ललितकला प्रज्ञा–प्रतिष्ठानको दुईदिने परम्परागत चित्रकला गोष्ठी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा दुई दिने थांका–पौभासम्बन्धी गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम बिहीबार सुरु भएको छ ।

कार्यक्रममा प्रतिष्ठानका परिषद् कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, प्राज्ञसभा सदस्य लालमान लामा, अशोक लामा, सुन्दर सिंख्वाल, झिग्मे लामा, निरिमाया लामा, महेन्द्र सुनार, थांका–पौभा कलाकार, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

गुरु टुल्कु ज्याङम्याङले थांका–कलामा बौद्ध दर्शनको विषयमा ‘किवंदन्ती अनुसार परम्परागत कला (थांका, पौभा) कलाको इतिहास सम्बन्धमा जानकारी गराए । उनले भने, ‘बुद्ध स्वयम हुनुहुँदा टु डि–थ्रिडी कला (चित्रकला र मूर्तिकला) को सुरुवात भइसकेको थियो ।’

उनले सामान्य रुपमा कलाको विभाजन गर्दै कला दुई प्रकारका सासारिक कला र अलौकिक कला हुने बताए । सांसारिक कला भन्नाले आफ्नो भित्री मनमा भएको कुरालाई व्यक्त गरेर समाजमा परिवर्तन ल्याउने यसको मुलविन्दु हो । त्यसैगरी अलौकिक कला भनेको स्वयम् आफैमा परिवर्तन ल्याउने हो ।

यसका पनि दुई प्रकार छन् : पुण्य सञ्चय र ज्ञान सञ्चय । बुद्धत्व प्राप्त गर्न पहिला पुण्या सञ्चय प्राप्त गर्नुपर्दछ भने दोस्रो ज्ञान सञ्चय प्राप्त गर्नुपर्दछ । स्तुप भनेको बुद्धको चित्तको स्वरुप हो । चित्तको स्वरुप पाँचवटा ज्ञान हुन्छन् जसमा शून्यताको ज्ञान, प्रकटको ज्ञान, समान्ताको ज्ञान, विविधताको ज्ञान र परहितको ज्ञान हुन्छन् ।

उनले भने, ‘नेपालमा भएको कला र संस्कृति फरक किसिमको भएता पनि युवाहरुले चासो देखाएको देखिँदैन । हामी कला संस्कृतिमा निपूणको कारणले हामीले हाम्रो दर्शनलाई नकार्नु हुँदैन ।’ यसैगरी टिप्पणीकर्ता नविन मोक्तानले भने, ‘थांका कलाले हाम्रा चित्तको अवस्था देखाउँछ । यो आफैमा विविधता छ । बौद्ध धर्मको विभिन्न पक्षलाई दर्शाउँछ । शान्त तथा क्रोध दुवै रहेको हुन्छ ।’

अन्त्यमा धन्यवाद ज्ञापन गर्दै कुलपति नारदमणि हार्तम्छालीले दुई विद्वान प्राज्ञिक व्यक्तित्वबाट जुन प्रवचन सुन्न पाइयो त्यसबाट आफू प्रभावित भएको बताए । उनले भने, ‘हामीले कलाको सौन्दर्यको रुप हेर्छौ र सबै कुरालाई होलिस्टिक अप्रोचमा समावेश गरेका हुन्छौ ।’

उनले परम्परागत चित्रकला विभागले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै सबै सहभागी महानुभावलाई धन्यवाद ज्ञापन गरे । प्रतिष्ठानको परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले परम्परागत चित्रकलाको महत्व र गरिमालाई अझ प्रभावकारी रुपले स्थापित गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया