बलायरको ‘मनको बिम्ब’ सार्वजनिक

काठमाडौं । डा. रमेश बलायरद्वारा लिखित ‘मनको विम्ब’ कविता संग्रह सार्वजनिक भएको छ । आख्यानकार एवं लेखक बुद्धिसागर तथा पूर्वगृहसचिव गोविन्द कुसुमको प्रमुख आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो । वोदि बुक्स एण्ड वेक्स नक्सालले एक समारोहका बीच कृतिलाई पाठकमाझ सार्वजनिक गरेको हो । साझा प्रकाशनले प्रकाशन गरेको संग्रहमा ३७ वटा कविता समावेश गरिएको छ । १८८ पृष्ठको यस कविता संग्रहमा कवि डा. बलायरले आफ्ना जीवनका अनुभूतिलाई दर्शाउन खोजेका छन् । उनले कवितामा आफ्नो राष्ट्रप्रतिको चिन्ता, जीवनका भोगाई, महिला सशक्तिकरणका कुरा र हालको राजनीतिक परिदृश्यलाई व्यंग्यात्मक ढंगबाट प्रस्तुत गरेका छन् । उनले कवितामार्फत युवा जनशक्तिलाई सकारात्मक सोच र कार्यका लागि पे्ररित गरेका छन् ।

डोटीको विकट गाउँमा जन्मेका बलायर मिहिनेत र लगानशीलताका पर्यावाची हुन् भन्दा अतिशयोक्ति नहोला । आइओवा स्टेट युनिर्भर्सिटी अमेरिकाबाट समाजशास्त्रमा विद्यावारिधि गरेका बलायर सोही युनिभर्सिटीमा सहायक प्राध्यापकको रुपमा संलग्न छन् । महिला सशक्तिकरण, साना किसान, खाद्य सुरक्षा र गरिबी निवारणजस्ता अनुसन्धानात्मक क्षेत्रमा रुचि राख्ने बलायरले अमेरिकी कांग्रेस, नेपाल सरकार, इजरायल दूतावास, संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा रहेर लामो अनुभव बटुलिसकेका छन् ।

सो समारोहमा साहित्यकार डा. गोविन्द कुसुमले डोटीको विकट ठाउँमा जन्मिएर पनि लेखक बलायरले विभिन्न संघर्ष र लगनशीलताका साथ अमेरिका जस्तो देशको प्रतिष्ठित युनिभर्सिटीमा आफूलाई चिनाउनु सबै नेपालीका लागि गर्वको विषय भएको बताए । यस्तै, बलायरको कविता संग्रहले मानवजीवनको संघर्ष, साधना, लगनशीलता र धैर्यतालाई उजागर गरेको कुसुमले बताए । उनले बलायरलाइ बधाई दिँदै आगामी दिनमा साहित्य क्षेत्रमा थप कलम चलाउन आग्रहसमेत गरे ।

समारोहमा आख्यानकार बुद्धिसागरले संग्रहले आफूलाई समेत विगतमा फर्किएर आफ्नो जीवन संघर्ष र बाल्यकाललाई नियाल्न बाध्य बनाएको बताए । उनले कविता लेखनले मानिसलाई मनोरञ्जन मात्र दिने नभई यसले मानसिक स्वास्थ्य व्यवस्थापनमा पनि उत्तिकै भूमिका खेल्ने बताए ।

प्रतिक्रिया