शुभकालिका गाँउपालिकामा बस्तीस्तरका योजना तर्जुमा हुँदै

कालिकोट । शुभकालिका गाँउपालिकाले संघीयताको मर्मअनुसार टोलटोलमा गएर आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि योजना तर्जुमा गरिरहेको छ ।

जनताको सबैभन्दा नजिक रहेको सरकारको आभाष प्रदान गर्ने उद्देश्यका साथ योजना निर्माणमा प्रत्येक्ष रुपमा हरेक भौगोलिक क्षेत्र, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका, युवाहरुको सहभागितामा योजना तर्जुमाको कार्य भइरहेको छ ।

४६ वटा बस्ती रहेको यस गाँउपालिकामा सम्बन्धित वडाको वडा सदस्यको नेतृत्वमा बस्ती तहमा योजना छनोटको कार्य भईरहेको छ । गाँउपालिकाले आगामी आर्थिक वर्षमा साना टुक्रे योजनालाई निरुत्साहित गर्ने उद्देश्यका साथ दिर्घकालिन रुपमा फाइदा पुग्ने, रोजगार सिर्जना हुने, वातावरणमैत्री, आर्थिक रुपमा सहयोग पुग्ने खालका योजना सञ्चालन गर्ने हेतुले वडा कार्यलयलाई गाँउपालिकाले मार्गदर्शन प्रदान गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत गणेशबहादुर शाहीले जानकारी दिए ।

प्रशासकिय अधिकृत शाहीका अनुसार गाँउपालिकामा आगामि आर्थिक बर्षका लागि संघिय अनुदान रु २७ करोड ९० लाख र प्रदेश सरकारको समानिकरण अनुदान रु १ करोड ५ लाख २८ हजार प्राप्त भएको छ । वडाले सञ्चालन गर्ने योजनामा स्थानीय नागरिकको स्वामित्व होस् भन्ने मनसायका साथ हरेक बस्तीमा पुगेर योजना तर्जुमाको कार्य वडा समितिले गरिराखको छ ।

स्थानीय नागरिकका आवश्यकता पहिचानमा यस कार्यले सहयोग पुग्ने र सञ्चालित योजना दिगो बन्ने आशा रहेको वडा नम्बर ८ का अध्यक्ष दिपराज महताराले बताए । स्थानीय मैनपुरा महताराले आफ्नो तथा समुदायको प्रत्यक्ष सहभागितामा योजना छनोट गरेको पहिलो अनुभव भएको र जसले गर्दा महिलालगायत अन्य समुदायको आवाजको सुनुवाई भएको महशुस भएको जानकारी दिइन् ।

युनडिपि तथा विश्व खाद्य कार्यक्रम मार्फत सञ्चालित स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको प्राविधिक सहयतामा योजना तर्जुमाको प्रक्रियामा सहजिकरणको कार्य शुभकालिका गाँउपालिकामा भई राखेको छ ।

वडा नम्बर ८ को समलगाँउमा बस्तीस्तरीय योजना छनोटको बैठकमा सहजिकरण गर्दै योजना तथा क्षमता विकास सल्लाहाकार नरेन्द्र शाहीले स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम स्थानीय तहको योजना प्रणाली वस्तुगत तथा वैज्ञानिक हुनुका अतिरिक्त तीन वटै तहका योजनाहरु बीचको अन्तरसम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताए ।

स्थानीय तहको योजना तर्जुमाको कार्यले सहजता पुग्ने र यसका साथै दिग्दर्शनको पुर्ण कार्यन्वयनले स्थानीय तहबाट तर्जुमा हुने योजनाहरुमा स्तर, विधि, प्रकृया र ढाँचागत एकरूपता कायम गर्न एवं लगानीलाई प्रतिफलयुक्त बनाउन थप सहयोग पुर्याउने अपेक्षा रहेको शाहीले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया