सिस्ने गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले लोकप्रिय कार्यक्रम सार्वजनिक गरेको छ । १३औँ गाउँसभामा मंगलबार गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रम सार्वजनिक गरेका हुन् । अध्यक्ष रेग्मीले कृषि, पशुपालन, शिक्षा, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् ।

गाउँपालिकाले एक टोल एक उत्पादनको नारा सहित ‘एक वडा पाँच कृषि उपच उत्पादन’ गर्ने नीति अघि सारेको छ । कृषि पेशालाई व्यवसायकि बनाउन, उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकहरुलाई पालिका उत्कृष्ट कृषक सम्मान कार्यक्रमबाट सम्मान गर्ने भएको छ । किसानहरुसँग देखिएका कृषि समस्या हल गर्न कृषकसँग पालिका कार्यक्रम लागू गरिने अध्यक्ष रेग्मीले नीति कार्यक्रममा सुनाए ।

संघ र प्रदेश सरकारसँगको साझेदारीमा कृषि पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने र कृषकहरुलाई किसान परिचयपत्र वितरण गर्ने सिस्ने गाउँपालिकाको योजना छ । गाउँपालिकाका व्यवसायीक कृषकहरुलाई गाई–भैँसी पालनमा आकर्षण गर्न गाई–भैँसी सुत्केरी स्याहार भत्ता उपलब्ध गराउने र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यालयका प्रअसँग कार्यसम्पादन करार सम्झौता गर्ने कार्यलाई आगामी वर्षमा पनि निरन्तरता दिइने भएको छ ।

विद्यार्थीहरुलाई विभिन्न विषयमा अनुशिक्षण गर्न विद्यार्थीसँग गाउँपालिका र गाउँपालिकाका गरीब तथा जेहन्दार विद्यार्थीहरुको लागि गाउँपालिका छात्रवृत्ति कार्यक्रम, विद्यार्थीहरुमा अन्तरनिहित बाल प्रतिभाको पहिचान गरि सोको प्रवर्द्धन र विकास गर्न पालिका नानिबाबु प्रतिभा प्रस्तुतिकरण कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष रेग्मीले घोषणा गरे ।

यस्तै गाउँपालिकाभित्र रहेका खेलाडीहरुको पहिचान तथा विकासको लागि खेलाडीसँग गाउँपालिका र गाउँपालिकाको समग्र खेलकुदलाई चलायमान बनाई खेलाडीहरुको क्षमता विकास गर्न पालिका कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने उनले उल्लेख गरे ।

स्थानीय सरकारलाई जनउत्तरदायी गराउन जनतासँग स्थानीय सरकार रेडियो कार्यक्रम, वडावडामा प्रत्येक महिना नागरिक भेटघाट गरी आम नागरिकको चासो गुनासोलाई सम्बोधन गर्न जनतासँग अध्यक्ष–उपाध्यक्ष कार्यक्रम र गाउँपालिको समग्र विकास एवं वृहत हितको लागि योगदान पुर्याउने पत्रकार तथा सञ्चारकर्मीको मनोबल बढाउन सञ्चारकर्मीसँग गाउँपालिका कार्यक्रम सञ्चालन गर्ने कार्यलाई विशेष जोड दिइएको छ ।

संस्थागत प्रसूतीलाई प्रेरित गर्न प्रसूतीको लागि पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिइने उनले उल्लेख गरे । दुर्गम बस्तिका नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै स्थानीय समुदाय र निजी क्षेत्रको समन्वयमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने पालिकाको योजना छ ।

रुकुमकोट बजारसहित अन्य वडाका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने भएको छ । गाउँपालिका भित्रका सडकहरुमा ट्राफिक संकेतका चिन्हहरु र दुरीका संकेतहरु राखी यात्रालाई सूचनामुलक बनाउन मुख्य सडकहरुमा सौर्य सडक बत्ति जडान गर्ने, सडक निमार्ण गर्दा नयाँ सडक विस्तारभन्दा सडक स्तरोन्नति तथा सुधारमा ध्यान केन्द्रित गर्ने, नागरिकलाई एक घर एक धारामार्फत स्वच्छ खानेपानी उपलब्ध गराउन आवश्यक व्यवस्था गरिने र विगत वर्षदेखि सञ्चालनमा ल्याइएको पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइने नीति कार्यक्रममा भनिएको छ ।

गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडामा केन्द्रिय प्रशारण लाइनको विद्युत विस्तार र अन्य वडाको विद्युत सेवालाई नियमित र गुणस्तरिय बनाउने कार्यलाई जोड दिने भएको छ । गाउँपालिकाभित्र रहेका ऐतिहासिक स्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्यटन पूर्वाधार कार्यक्रम र समग्र गाउँपालिकाको पर्यटन प्रर्वद्धनको लागि एक वडा एक पर्यटकीय स्थल निर्माण गरिने नीति अघि सारिएको छ ।

देशमा बढिरहेको गरिवी र बेरोजगारी समस्यालाई न्यूनिकरण गर्न संघ र स्थानीय तहको लागत साझेदारीमा लघु उद्यम विकास कार्यक्रम, युवाहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउन तथा स्वरोजार सृजना गरी युवाहरुलाई स्थानीयस्तरमा नै उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यसहित पालिका युवा उद्यम कार्यक्रम र पुरानो सिप कलालाई जिवन्त राख्न अन्तर पुस्ता सिप हस्तान्तरण कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष रेग्मीले घोषणा गरेका छन् ।
सिस्ने गाउँपालिका जिल्लाका तीन स्थानीय तह मध्य आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेको छ ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया