रुकुम पश्चिम । आठबिसकोट नगरपालिकाले पालिकाले स्थानीयसँग आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धि सुझाव संकलन सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी शनिवार नागरिकस्तरमा सुझाव संकलन गरेको हो । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ, राजनीतिक दल, संघ संस्था, बुद्धिजीवी, सञ्चारकर्मी, समाजसेवी, कर्मचारी र आम नागरिबाट राय सुझाव संकलन गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिएका छन् ।
नागरिक स्तरबाट महत्त्वपूर्ण सुझावहरु प्राप्त भएको र प्राप्त सुझावलाई प्राथमिकताको आधारमा नीति तथा कार्यक्रममा समावेश गरिने नगरप्रमुख केसीले बताए ।
आम पालिकावासिको भावनालाई समेटने गरि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रमुख केसीले प्रतिबद्धता व्यक्त गरे । आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेका बेला त्यसैको तयारी स्वरुप नागरिक स्तरबाट सल्लाह, सुझाव संकलन गरिएको प्रमुख केसीले बताए ।
नागरिकका समस्या र आवश्यकतालाई ध्यानमा राखी बजेट ल्याउने तयारी भइरहेको आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणि राज शाहले जानकारी दिए । समुदाय स्तरमा रहेका तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्ने बजेट ल्याउनकै लागि राय सुझाव संकलन गरिएको उनले स्पष्ट पारे ।
संघ प्रदेशबाट विभिन्न शिर्षकमा प्राप्त हुने अनुदान, आन्तरिक श्रोत, दिगो विकासका आधारहरू र स्थानीय आवश्यकताका आधारमाआगामी वर्षका योजना छनोट गरिने प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिए ।
बजेटको प्रभावकारी कार्यान्वयन कसरी गर्ने, पालिकाको समग्र विकासमा पालिका वासीको भूमिकालाई कसरी समेट्ने भन्नेबारे आठबिसकोट नगरपालिकाले नागरिकसँग अन्तरक्रिया गरेको हो ।
कार्यक्रमका सहभागिले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र विपत व्यवस्थापन लगायतका सवालमा आफ्ना राय, सल्लाह र सुझाव प्रस्तुत गरेका थिए । सुझाव संकलन कार्यक्रममा सर्वदलिय, नागरिक समाज बिभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागिता थियो ।
प्रतिक्रिया