सबल कथासङ्ग्रह ‘मेरो छोरा फर्किनैपर्छ’

कथाकारको मुख्य लेखन रुचि समाज र समाजमा रहेका कुरीतिलाई चिरफार गर्नु रहेकाले मानिसको जीवन, उनीहरूको आकांक्षा र भोगाइका अन्तरव्यथालाई कथामा सुव्यवस्थित रूपमा प्रस्तुत गर्न कथाकार सफल भएका छन्

सुमन वर्षा

कहिलेकाहीँ मूलप्रवाहका कथाहरूको पङ्क्तिमा केही पृथक् लाग्ने कथाको पठन गर्न पाइने स्थिति पनि आउँछ । त्यस्तै पृथक अट्ठाइस कथाहरूको सङ्ग्रह हो, ‘मेरो छोरा फर्किनैपर्छ’ । यसका कथाकार हुन्, रमेश रेग्मी । उनी यसभन्दा पहिला आफ्ना दुई उपन्यास जीवनको सपना र सपनाहरूको देशमा आफ्नो सबल आख्यानकारिताको पहिचानसहित नेपाली आख्यानक्षेत्रमा उपस्थित भएका हुन् । यस्ता सफल उपन्यासको लेखनपछि उनी अब कथाक्षेत्रमा पनि उभिन आइपुगेका छन् । नेपाली कथा साहित्य २० को दशकपछि विभिन्न प्रयोगमा लेखिँदै आएको यहाँ स्मरण गर्दै के पनि पनि भनूँ भने नेपाली आधुनिक कथाको लेखनमा एकातिर यथार्थवादी लेखन देखिन्छ भने अर्कोतिर प्रयोगपरक लेखन देखिन्छ । यी दुवै धारका कथाले लिने भनेको सामाजिक चरित्र चित्रणअन्तर्गतकै विषयवस्तु हो । यी दुई धारमध्ये यथार्थवादी धारमा रहेर कथा लेखन गर्ने विभिन्न कथाकारकै लहरमा उभिन आएका एक कथाकार हुन् रमेश रेग्मी । उनका कथाहरू अन्य कथाकारका कथाजस्तै सामाजिक विषयवस्तुमा उनिएका छन्, तर कथाकार रेग्मीको कथा भन्ने जुन मौलिक शैली छ, त्यसले उनका कथालाई केही पृथक बनाएको बोध हुन्छ ।

सामान्यदेखि सामान्य घटनालाई पनि विशिष्ट र रोचक ढङ्गमा प्रस्तुत गर्नु कथाकार रेग्मीको विशिष्टता हो भन्ने प्रमाण उनको प्रस्तुत कथासङ्ग्रहका कथाले दिन्छन् ।
कथाकार रेग्मीको सहज लेखन शैली, सरल भाषा र सामाजिक विषयको विविध प्रस्तुतिबाट सिर्जना गरिएका कथाको सङ्ग्रह मेरो छोरा फर्किनैपर्छका कथाहरू पठनीय बन्न पुगेका छन् । यस्त्त, कथाहरूमा पठनीय रोचकता त पाइन्छ नै, ती विषयवस्तु र चरित्र चित्रणमा पनि फरक स्वादका लाग्दछन् । यसैले कथाकार रेग्मीका कथामा पाइने मूलभूत विशेषता भनेको सामाजिक विषयवस्तु हो ।

त्यसअनुसार चरित्र चित्रण पनि सहज र सरल ढङ्गमा हुनुले कथा पठनीय मात्र होइन, सबल ढङ्गमा सलल बग्ने खालका कथा प्रस्तुति हुनुको पहिचान पनि लिएर उभिएको बोध हुन्छ । कथा प्रायः कम अभिधामूलक र बढी वक्रोक्ति ढङ्गमा बनोट भएको पाइन्छ, तर ती कथाको पठनमा भने बाधा पर्दैन, सहज पठनको अनुभूति हुन्छ । यसैले कथाकार रेग्मीको प्रस्तुत नवीन कथासङ्ग्रह मेरो छोरा फर्किनैपर्छ सरल, सहज ढङ्गका पठनीय कथाको सङ्ग्रह हो भन्नमा कन्जुस्याइँ गर्नु पर्दैन ।

