बर्दियामा ‘ह्यासट्याग माया’

काठमाडौं । ‘थ्रिलर’ विधामा निर्माण हुने चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को छायांकन बर्दिया राष्ट्रिय निकुञ्जमा दृश्यलाई खिच्दै सुरु गरिएको छ । चौध दिनको तालिका तय गरिएको चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए । ‘नेपालको सुन्दरतालाई चलचित्रमार्फत प्रवद्र्धन गर्नुपर्छ भनेर बर्दियाबाट छायांकन प्रारम्भ गरेका हौँ ।

दुई साता यहाँको रमणीयस्थलमा छायांकन गर्नेछौँ ।’ यसै चलचित्रमार्फत निर्देशनको सुरुआत गरेका निर्देशक राजीव गुरुङले कथाअनुसार नै बर्दिया रोजिएको जानकारी दिए । ‘विधा थ्रिलर भएता पनि पूर्ण मनोरञ्जक चलचित्र बन्ने छ । प्रस्तुतीकरणमा विशेष ध्यान दिइरहेको छु ।’ चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिङ्ह, सुदाम सिकेलगायतको अभिनय छ । यसको छायांकन काठमाडौं र धरानमा समेत गरिनेछ ।

शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रित छ । यसमा शीर्ष भूमिका निर्वाह गरिरहेकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् । उनले भनिन्, ‘चरित्र निर्माणमा समय खर्चिएकी छु । किनकि यसले हामीलाई चरित्रप्रति इमान्दार बनाउँछ । चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ ।’ रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहेको छ ।

प्रतिक्रिया