सापकोटाको उपन्यास ‘सेयरपुर’ सार्वजनिक

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास सेयरपुर सार्वजनिक गरिएको छ । सेजनद्वारा बिहीबार आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्तमान तथा पूर्वअध्यक्षले सामुहिक रुपमा उपन्यासको विमोचन गरेका हुन् ।

पुस्तक माथिको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नका लागि प्रोत्साहित गरेको बताए । नेपालमा पुँजी बजार क्रमशः विस्तार हुँदै गएको हमालको भनाइ थियो ।

उपन्यासमा रहेको पदम पात्रसँग सन्दर्भ जोड्दै हमालले आफू पनि नेपालमा विरक्त लागेर २० वर्ष विदेश बसेर पुन नेपालमा आएको स्मरण गरे । नेपालको सेयर बजार अझै सानो रहेको र पारदर्शी नभएको बताउँदै उनले पारदर्शी बनाउन प्रतिस्पर्धाको वातावरण तय गरिँदै लगेको जानकारी दिए ।

हमालले क्षमता हुनेले व्यवसाय गर्न पाउने गरी वातावरण तय गरिएको दाबी गरे । नयाँ ब्रोकर लाइसेन्स दिनका लागि लाइसेन्स दिएको र यसले बजार विस्तार र सरकारको राजस्व वृद्धिमा सहयोग पु¥याएको उनको भनाई थियो ।

सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारहरूले सेयरमा लगानी गर्दा स्वनियमनमा बस्न सक्नु पर्ने बताए । पत्रकारले आफू किन्ने बेला बजार घटाउने, बेच्ने बेला बढाउने खालका समाचार लेख्न नहुने उनको भनाई थियो । नयाँ स्टकलाई लाइसेन्स दिन, नयाँ ब्रोकर आउनु राम्रो भए पनि नयाँ कम्पनी आउँदा पारदर्शिता हुनु पर्ने उनको भनाइ थियो ।

लेखक सापकोटाले पत्रकारले सेयर बजारमा लगानी गरे पनि सूचनाको गलत प्रयोग गर्नु नहुने बताए । हाल अमेरिकामा समेत सेयर लगानीकर्ता रहेका सापकोटाले गैर आवासीय नेपालीलाई सेयर बजार निश्चित क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा खुला गर्न आग्रह गरे ।
सेयरपुर उपन्यासको मूल्य ५ सय रुपैयाँ र विदेशमा १० डलर छ । उपन्यास ३९ अध्यायमा विभाजित छ ।

प्रतिक्रिया