जनकपुरधाम । आर्थिक अभावमा पाँच वर्षदेखि उपचार गर्न नपाएका महोत्तरी लोहरपट्टि नगरपालिका-९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुने भएको छ । दस/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उनी पछिल्लो समय खर्च नहुँदा उपचार नगरी बस्न बाध्य भएका थिए ।
करिब तीन बिघा जमिन र लाखौँ ऋण काडेर उपचार गर्दा पनि छोरालाई सञ्चो नभएपछि तनावमा रहेका ७० वर्षीय बुबा उत्तिममानको आग्रहपछि इन्डो-नेपाल इन्डो फोरमले मुखियाको उपचारका लागि पहल गरेको हो ।
फोरमका उपाध्यक्ष डा. पीके ठाकुरले आफूहरुको पहल तथा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको सिफारिसमा भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार हुन लागेको जानकारी थिए ।
उनका अनुसार एम्सले मुखियाको उपचारका लागि सहयोग गर्ने बताएको छ । ‘डाक्टर्स फोरमले पहल गरेपछि भारतीय महावाणिज्य दूतावास, वीरगन्जले एम्स उच्च व्यवस्थापन पक्षसँग छलफल गरी सिफारिस पत्र बनाइदिएको छ। सो पत्रका आधारमा सकेसम्म निःशुल्क र नभए न्यूनतम दस्तुरमा उपचार हुने जानकारी पाएका छौँ’, डा. ठाकुरले भने ।
रामनाथका बुबा उत्तिममान मुखियाले पनि महावाणिज्य दूतावासको पत्र प्राप्त भएको र छोरालाई भारतको राजधानी नयाँदिल्ली लाने जानकारी दिए ।
उत्तिममानका अनुसार माइलो छोरा रामनाथ मुखियालाई दस/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोग लाग्यो। उपचारका लागि सम्भव भएसम्म नेपालका सबै अस्पताल र पछि छिमेकी भारतीय सीमामा रहेका धेरै अस्पताल पुर्याए पनि रोग निको भएको थिएन । पुर्खाबाट अंशमा पाएको करिब तीन बिघा जमिन र साहुँ महाजनबाट चक्रीय ब्याजदरमा लाखाैँ ऋण लिएर उपचार गर्दा मुखिया परिवार समस्यामा छ ।
‘मैले उपचारका लागि हरसम्भव प्रयास गरेँ। जायजेथा बेचे, ऋण काढेँ । अरु छोराहरुको कमाइ पनि उपचारमै खर्च गरेँ। आखिर बाबु न हुँ, उसको दुःख र छटपटाहट कसरी हेरिबस्नु! अहिले रित्तो छु, सम्पत्तिको नाममा केही बाँकी छैन’, आँखाभरि आँसु टिलपिलाउँदै उनले भने ।
पाँच वर्षअघि डाक्टरले मासिक ३० हजार भारतीय रुपैयाँ पर्ने सान्डोस्टाटिन एलएआर नामक सुई लगाउन सिफारिस गरेका थिए तर पाँच वर्षअघि सुरु गर्नु भनिएको उपचार आर्थिक अभावमा अहिलेसम्म पनि सुरु हुन सकेको छैन । रासस
प्रतिक्रिया