रेशम चौधरीको आममाफीविरुद्ध मुद्दामा सर्वोच्चले दियो कारण देखाउ आदेश

काठमाडौं । कैलालीको टिकापुर हत्याकाण्डका मुख्य आरोपी दोषी ठहर भइ आममाफी पाएर जेलमक्त भएका रेशम चौधरीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउसँगै अग्राधिकार दिएको हो ।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले सर्वोच्चमा निवेदन दिएकी थिइन् । राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको रिटमा उत्प्रेषण परमादेश बदरको माग गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवसको अवसर पारेर जेलमा रहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि चौधरी गत जेठ १५ गते थुनामुक्त भएका हुन् ।

यसअघि अदालतबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि प्रहरी निरीक्षक केशवकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन् ।

प्रतिक्रिया