अब्बल बन्दै रुकुम पूर्व अस्पताल, पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

रुकुम पुर्व । रुकुम पुर्व अस्पताल रुकुमकोटमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका ६ की २६ वर्षिया ज्योती केसीको सोमबार दिउँसो सफल सल्यक्रिया गरिएको हो ।

दिउसो करिब दुई बजेतिर एपेन्डिसाइटिसको लक्ष्यण देखिएपछि ज्योतिका घरपरिवारले उनलाई रुकुमकोट अस्पताल पुर्याएका थिए । एपेन्डिसाइटिस भएर अस्पताल पुगेकी केसीको एमडिजिपी डाक्टर नारायण बराल नेतृत्वको टोलिले तत्काल आकस्मिक शल्यक्रिया थाल्यो ।

पहिलो पटक जिल्लामा एपेन्डिसाइटिसको सफलतापूर्वक इमरजेन्सी शल्यक्रिया गरी सफल उपचार गरिएको डाक्टर बरालले जानकारी दिए । डाक्टर बराल सहित डाक्टर रोहित शर्मा, नर्स रोशनी डागी, नर्स सोनु केसी, एनेस्थेसिया सहायक देउमा घर्ती र सहयोगी सुष्मा हमालको टोलिले केसीको सफल सल्यक्रिया गरेको हो ।
एपेन्डिसाइटिस आकस्मिक रूपमा देखा पर्ने गम्भीर रोग हो । समयमै उपचार नपाए एपेन्डिसाइटिसले मानिसको ज्यान पनि लिन सक्छ । डाक्टर बरालले भने, ‘यो रोगको लक्षण देखिने वित्तिकै जटिलता हेरेर शल्यक्रिया गर्नुपर्ने हुन्छ ।’

उनकाअनुसार एपेन्डिसाइटिस हुँदा बिरामीको पेट पटक–पटक दुख्ने, भोक कम लाग्ने, वाकवाकी लाग्ने, पेट दुखिरहने र ज्वरो देखिने समस्या आउँछ । पेटको दुखाई सहनै नसक्ने गरि लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने संभावना हुने डाक्टर बरालले बताए । उनले भने, ‘ज्योतीको पनि एपेन्डिक्स फुट्ने संभावना अधिक थियो ।’ सिमित श्रोत साधनबाट केसीको सफल सल्यक्रिया गरिएकोमा उनले खुसी ब्यक्त गरे । उनकाअनुसार अहिले केसीको स्वास्थ्य अवस्था सामान्य छ ।

रुकुम पुर्व अस्पतालमा २०७९ देखि गर्भवती महिलाहरुको शल्यक्रिया गरेर प्रसुती गराउने व्यवस्था रही आएकोमा एपेन्डिसाइटिसको पनि जिल्लामै सल्यक्रिया सुरु भएको छ ।

डाक्टर नारायण बरालले भने, ‘हामीले पछिल्लो पटक गरेको सर्जरी विकसित मुलुक र नेपालकै ठुला शहरका सुबिधा सम्पन्न अस्पतालका लागि केही होइन तर दुर्गम स्थानमा एकदमै ठूलो सफलता हो । न्युनतम साधन स्रोतमा हामीले विशेषज्ञ सेवा दिन सुरु गरेका छौँ र त्यो सफल भएको छ ।’ यसले जिल्लाको स्वास्थ्यस्तरलाई पक्कै माथि उठाउन सहयोग पुर्याउने उनले बताए ।

यसअघि एपेन्डिसाइटीस, हाइड्रोशिल तथा हर्नियाका केश जटिल मानेर तत्काल जिल्ला बाहिर रिफर गरिंदै आइएको थियो ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया