भाडिकोट गाँउमा सौर्य ऊर्जामार्फत विजुली

बझाङ । बझाङको केदारस्यु गाँउपालिका– ३ भाडिकोटमा सौर्य ऊर्जामार्फत विजुली बाल्न पाउने भएपछि त्यहाँका स्थानीयहरु खुसी भएका छन् । वडा नम्बर ३ को भाडिकोट, डाफ्रु, मैतोली, तलिवाडा र धान्ना गाँउका करीव २ सयभन्दा बढी परिवारहरुले सौर्य ऊर्जामार्फत विजुली बाल्न पाउने भएपछि खुसी भएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केदारस्यु गाँउपालिकाको आर्थिक सहयोगमा करीव पाँच करोडमा निर्माण भएको भाडिकोट सौर्य मिनिग्रिड परियोजनामार्फत सोलारबाट विजुली बाल्न सफल भएको सौर्य ऊर्जा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खातीले बताए ।

खातीका अनुसार यो आयोजनाको निर्माण कार्य सकिएर अहिले घरघरमा विजुली जडान कार्य भइरहेको र यस्ले गाँउका स्थानीहरुलाई कस्तो परिमाण ल्याउँछ भन्ने कुरा हेर्न बाँकी रहेको छ । परिक्षण सफल भइसकेपछि डिजिटल कार्डमार्फत विजुलीको विल भुक्तानी हुने उनले बताए ।

त्यस्तै वडाध्यक्ष विरबहादुर खातीले भने यति ठूलो गाँउमा सोलारबाट विजुली बाल्ने काम पालिकाकै पहिलो भएकाले स्थानीयहरु एकदमै उत्साहित भएको र यो काम सफल बनाउन वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको जम्मा ४ करोड १ लाख ३५ हजार ९ सय ५५ रुपौयाँ र गाँउपालिकाको ४४ लाख ५९ हजार ५ सय पचास रुपैयाँ र स्थानीयहरको सहयोगबाट निर्माण कार्य सम्पन्न भइ २ सय २२ घरधुरीका परीवारलाई ढुक्कसँग विजुली बाल्न पाउने र सानासाना उद्योग धन्दाहरु पनि सञ्चालन गर्न सकिने बताए ।

निर्माण कार्य सम्पन्न गर्न ठेक्का पाएको सौर्य इबिजा जेभि काठमाडौंका अनुसार २०७९ असार २४ गते सम्झौता भइ निर्माण कार्य सम्पन्न भइसकेको र अब हस्तान्तरण गर्न बाँकी रहेको छ । वडा नम्बर ३ का गाँउमा सोलारबाट विजुली बल्ने भएपछि त्यहाँका स्थानीयहरु उत्साहित भएका छन् ।

बिगतका दिनहरुमा घरघरमा सानासाना सोलारहरु थिए भने अहिले गाँउमा दुई तीन सय घरधुरीमा एकै पटक विजुली बलेको देख्दा अचम्मित भएको त्यहाँका स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया