ऐन र नियमभन्दा बाहिरका कार्य गर्ने सहकारीलाई कारबाही गर्ने रजिस्ट्रारकाे चेतावनी

काठमाडौं । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारी ऐन तथा नियमबाहेकका कार्य गर्ने सहकारीलाई कारबाही गर्न बताएका छन् । अहिले सहकारी समस्यामा परेकाले बचतकर्ताको बचत फिर्ता नै पहिलो प्राथमिकता भएको उनले बताए । बुधबार नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘सहकारीको विद्यमान समस्या चुनौती र समाधानको उपाय’ विषयक अन्तिरक्रिया कार्यक्रममा बोल्दै रजिस्ट्रार घिमिरेले सहकारीले आफ्नो धर्म छाडेर काम गर्दा अहिलेको परिस्थिति उत्पन्न भएको बताए ।

‘सहकारीहरूले मूल्य, मान्यता र सिद्धान्तलाई भुलेर अहिले जस्तो पनि काम गरेका छन् । यो सहकारीको मान्यतामा पर्दैन । सहकारीको पहिलो प्राथमिकता बचतकर्ताको बचत फिर्ता हो,’ उनले भने, ‘हामीले जे गरे पनि हुन्छ । हामी स्वनियमन हो भनेर हुँदैन । कारबाहीको दायरामा सहकारी आउनेछन् ।’

त्यस्तै, पछिल्लो समय सहकारीका सञ्चालकहरूले सरकारको विरूद्धमा आन्दोलन गर्ने घोषणा गरेका थिए । यस्ता आन्दोलनमा छु भनेर बचतकर्ताको बचत फिर्ता नगरे सहकारी एनको दफा १२२ लागु गरेर पत्र काट्ने पनि चेतावनी दिए । तर, त्यसका लागि सहकारी पीडितले यस्तो भनेको कुरा रेकर्ड गरेर ल्याउनुपर्ने बताए ।

‘कुनै सञ्चालकले आन्दोलनमा छु, तेरो पैसा तिर्न सक्दिनँ भन्छ भने रेकर्डसहित आउनुहोस् । म सहकारी ऐनको दफा १२२ लागु गर्छु,’ उनले भने ।

सहकारीले घरजग्गामा बढी लगानी लगाउँदा अहिलेको समस्या उत्पन्न भएको पनि उनले बताए । सबै सहकारी यस्तो नभए पनि अधिकांशले बैंंकसँग प्रतिस्पर्धा गर्न खोज्दा पनि समस्या निम्तिएको उनको भनाइ छ ।

प्रतिक्रिया