सुर्खेत । ‘इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन । असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?,’ वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमालले एकै स्वरमा आफ्ना दुःखेसो पोखिन् । विक र कुमालको दैनिकी खानेपानीको लाइनमै बित्छ ।
बिहान छोराछोरीलाई स्कुल पठाएर पानी भर्न आउँदा एक गाग्री पानी भर्न दिउँसो ३ बजे पालो आउँछ । सोलिघोप्टे गैराबाट पाइपबाट ल्याएको सानो पानीमा एक गाग्री पानी भरिन आधा घण्टा लाग्छ । वीरेन्द्रनगर नगरपालिकाको झुप्रा खोलाबाट वितरण हुने खानेपानीको धारामा १० दिनसम्म पानी आउँदैन । प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ ।
पानीका मुहानहरू खडेरीले सुक्दै जानु, अव्यवस्थित विकास र अन्य प्राकृतिक प्रकोपहरूका कारण पनि खानेपानीको समस्या सिर्जना भएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मनिषा थापा स्थानीय सरस्वती माविमा कक्षा ५ मा पढछिन् । विद्यालय समयमै पुग्न उनलाई सधैँ कठिन हुन्छ । कारण, खानेपानी समस्या । बिहान ५ बजे उठेर पानी लिन धारामा जाने उनी हातमुख धोएर एक जर्किन पानी लिई घर आइपुग्दा १० बज्छ ।
पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ । धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन् । पालो पाउनै सधैँ सबैलाई मुस्किल पर्छ । मनिषाले भनिन्, ‘कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु । हातमुख नधोएरै स्कुल गएको छु ।’ गर्मी मौसम सुरु भएसँगै धारामा साता दिनमा एकपटक पानी आउने गरेको उनले सुनाइन् । प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ ।
वीरेन्द्रनगरका वडा १ देखि १२ सम्म खानेपानीको समस्या छ । खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयका सूचना अधिकारी डोरप्रसाद उपाध्यायले वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान भेरीको पानी पम्पिङ गरेर नल्याएसम्म गर्न सम्भव नरहेको बताए । उनले भने, ‘वीरेन्द्रनगरका साथै जिल्लाका अन्य पालिकामा पनि खानेपानीको समस्या छ । समस्या समाधानका लागि स्थानीय पालिकासँग समन्वय गरेर कामहरू भइरहेका छन् ।’
भेरी पम्पिङमा काम नहुँदा बर्सेनि रकम फ्रिज भइरहेको छ । संघीय सरकारले अघिल्लो वर्ष दुई करोड र गत आर्थिक वर्ष ६ करोड छुट्याएको थियो । गत वर्ष प्रदेश सरकारले छुट्याएको ५० करोड कामै नभई फिर्ता गएको थियो । गर्मी समय सुरु भएसँगै कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरका नागरिकहरू अहिले खानेपानीको चरम अभावमा छन् । बजारवासीहरूले गाडीमा पिउने पानी ओसार्ने गरेका छन् ।
वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार मात्रामा पानी आपूर्ति गर्न सकिरहेको छैन । वीरेन्द्रनगर–९ मा धारामा १५–१६ दिनमा एक घण्टा मात्र पानी आउने गरेको छ । कहिलेकाहीँ एक गाग्री पानी भर्न नपाउँदै पानी सुक्ने गरेको स्थानीय विनोद गुरुङले बताए ।
गाउँमा रहेको एउटा कुवाले एक–दुई टोललाई जेनतेन धानेको छ । वडाले खानेपानीको समस्या समाधान गर्न दुईवटा डिप बोरिङ खनेको थियो । ती बोरिङसमेत सञ्चालनमा आउन सकेका छैनन् । वडामा चुलिएको खानेपानीको समस्या समाधानका लागि पुराना कुवालाई मर्मत गर्ने, स–साना खानेपानीका मुहानको मर्मत गर्न थालिएको वडाध्यक्ष कृृषि गिरीले बताए । उनले भने, ‘अघिल्लो कार्यकालमा खनिएका डिप बोरिङ प्रयोगमा छैनन् । एउटा नयाँ बोरिङ सञ्चालनमा ल्याउँदैछौँ ।’ वीरेन्द्रनगरमा १ सय २० घण्टामा एकपटक पानी वितरण गर्ने सुर्खेत उपत्यका खानेपानी संस्थाको तालिका छ । उपभोक्ता भने तालिकाअनुसार पानी नआएको बताउँछन् ।
प्रादेशिक केन्द्र बनेपछि वीरेन्द्रनगरमा दिनहुँ जनसंख्या बढ्दो छ । अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम झनै तीव्र रूपमा बढ्दो छ । सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको छ । मागअनुसार खानेपानी पु¥याउन नसकिएको उनले बताए । मुहानमै पानी सुक्दै गएकाले पाँच दिनमा एकपटक खानेपानी वितरण भइरहेको उनले सुनाए । उनले भने, ‘छोटो समयमा उल्लेख्य रूपमा उपभोक्ता बढेको र प्रदेशको राजधानी बनेपछि जनसंख्या बढेको छ ।’
वीरेन्द्रनगर उपत्यकामा हाल खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट एक सय ५७ लिटर प्रतिसेकेन्ड पानी ल्याइएको संस्थाका प्रमुख गौतमले जानकारी दिए । यी पानीका स्रोतको पनि अपुग भएपछि पाँच दिनमा एक दिन गरेर वितरण गरिँदै आएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि दुई लाख जनसंख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए । उक्त जनसंख्यालाई सहज खानेपानीको आपूर्ति गर्न करिब २ सय ७८ लिटर प्रतिसेकेन्ड आवश्यक पर्दथ्यो । संस्थाका अनुसार हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट १ सय २८ लिटर प्रतिसेकेन्ड पानी मात्र उपलब्ध हुने भएकाले पानीको अभाव भएको हो । हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएकामा यस वर्ष थप घरधुरीमा खानेपानीको लाइन वितरणपछि अझ पानी अभाव हुने देखिन्छ । अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो ।
वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधान गर्नका लागि विकल्पको खोजी गरिएको छ । दीर्घकालीन रूपमा समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउन विश्व बैंक, नेपाल सरकार र नगरपालिकाबीच भएको त्रिपक्षीय सम्झौताअनुसार यही असारसम्म बोलपत्र आह्वान गरिने नगरपालिकाले जनाएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) सम्पन्न भइसकेको छ । दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरणअन्तर्गत ४ अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ । आयोजना सुरु भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने छ । यसले उपत्यकाको खानेपानी अभाव समाधान हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया