियात्मकता’को भविष्य बन्ने बताएकी छन् । ट्विटरमा उनले लेखेकी छन्, ‘अडियो, भिडियो, सन्देश, भुक्तानी/बैंकिङमा केन्द्रित– एक्स विचार, वस्तु, सेवा र अवसरको लागि विश्वव्यापी बजार बन्नेछ । एआईबाट सञ्चालित एक्सले हामी सबैलाई कल्पना गर्न थालेअनुसार एकै ठाउँमा ल्याउनेछ ।’

उनले अर्काे ट्विटमा भनेकी छन्, ‘जीवनमा वा व्यवसायमा अर्को ठूलो प्रभाव पार्ने दोस्रो मौका पाउनु असाधारण र दुर्लभ कुरा हो । ट्विटरले ठूलो प्रभाव पार्‍यो र हामी सबैले सञ्चार गर्ने तरिका नै परिवर्तन गर्‍यौँ । अब ग्लोबल टाउन स्क्वायरलाई रूपान्तरण गर्न एक्स अघि बढ्नेछ ।’

मस्कले हिजो नै ट्विट गर्दै यसको लोगो फेरिने बताएका थिए । मस्कले ट्विटरलाई सबै काम एउटैबाट गर्न सकिने ‘एभ्रिथिङ वा सुपर एप’का रूपमा विकास गर्न खोजेका छन् । विश्वभर प्रभावशाली संस्थाहरूको नेतृत्वकर्ता मस्कले ट्विटरको रिब्रान्डिङ गरिरहेको विषयलाई केही आलोचकबाहेक अरू व्यक्तिहरूले सकारात्मक रूपमा हेरेका छन् ।

खासगरी सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनपछिको समयमा ट्विटरमा स्वतन्त्र अभिव्यक्तिलाई अझै बढी प्राथमिकता दिन आवश्यक रहेको भन्दै मस्कले कम्पनी खरिद गर्ने बताएका थिए ।

प्रतिक्रिया