साउदीमा गोली चल्दा एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरेबियामा गोली चल्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । साउदीको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि गोली चल्दा नेपालीसहित दुई जनाको मृत्यु भएको बताइएको छ । गोली लागेर मृत्यु हुनेनेपाली अमेरिकी दूतावासका सुरक्षा गार्ड बुझिएको छ ।

साउदी समाचार संस्था एसपीएले मक्का सहरका प्रहरी प्रवक्ताको बयानलाई उद्धृत गर्दै जनाए अनुसार कारमा सवार एक व्यक्ति अमेरिकी दूतावास अगाडि हातमा बन्दुक लिएर ओर्लिएका थिए । दूतावासको सुरक्षामा खटिएको सुरक्षा बलका सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो ।

गोली हानाहानमा हातमा बन्दुक लिएर ओर्लिएका शंकास्पद व्यक्तिको पनि मृत्यु भएको छ भने नेपाली सुरक्षागार्ड घाइते भएका थिए । घाइते नेपाली सुरक्षा गार्डको केही समयमै मृत्यु भएको समाचार संस्था एसपीएले जनाएको छ । मृत्यु भएका नेपाली सुरक्षा गार्डको नाम तथा नेपालको ठेगाना खुलेको छैन ।

प्रतिक्रिया