पाँचथर । यस वर्षको वर्षायामको सुरुआतमै हेवाखोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो । बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्याएपछि जनजीवन असामान्य बनेको छ ।
चार वटा मोटरेवल पुल बगाएको हेवाखोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ तर त्योभन्दा मुख्य कुरा हेवाखोलाले ठाउँ–ठाउँमा बहाव बदलेको छ । यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ ।
हिलिहाङ गाउँपालिकाको हेवाखोलाको तटीय क्षेत्रमा कृषि उत्पादन र पशुपालन गर्दै आएका भवानी योक्पाङ्देनले तटीय क्षेत्र जोखिमपूर्ण बनेको बताए । ‘बाढी आउनुअघि ठूलो बगर थियो, फिजारिएको खोलामा बाढी आइहाल्दा पनि डराउनुपर्ने अवस्था थिएन’, योक्पाङ्देनले भने, ‘अहिले बाढीले सबै बगर पुरेको छ भने खोला गहिरिएर गएको छ ।’ गहिरिएको खोलाले सानो बाढी आउँदा पनि बगर छिचोल्ने डर तटीय क्षेत्रका बासिन्दाको छ ।
विगतमा रहेकोभन्दा बाढी आएपछि खोलाले बहाव यत्रतत्र बदलेको छ । जसकारण पानीको मात्रा बढ्नासाथ बहाव बदलिएर बस्तीसम्म पस्ने खतरा कायमै रहेको योक्पाङ्देनको चिन्ता छ ।
‘बर्खा सुरु मात्रै हुँदैछ, अझै पानी पर्ने समय तीन–चार महिना बाँकी छ’, योक्पाङ्देनले भने, ‘समग्रमा खोलाले तटीय क्षेत्रमा चिन्ता थपेको छ ।’ प्रायजसो साउन र भदौमा अधिक वर्षा हुने हुँदा बाढीको जोखिम उत्तिकै रहेको र अब बाढीले कता क्षति पुर्याउला भन्ने अनुमान गर्न नसकिने अवस्था आएको उहाँको भनाइ छ ।
हेवाखोला र तमोर नदीको दोभान माझीटारमा खोलाले शताब्दीऔँदेखि बसोबास गरिरहेको बस्तीमा कटान थालेको छ । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ माझीटारमा कहिल्यै खेती नटुटेको खेतबारीलाई यसपालिको बाढीले ढुंगामुढाको खण्डहरमा परिणत गरिदिएको छ ।
दोभान नजिकै हेवाखोलामा ढुंगा थुपारेको छ । नदीको कटान परिवर्तन हुनु र ढुंगा थुपारिनुले माझीटारको मुख्य बस्ती जोखिममा परेको स्थानीयवासी प्रकाश माझीको भनाइ छ । ‘अहिलेसम्म हामीले यस्तो जोखिम देखेका–भोगेका थिएनौँ’, माझीले भने, ‘यसपालि घर छोडेर भाग्नुपर्ला कि जस्तो बनायो ।’
बाढीका कारण हेवाखोलाका कुलबहादुर लावतीको खेतीयोग्य जमिन बालुवा, ढुंगा र मुढाले भरिएको छ । जे रोप्यो त्यही फल्ने खेत बालुवाले पुरेपछि के आम्दानीले जीविका चलाउने भन्ने चिन्ता परेको लावतीले बताए ।
बंगुर, हाँस र कुखुराको पालन तथा सागसब्जी उत्पादन गरी फिदिममा बिक्री गर्दै आएका भवानी योक्पाङ्देनको लगानी बालुवामा परिणत भएपछि उस्तै चिन्तामा छन् । माझीटारको धेरै धान उत्पादन हुने खेत बगाएको छ भने खानीपानी र सिँचाइका स–साना योजनालाई कामै नलाग्ने बनाइदिएको छ ।
हेवाखोलाले शताब्दीऔँदेखि अन्नपात उत्पादन गरिँदै आएका खेतबारीमा क्षति पुर्याएको छ । खण्डहर र बगर बनेका खेतबारीमा तत्कालै उत्पादन हुने सम्भावना छैन । जसले हिँउद र बर्खामा दुई खेती गरी जीविका चलाउँदै आएका कृषकलाई मारमा पारेको छ । त्यससँगै बाढीको जोखिमले भविष्यबारे पनि स्थानीयवासीलाई चिन्तित पारेको छ ।
आफूहरु जोखिममा परे पनि सरकारी निकायले वेवास्ता गरेको हिलिहाङ–७ की सुमिना लिम्बूको भनाइ छ । ‘घर बगाएका, मृत्यु र बेपत्ता भएका परिवारबारे सरकारले चासो राखेको छ तर घरबार भएर पनि बस्न नसक्ने स्थितिमा पुगेका हामीलाई कसैले एक शब्द सोध्नुभएको छैन्’, लिम्बूले हिलिहाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङदेनसमक्ष गुनासो पोखिन्, ‘आज बल्ल तपाईं हाम्रो पीडा हेर्न आइदिनुभयो, अरुलाई त फोन गरेर आइदिनुहोस् न भन्दा पनि मान्नुभएन ।’
तमोर कोरिडोर र मेची राजमार्गमा पेसा व्यवसाय चलेका तथा खेतीयोग्य जमिनमा प्रसस्तै उत्पादन भइरहेका क्षेत्रलाई एकै बाढीले धराशायी बनाएपछि स्थानीयवासी अत्तालिएका छन् ।
स्थानीय सरकारले केही ढाडस दिएर जोखिममुक्त गर्दै उत्पादन र व्यवसायलाई पुरानै लयमा फर्काउनु आवश्यक रहेको जिल्ला समन्वय समिति पाँचथरका निवर्तमान प्रमुख विष्णुप्रसाद सापकोटाले बताए ।
प्रतिक्रिया