एसियाको कालो सुन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा छिमेकी मित्रराष्ट्र भारतले उन्नत (मुर्रा) जातका १५ वटा राँगा सहयोग स्वरूप प्रदान गरेको छ । नेपाल सरकारले सात वर्षअघि गरेको अनुरोधलाई ध्यान दिँदै भारतले राँगा उपलव्ध गराएको हो । तर राँगा उपहार ल्याएको भन्दै प्रधानमन्त्री प्रचण्डमाथि सामाजिक सञ्जालमा तीव्र व्यंग्य गरिएको छ । भैंसीपालन व्यवसायको महत्व नबुझेको सहरीया नयाँ पुस्ताले यस्तो व्यंग्य गर्नु आश्चर्यको कुरा होइन, तर संसद्को महत्वपूर्ण बैठकमा समेत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालगायत केही दलका सांसदहरूले समेत व्यंग्य गरे । जुन अत्यन्तै दुःखद् कुरा हो । सामान्य चेतनासमेत नभएका व्यक्तिहरू फोस्रा नारा दिएर संसद्मा पुगेका कारण मुलुकको आर्थिक समृद्धि अझै टाढा छ भन्ने कुरा यो प्रकरणले पुष्टि गर्छ । बास्तवमा भैंसी बहुउपयोगी जनावर हो ।

भैंसीलाई एसियाको कालो सुन भनेर यसै भनिएको होइन । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने कुल ग्रार्हस्थ उत्पादनमा भैंसीपालन क्षेत्रको योगदान करिब ६ प्रतिशत रहेको छ । यो सामान्य कुरा होइन । नेपालमा पालिएका कुल भैंसी संख्या मध्ये ३० प्रतिशत मात्र उन्नत जातका छन् । उन्नत जातका भैंसीको संख्या शतप्रतिशत पु¥याउने हो भने नेपालको आर्थिक समृद्धि टाढा छैन । भारतले अहिले उपहारमा दिएका रा“गाहरूको सही सदुपयोग गर्ने हो भने १० वर्षभित्र नेपालका प्रायः सबै भैंसीहरूको नश्ल सुधार गर्न सकिन्छ ।

नेपालका परम्परागत स्थानीय भैंसीहरूले एक वर्षमा तीन सय दिन दूध दिन्छन् । यो अवधिमा एउटा भैंसीबाट करिब नौ सय लिटर दूध उत्पादन हुन्छ । नेपालका स्थानीय जातका भैंसीको औषत तौल तीन सय केजी हुन्छ । आफ्नो जीवनकालभरी सात।आठ बेत ब्याउँछन् । तर भारतको पंजाब र हरियाणामा उत्पत्ति भएको मुर्रा जातको भैंसीले वर्षमा ३ सय १० दिन दूध दिन्छन् । यो अवधिमा एउटा भैंसीले २५ सय लिटर दूध दिन्छ । मुर्रा जातको भैंसीको औषत तौल ६ सय केजी हुन्छ । सरदर १२ बेतसम्म ब्याउँछ । मुर्रा भैंसीको दूधमा औसत चिल्लो पदार्थ सात प्रतिशत र एसएनएफ १० देखि १२ प्रतिशतसम्म, प्रोटिन ४ दशमलव ५ प्रतिशत र ल्याक्टोज ४ दशमलव ८ प्रतिशत पाइन्छ । यसरी तुलना गर्दा स्थानीय जातको भैंसीपालनभन्दा मुर्रा जातको भैंसी पालनमा दोब्बर फाइदा हुने प्रष्ट छ । भैंसीपालक किसानहरूको भइरहेको आम्दानीमा दोब्बर वृद्धि गर्ने प्रयास अघि बढ्नुलाई सामान्य रूपमा लिन मिल्दैन ।

अन्नबाली उत्पादनका लागि व्यावसायिक खेती गर्ने क्षेत्र साँघुरो हुँदै गएको छ । स्वदेशमा उत्पादितभन्दा विदेशबाट आयातित अन्नबाली निकै सस्तो पर्न थालेकोले जग्गा जमिन बाँझै छोड्न थालिएको छ । पशुपालनतर्फ नेपालमा गाईभन्दा भैंसी धेरै दृष्टिकोणले उपयुक्त छ । गाईपालनबाट दूध मात्रै उपलव्ध हुन्छ, तर भैंसीपालनबाट मासुसमेत उपलव्ध हुन्छ । पछिल्लो समयमा गाईपालन व्यवसायतर्फ कृषकहरू आकर्षित नभएका होइनन्, तर साँढे तथा दूध दिन र ब्याउन छाडेका गाईको व्यवस्थापनमा निकै ठूलो चुनौती देखिएको छ ।

धार्मिक आस्थाका कारण पनि गाईलाई मासुको प्रयोजनमा प्रयोग गर्न असंभव छ । तर दूध दिन र ब्याउन छाडेको भैंसी मासुको प्रयोजनका लागि राम्रै मूल्यमा बिक्री हुन्छ । मासुको प्रयोजनका लागि बर्सेनि ठूलो परिमाणमा भारतबाट राँगा तथा बुढी भैंसी आयत हुने गरेका छन् । भारतबाट उन्नतजातका दुधालु भैंसी आयात गर्ने आर्थिक हैसियत नेपाली किसानको छैन । उन्नतजातको एउटै भैंसीलाई तीन।चार लाख रुपैयाँ पर्छ । त्यसैले प्रजननयोग्य राँगा आयात गरी वीर्य उत्पादन गर्ने र त्यही वीर्य स्थानीय भैंसीमा प्रयोग गनेर उन्नत जातका पाडापाडी उत्पादन गर्ने सरकारी नीति स्वागतयोग्य छ ।

प्रतिक्रिया