रौतहट । सडक डिभिजन चन्द्रनिगाहपुरले आर्थिक वर्ष २०७१/०७२ देखि पूर्वाधार विकास (पुल र सडक) मा रौतहट र सर्लाही जिल्लामा उल्लेखनीय प्रगति गर्दै आएको छ । मधेश प्रदेशमा केन्द्र सरकारको तीनवटा सडक डिभिजन मध्येको एक हो, सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर । सडक डिभिजन चन्द्रनिगाहपुरमा पछिल्लो चार वर्षयता ई. दारोगा प्रसाद प्रमुख छन् । उनी संक्रमणकालीन राजनीतिक अवस्थाको बेलामा पनि एउटै डिभिजनमा दुई कार्यकाल निर्विवाद काम गर्ने थोरै कार्यालय प्रमुख मध्यमा पर्दछन् ।
डिभिजन प्रमुख ई. दारोगा प्रसादको सकृयताकै कारण सडक डिभिजन चन्द्रनिगाहपुरको कार्यक्षेत्र भित्र पर्ने सम्पूर्ण रुग्ण ठेक्काहरू मध्ये केही सम्पन्न भएको बताइन्छ । उनी त्यहाँ गएपछि अटेरी गर्ने निर्माण व्यवसायीका दसवटा ठेक्का कालोसूचीमा परेका छन् । आव २०७९/८० मा गर्नुपर्ने ४६ वटा ठेक्का व्यवस्थापन गरी विगतका ठेक्काहरू समेत ५५ वटा ठेक्का नियमानुसार सम्पन्न भएका छन् । कार्यालयको कार्यक्षेत्र भित्रपर्ने मरामा, चपुर–गौर तथा नवलपुर–मलंगवा सडकमा सवारी चालक तथा यात्रुलाई अफ्ठ्यारो पार्ने अव्यवस्थित होडिङ बोर्डहरु विभागीय निर्देशन अनुसार पूर्णरुपमा हटाई सो सडकलाई होडिङ बोर्डमुक्त सडकको रुपमा चिनाउन सफल भएको भन्दै स्थानीयले उनको प्रशंसा गरेका छन् ।
सडक डिभिजन चन्द्रनिगाहपुर अन्तर्गतका ठेक्का सम्झौताको शर्त अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई नीति नियमको आधारमा कारबाही गर्दा विभिन्न बाहानामा उजुरीसमेत परेको डिभिजन प्रमुख दारोगा प्रसादले बताए । उनले भने, ‘निज आफै वा अन्य व्यक्तिको नाममा डिभिजन प्रमुखको बिरुद्ध दूःख दिने मनसायले विभिन्न निकायमा उजुरबाजुर गर्ने गरेकोमा तोकेको लक्ष्य पूर्तीमा समेत अवरोध भएको छ ।’
उनका अनुसार त्यस्तै काम गर्ने/गराउनेलाई आधार मानी सर्वसाधारण तथा निर्माण व्यवसायीद्वारा विभिन्न अदालतमा दायर गरेको मुद्दा संख्या साठी (६०) रहेकोमा ११ वटा मुद्दा डिभिजनको पक्षमा दुईवटा निर्माण व्यवसायीको पक्षमा तथा अन्य ४७ वटा मुद्दा चालु रहेका छन् ।
ठेक्काको संख्या तथा आकारको तुलनामा आव २०७९/८० मा बजेट विनियोजन न्यून भएको तथा आर्थिक वर्षको अन्त्यतिर माग भए अनुसारको रकम बजेट विनियोजन नभएको बताउदै उनले भने, ‘निर्माण व्यवसायीद्धारा पेश गरिएको कामको विल चालू आवमा विनियोजित रकम भन्दा करीब दोब्बर रहेको थियो । जुन भुक्तानी हुन नसक्दा असार ३१ देखि साउन ३ सम्म कार्यालयमा तालाबन्दी गरिएको थियो ।’ साउन ३ गते कार्यालय कम्पाउन्ड भित्र भएको छलफलमा एक महिनाभित्र भुक्तानी हुने शर्तमा तालाबन्दी खोलिएको डिभिजन प्रमुख दारोगा प्रसादले बताए ।
आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयको भौतिक प्रगति अन्र्तगत करीब ८४ किलोमिटर सडक निर्माण भएको छ, भने ६ वटा पुलको निर्माण सम्पन्न गरिएको छ । चालु आवमा बजेट उपलब्ध भएको अवस्थामा करीब ७५ किमी सडक कालोपत्रे गर्ने तथा ८ वटा पुल निर्माण गर्ने योजना रहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुरका प्रमुख दारोगा प्रसादले बताए ।
प्रतिक्रिया