नेपाली ट्राभल कम्पनी ह्याक, करोडौँ रुपैयाँ नोक्सान

काठमाडौं । ग्लोबल डिस्ट्रिब्युसन सिस्टम ‘जिडिएस’ मार्फत अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ह्याक भएका छन् ।

विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सान पुर्याएका हुन् । ह्याकरले नेपालमा काम गर्दै आएका विदेशी जिडीएस कम्पनीको नाममा नेपाली ट्राभल कम्पनीलाई इमेल पठाउँदै टिकट बिक्री गरेर नोक्सानी पुर्याएका हुन् ।

नोक्सानी पुगेका नेपाली ट्राभल कम्पनीमा देउराली ट्राभल, कोस्मो नेपाल ट्राभल, सी लिंक ट्राभललगायत रहेका छन् । प्रत्येक कम्पनीबाट रु ६० देखि ८० लाखको टिकट विदेशी ह्याकरले ‘इस्यु’ गरेको देखिएको छ ।

नेपाल एशोसियसन ‘अफ टुर एण्ड ट्राभल’ एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले जिडिएस कम्पनीका नाममा नेपालका ट्राभल कम्पनीलाई इमेल पठाएर विदेशी ह्याकरले रातारात विदेशबाट टिकट काटेको बताए । ‘ह्याकरले जिडिएसको लोगो राखेर मेल पठाएर टिकट बिक्री गरेर ठगी गरेको पाइयो, यो घटना बाहिर आएपछि नेपाली ट्राभल कम्पनी त्रसित छन्’, उनले भने ।

ह्याकरले अधिकांश टिकट मोरक्कोतर्फ जारी गरेको देखिएको अध्यक्ष थापाले बताए । पीडित ट्राभल कम्पनीले भने साइबर ब्युरोमा मुद्दा हालिसकेका छन् । नेपालका ट्राभल कम्पनीलाई सेवर, एमाडस, ग्यालिलियोले जिडिएस सेवा प्रदान गर्दै आइरहेका छन् ।

नेपालका ट्राभल कम्पनीलाई जिडिएस सेवा प्रदान गर्दै आइरहेको सेवर नेपाल नेटवर्ककी महाप्रबन्धक अनुपा बुढाथोकीले विदेशी ह्याकरले नेपालमा सेवा दिँदै आएका जिडिएस कम्पनीको लोगो राखेर ट्राभल कम्पनीलाई नक्कली इमेल पठाएर ठगी गरेको देखिएको बताइन् ।

उनले जिडिएस कम्पनीमार्फत आएका इमेललाई ट्राभल कम्पनीले पासपोर्ड र युजरनेम शेयर गर्नु अगाडि त्यो इमेल आधिकारिक निकायबाट आएको हो कि होइन भन्ने निश्चित गरेरमात्र शेयर गर्न आग्रह गरिन् ।

उक्त घटनापछि सेवरले आफ्नो सेवा प्रयोगकर्ता ट्राभल कम्पनीको हितलाई ध्यानमा राखेर आफ्नो ‘सेक्युरेटी फिचर’लाई अझै बलियो र परिस्कृत बनाएको महाप्रबन्धक बुढाथोकीले बताइन् ।

प्रतिक्रिया