कथाकार रेग्मीका यस कथासङ्ग्रहमा सङ्गृहीत कथाहरूको बुनोट सबल छ । कथाहरू पढिरहँदा कथामा भएका पात्रहरू र घटना हाम्रै वरिपरिका हुन् भन्ने बोध हुन्छ । यसैले कथाहरू बनावटी वा अतिरञ्जना लाग्दैनन् । हामीले नै देखेभोगेका जस्तै लाग्ने हुनाले कथा अझ बढी पठनीय भएका छन् । भाषाको सरलताले कथालाई बौद्धिकताको खोल नदिई सरल हुनुको गुण प्रदान गरेको छ । यो कथाकार रेग्मीको कथाकारीय विशेषता वा भनूँ गुण हो, किनभने कथाकार रेग्मीले कथा विन्यास गर्नलाई अनेक वक्रोक्तिको खोल लिएका छैनन् । हो, कथालाई भन्दा कतै सिधै नभनी केही कौतूहलताको मार्गतिर गई कथाको वस्तुलाई उद्घाटन गर्ने शैलीलाई आत्मसात् गरेका छन् । यो नै उनको कथा कथ्ने शैली हो ।

कथालाई सरसर्ती बयान गर्दा यसरी संक्षेपमा गर्न सकिन्छ । सङ्ग्रहमा रहेका कथाहरूमा रेबिजबारे कथाकारको नवीन कथाभाव दिने प्रयास भएको कथा हो ‘बूढो कम्पाउन्डर’ । आपूm अशिक्षित भए पनि आफ्ना सन्ततिलाई शिक्षा दिन सफल भएको र सकारात्मक सन्देश प्रवाह गर्न सफल कथा ‘म त एकको एकै’ हो । त्यस्तै व्यसनीलाई आआफ्नो ढङ्गबाट प्रदर्शन गर्ने कथा ‘सोधखोज’ हो । अनि अग्रजको कुलतलाई अनुकरण गर्ने सन्ततिको अवस्थालाई ‘सबलाई पिट्छु’ कथाले हास्यास्पद ढङ्गमा प्रस्तुत गर्दै सामाजिक विषयलाई चित्रण गरेको छ । यस्ता सामाजिक चिन्तन र चित्रण गर्ने कथाहरूमा ‘गोपी’, ‘दादा डन’, ‘सोमेको कथा’ आदि कथा रोचक छन् भने ‘पायाँको खाल’, ‘जन्ती’, ‘मै बलियो’, ‘संसार विचित्र छ’ आदि कथाले सामाजिकताका साथसाथै सांस्कृतिक अपचलनको पनि सफल चित्रण गरेका छन् ।

यीबाहेक राजनीति विसङ्गतिबारे चित्रण गरिएका कथामा ‘टिकट’, ‘माहिला दाइ’, ‘भागबन्डा’ आदि पनि विशेष पठनीय छन् । यी सबै कथाको पठनपछि सङ्ग्रहमा रहेका अझ विशेष लाग्ने कथाहरूको पनि समावेश छ । त्यस्ता कथामा कथाकारको कलम अझ बढी सफल ढङ्गले कुदेको देखिन्छ र ती कथा अन्य कथाभन्दा अलि भिन्न पनि लाग्दछ, ती कथाहरू हुन्, ‘क्याडबरी’, ‘पहिलाजस्तै बनाइदिनुस्’, ‘हन्ड्रेड परसेन्ट’ र ‘मेरो छोरा फर्किनैपर्छ’ आदि ।

यसरी कथाकार रेग्मीको यस सङ्ग्रहका कथामा कतै मानवीय चरित्र चित्रणमा केही मनोविज्ञान उपयोग गरिएको देखिन्छ भने त्यस्ता चरित्रमा पुरुष नियतिको अवस्था, सामाजिक दुव्र्यसनी आदि विषय पनि समावेश भएका छन् । अनि त्यस्ता विषयगत घटना हाम्रै टोलछिमेकको चरित्रजस्तै लाग्ने गरी कथाकारले उठान गरेकाले कथा कलात्मक ढङ्गमा व्याख्या एवम् चित्रित भएको बोध हुन्छ । यो पनि कथाकार रेग्मीको अर्को मूलभूल विशेषता हो ।


आफ्नो यस सङ्ग्रहका कतिपय कथामा कथाकार रेग्मीले बडो गम्भीरतापूर्वक मानिसको हृदयलाई सूक्ष्मरूपले केलाउनुका साथै मानवीय संवेदनालाई पनि सहज ढङ्गमा चित्रण गरेका छन् । कथाले दिएको भावमा मुख्यतः विचारणीय के पनि कुरा छ भने महिला र पुरुष प्रकृतिका समान अस्तित्व हुन्, यसका चित्रणमा समान दृष्टिको प्रस्तुति कथाकार रेग्मीले दिएका हुनाले कथाभित्रका पात्रहरू पढिरहँदा यस्तो लाग्छ, उनले कुनै पुरुष पात्रलाई सुपरनायक र कुनै महिलालाई कमजोर पात्रको रूपमा चित्रण गर्ने गरेका छैनन् अथवा यसो भनूँ, महिला पात्रलाई सुपरनायिका र पुरुष कमजोर पात्रका रूपमा प्रस्तुत गरेर कृत्रिमता प्रदान गर्ने जमर्को गरेका छैनन् । बरु समाज जसरी चलिआएको छ वा जसरी चलिरहेको छ, त्यही दृष्टान्त जस्ताको तस्तै कथामा प्रस्तुत गर्नु कथाकार रेग्मीको मुख्य कथाकारिता भएको छ र यो नै उनको कथा लेख्ने खुबी हो ।

कथाकारको मुख्य लेखन रुचि समाज र समाजमा रहेका कुरीतिलाई चिरफार गर्नु रहेकाले मानिसको जीवन, उनीहरूको आकांक्षा र भोगाइका अन्तरव्यथालाई कथामा सुव्यवस्थित रूपमा प्रस्तुत गर्न कथाकार सफल भएका छन् । हुनत् आजका कथाकारका अगाडि विषयप्रदत्त रूपमा जुन घटना उपस्थित भएका छन्, ती घटनामा राजनीति होस् वा सामाजिक पृष्ठभूमिको पारिवारिक अवस्था, अनि मानवीय संवेदनाको झलक होस् वा प्रतीकात्मक सन्देश, तिनको प्रवाहलाई विषयवस्तु नै कथाको भावभूमि बनेका नै हुन्छन् । यहाँ कथाकार रमेश रेग्मीले पनि आफ्ना कथालाई विभिन्न कोणमा त्यस्ता विषयहरूलाई समावेश गरी प्रस्तुत गरेका छन्, जुन महत्त्वपूर्ण मान्नुपर्दछ । कथामा कतै परिहासपूर्ण चित्रण छ, कतै सङ्केतात्मक चित्रण छ, कतै सामाजिक चित्रण छ, कतै राजनीतिक चित्रण छ । यी सबै खाले चित्रणको समुच्चा सङ्कलन नै यस कथासङ्ग्रहको विशेषता हो ।

प्रस्तुत मेरो छोरा फर्किनैपर्छ कथासङ्ग्रहमा सङ्गृहीत कथाहरू एकचोटि पठन गरेपछि अवश्य पनि पाठकीय रुचिको वृत्तमा स्मरणीय रूपमा पर्ने कुरामा दुई मत छैन ।
अन्त्यमा यति पठनीय कथाहरू सिर्जना गरेकोमा कथाकार रमेश रेग्मीलाई बधाई दिनुका साथै आगामी दिनमा पनि कथाकारबाट अझ सबल र सफल कथाहरू सिर्जना हुने कुरामा पूर्णतः विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया