पशुपतिको महिमा तथा कुम्भेश्वर महादेवको स्थापना

नेपाल महात्म्य–८

आर्यघाटमा ब्रह्मनाल नजिकै रहेको तीर्थलाई तीन वटा नदीको संगमस्थल भनी बताइएको छ । बाग्मती हामी प्रष्टरूपमा देख्दछौँ भने बाँकी दुई नदीहरू देखिँदैनन् । बताइएअनुसार पश्चिमतिरबाट पहरा भित्रभित्रै बगेर आई मिसिने नदीलाई मृगोदक र मृगस्थलीको डाँडो मुनिमुनि बग्दै आई त्यहाँ मिसिने नदीलाई बदरिका (वा खर्बरीका) भनिएको छ । खर्बरीका पार्वतीकी सखी थिइन् र त्यहाँ आई नुहाएर मोक्ष भएकी थिइन् । आर्यातीर्थलाई आर्यघाट बनाइएको देखिन्छ । राजवंशावलीमा देशमा खँडेरी परे आर्यातीर्थको जल अभिषेकका लागि प्रयोग गर्नु भनिएको छ । राजभोगमाला वंशावली लेख्दछ। ‘आर्यघाटमा पशुपतिनाथलाई स्नान गरिएको जल आई मिसिने एउटा स्थान छ । यसलाई व्रह्मोदयतीर्थ भनिन्छ । आर्यादेवीले तर्पण गर्नाले आर्यघाट भनी प्रख्यात भएको हो

मोहनप्रसाद सापकोटा

त्यसपछि असुर, सर्प, पृथ्वीका राजा आदि सहितको देवताको सभा बस्यो । त्यो सभा कुनै चित्रमा भएको सभाजस्तै एकदम निस्तब्ध थियो । त्यस सभामा श्रीशिवका डरले चन्द्रमाले तारालाई लिएर आए । चन्द्रमा शंकर भगवान्सँग लड्दै गर्दा चन्द्रमाका तेजले औरस पुत्र जन्मिसकेका थिए । त्यो सभामा तारा चन्द्रमाका घरबाट पुत्रसहित आइन् । तारालाई पुत्रसहित आएको देखेर सबै देवता अचम्ममा परेका थिए ।

अनि ब्रह्माले तारालाई सोध्नुभयो, ‘यो कसको छोरा हो तारा ? बृहस्पतिको कि चन्द्रमाको ?

ब्रह्माका कुरा सुनेर पनि तारा लाजले केही बोलिनन् । अनि सबै देवता खिसी गर्दै एकैपटक हाँसे । देवता खिसी गर्दै हाँसेकोमा ताराका छोरा पनि लजाए । अनि देवताका अगिल्तिरै तिनले आफ्नी आमालाई भन्न लागे, ‘हे माता ! मेरा पिता को हुन् बताउनुहोस्, नत्र म प्राण त्यागिदिन्छु । सबै देवता हजुरका अगिल्तिर नै मलाई हेरेर हाँसिरहेका छन् ।’

त्यसपछि ताराले छोरालाई ठूलो स्वर गरेर भनिन्, ‘हे छोरा तिमी गुरुका क्षेत्रमा चन्द्रमाबाट जन्मिएका हौ ।’ ताराका कुरा
सुनेपछि ब्रह्माले बृहस्पतिलाई भन्नुभयो, ‘तारालाई तिमी लैजाउ अनि छोरो चन्द्रमालाई दिइयोस् ।’
ब्रह्माका कुरा सुनी बृहस्पति भन्न लागे, ‘हे ब्रह्मन् ! यो छोरो मेरो हो, कुनै हालतमा पनि चन्द्रमाको होइन । हे पितामह ! छोरोसहित तारा मलाई दिइयोस् ।’
बृहस्पतिका कुरा सुनेर चन्द्रमा पनि ब्रह्मालाई भन्न लागे, ‘हे पितामह ! यो छोरो मेरो हो, कुनै पनि हालतमा बृहस्पतिको होइन ।’

चन्द्रमाका कुरा सुनी फेरी ब्रह्मा भन्न लाग्नुभयो, ‘यसमा चन्द्रमा र बृहस्पति तिमीहरू दुबै जना विवाद नगर । छोराले सोद्धा ताराले सत्य कुरा त्यतिबेला नै बताइसकिन् । राजसूय यज्ञ गर्नेले दुःख पाउँदछ भन्ने कुरा साँचो हो । यहाँ यतिखेर यो विधिबाट पाइएको दुःख हो, भोग्नु नै पर्दछ । अनि देवताका अगाडि विद्वानले जसरी यो बालकले बोलेको हुनाले हे महेश्वर ! मेरो आज्ञाले यसको नाम ‘बुध’ हुनेछ ।

त्यसपछि बृहस्पतिले कमलनयन तारालाई र औरस छोरालाई चन्द्रमाले लिए । यसपछि शिवले त्यो सभामा भन्नुभयो, ‘यो दुष्ट चन्द्रमाले गुरुपत्नी हरण गरेको हुनाले महापापले ग्रस्त भई यज्ञ भागसमेत नपाई क्षयरोगले पीडित भई दुब्लाउनेछ र सबै देवताबाट बहिष्कृत हुनेछ ।
यति भन्दै शिव तुरुन्त कैलाश हिँड्नुभयो । इन्द्रादि देवताहरू पनि आआफ्ना लोकतिर गए । राजा तथा मुनिहरू पनि आआफ्ना स्थानतिर लागे । त्यसपछि महापापले युक्त भई चन्द्रमा क्षयरोगी भए, कतै शान्ति पाउन सकेनन् । अनि शरीर शुद्ध पार्न भनी चन्द्रमा तीर्थहरू घुम्न लागे । हे जैमिनि ! पूर्व, उत्तर र पश्चिमतिर जेजति तीर्थहरू छन् ती सबै घुमेर पनि चन्द्रमाको पाप पखालिएन । अनि उनी सुन्दर दक्षिण दिशातिर लागे । उनले त्यतातिरका पनि अनेक र विविध किसिमका तीर्थहरू घुमे । घुम्दै चन्द्रमा अगस्त्य मुनिको रमणीय आश्रममा पुगे । महापातकी चन्द्रमालाई आफ्नो आश्रममा आएको देखेर अगस्त्य मुनिले ‘बस’ भन्नुभयो । आज्ञा पाएपछि चन्द्रमा बसे र दण्डबत् प्रणाम गर्दै अगस्त्य मुनिसँग भन्न लागे ।


‘मन्दबुद्धि भएको मैले मोहमा परी गुरुकी पत्नी हरण गरेँ, हे ब्राम्हण ! त्यही पापले मलाई सुखचैन भइरहेको छैन । सबै तीर्थ, क्षेत्र र उपवन घुमेँ, व्रत उपवास बसी सातै पुरीको दर्शन गरेँ । तै पनि हे मुनि ! म पापबाट मुक्त हुन सकिनँ, हे महाभाग्यवान् ! हजुर मलाई पापबाट छुटकारा पाउने उपाय बताउनुहोस् ।’

चन्द्रमाका कुरा सुनी अगस्त्यले भन्नुभयो, हे इन्द्र ! तिमीले पशुले जस्तै मुढेबुद्धि गरेर गुरुकी पत्नी हरण गरी पशुकर्म गरेका छौ, त्यसैले श्लेष्मान्तक वनमा रहेका पशुपतिनाथमा गई उहाँको आराधना गर अनि शुद्ध हुनेछौँ । विन्ध्यपर्वतका कारण काशी छोडेर मैले पनि त्यसपछि हे चन्द्र ! मैले पनि आजसम्म कहिल्यै सुख पाइनँ । त्यसैले म पनि तिमीसँगै श्लेष्मान्तक वनमा जान्छु ।

उनका यस्ता कुरा सुनेपछि चन्द्रमाले ती मुनिलाई ‘हजुर सँगै जानुहुन्छ भने ता त्यो मेरो अहोभाग्य हो’ ‘हे मुनिश्रेष्ठ प्रभू ! उठौँ, जाने तयारी गरौँ भने । त्यसपछि अगस्त्य मुनि चन्द्रमासहित भई श्लेष्मान्तक वनमा दोश्रो सूर्यसमान हुँदै आकाशको बाटो हुँदै गए । त्यहाँ पुगी परम दुर्लभ श्लेष्मान्तक वनक्षेत्रलाई देखेर चन्द्रमासहित अगस्त्य मुनि प्रसन्न भए । बाग्मतीका जलमा नुहाएर वत्सलादेवीको दर्शन गरी पशुपतिनाथको दर्शन गरेर दक्षिण दिशातिर बसे । त्यसपछि त्यहाँ बसेर चन्द्रमाले अति कठोर तपस्या गरे ।


अतिरमणीय शंखमूलमा रहेको अगस्त्य आश्रममा रहेर चन्द्रमा पापबाट शुद्ध नभइञ्जेलसम्म तपस्या गर्न लागे ।
त्यसपछि अति भक्तियुक्त मन गरी, विषयवासनाबाट पर रही, निराहार बसी, बाग्मतीको पश्चिम किनारामा चन्द्रमाले रुखजस्तो हलचल नगरी, जाडोगर्मीको पीडा सहँदै गरिरहेको तपस्याबाट भगवान् पशुपतिनाथ प्रसन्न एवं सन्तुष्ट भई स्वयं आई चन्द्रमालाई भन्न थाल्नुभयो, ‘चन्द्रमा ! तिम्रो तपस्याले म प्रसन्न भएँ मनले चिताएको कुरा माग । नदिन योग्य वरदान पनि निःसन्देह म तिमीलाई दिनेछु ।’
दुबै आँखा खोलेर हेर्दा चन्द्रमाले प्रभू पशुपतिनाथलाई देखेपछि जमिनमा दण्डवत् प्रणाम गर्दै भन्न लागे, ‘हे नाथ ! यदि हजूर प्रसन्न हुनुहुन्छ भने म दुई वटा वरदान माग्दछु । पहिलो म गुरुपत्न गमनको पापबाट मुक्त होउँ । अर्को हजुर आफ्नो पूजासहितको यस क्षेत्रको माहात्म्य मलाई बताउनुहोस् ।’

चन्द्रमाका यस्ता कुरा सुनी शिव भगवान्ले भन्नुभयो, मेरो दर्शनले तिमी पूर्णरूपमा शुद्ध भएका छौ । तै पनि हे चन्द्र ! मेरो यस क्षेत्रमा मेरो लिंग तिमी आफैँले स्थापना गर । दैवसंयोगले महापापी मानिस पनि बाग्मतीको जलमा नुहाएर, वत्सलादेवीको दर्शन गरी मेरो दर्शन गर्दछ भने निःसन्देह सबै पापबाट मुक्त हुन्छ । मेरो दक्षिण भागमा जसले प्राण त्याग गर्दछ, ऊ यस क्षेत्रको प्रभावका कारण नरक जाँदैन । मेरो पूर्वतिर रहेको बाग्मतीको पवित्र जलमा गरिने नित्य स्नानको फल अति ठूलो हुनेछ । वर्षाकालमा मेरा त्रिशूलबाट उत्पन्न मृगोदक तीर्थको दर्शन पूण्यात्माले मात्र पाउँदछन् । बाग्मतीको पश्चिम किनारमा मृगोदक (पर्वतबाट उत्पन्न) तीर्थमा नुहाउनाले पूर्वजन्ममा गरिएका पापबाट पनि मुक्ति हुन्छ, यसमा कुनै शंका छैन । बाग्मतीको पूर्वी किनारामा बदरिका नाम गरिएको तीर्थमा नुहाउनाले मात्र पनि पार्वती प्रसन्न हुन्छिन् ।

नोट ः अहिले आर्यघाटमा ब्रह्मनाल नजिकै रहेको तीर्थलाई तीन वटा नदीको संगमस्थल भनी बताइएको छ । बाग्मती हामी प्रष्टरूपमा देख्दछौँ भने बाँकी दुई नदीहरू देखिँदैनन् । बताइएअनुसार पश्चिमतिरबाट पहरा भित्रभित्रै बगेर आई मिसिने नदीलाई मृगोदक र मृगस्थलीको डाँडो मुनिमुनि बग्दै आई त्यहाँ मिसिने नदीलाई बदरिका (वा खर्बरीका) भनिएको छ । खर्बरीका पार्वतीकी सखी थिइन् र त्यहाँ आई नुहाएर मोक्ष भएकी थिइन् । आर्यातीर्थलाई आर्यघाट बनाइएको देखिन्छ । राजवंशावलीमा देशमा खँडेरी परे आर्यातीर्थको जल अभिषेकका लागि प्रयोग गर्नु भनिएको छ । राजभोगमाला वंशावली लेख्दछ। ‘आर्यघाटमा पशुपतिनाथलाई स्नान गरिएको जल आई मिसिने एउटा स्थान छ । यसलाई व्रह्मोदयतीर्थ भनिन्छ । आर्यादेवीले तर्पण गर्नाले आर्यघाट भनी प्रख्यात भएको हो । त्यहीँ जलेश्वर पनि छन् ।

सबै देवताले कोष कोष लेराएर बनाएको यहाँको कोषोदक (?) नामको तीर्थले मनको चाहना पूरा गर्दछ । त्यो कोषोदक तीर्थको वा त्यस अगिल्तिरको बाग्मतीको जलले जसले अभिषेक गर्दछ उसले अश्वमेध यज्ञ गरेको फल प्राप्त गर्दछ । जो यहाँ आएर त्रिसन्ध्यामा गरिने सन्ध्याकर्म गर्दछ, ऊ आपूmबाट नजानीकन भए गरिएका पापबाट छुट्दछ ।


त्यहाँ भृगुपतन नामको गुफा पनि छ, त्यहाँबाट खसेर ज्यान गुमाउँदा पनि स्वर्गमा प्रशंसनीय हुन्छ । भृगुपतन गुफाको मूलमा रमणीय ब्रह्मभेद नामक तीर्थ छ । त्यहाँ जसले विधिपूर्वक नुहाउँदछ, ऊ ब्रह्मलोक जान्छ । यहाँ गोखुरक (गोरक्षक) नामको मनको चाहना पूरा गर्ने तीर्थ पनि छ । त्यहाँ जसले नुहाउँदछ वा रुद्री लगाउँदछ उसले हजार गाईदान गरेको फल पाउँदछ । गौरीशिखर (गुह्येश्वरीको डाँडो) को फेदमा रहेको बाग्मतीमा जसले नुहाउँदछ उसले सौभाग्यवती स्त्री पाउँदछ र मृत्युपछि देवीका लोकमा जान्छ ।

स्कन्दकुण्ड (?) मा गएर जो मानिसले नुहाउँदछ, ऊ अग्निसमान तेजिलो भई स्कन्दलोक जान पाउँदछ । यहाँ ब्रह्माले पनि मान्ने गरिएको पञ्चनद (?) नामक तीर्थ छ । त्यहाँ नुहाउनाले मात्र पनि पञ्चयज्ञ गरेको फल पाइन्छ । पवित्र शूलोद्भव नामक तीर्थमा नुहाउनाले विशेषतः ब्राह्मणलाई पूर्वजन्मको सम्झना आउँदछ ।

गुह्यक (एक देवसमूह जसले कुबेरका धनसम्पत्ती आदि सुरक्षा गर्दछन्) बाट रक्षा गरिएको एउटा गोप्य स्नाातकपानीय कुण्ड (प्राद्मार्कपानीय) मा (भाग्यले पाएर) नुहाए मानिस यक्षलोक जान्छ । यहाँ भृगुगुफाबाट उत्पन्न जुन् यक्षोदकतीर्थ छ, त्यहाँ विधिपूर्वक नुहाउने अमर हुन्छ (मृत्युको मुख देख्नु पर्दैन) । योगकुण्ड (?) मा, देवकुवा(?)मा र कुमारपहरा वा गुफा कुण्ड(?)मा विशेषतः ब्रह्मादि देवता तथा स्वर्गको चाहना गर्नेले नुहाउँदछन् । मेरो पूजा आराधना गर्दा पहिले वासुकीको पूजा गर्नु पर्दछ । घिउ, मह, दही, उखुको रस (शखर) तथा सुगन्धित जल, दूध वा फेरि शीतलजलले मलाई नुहाउनाले ठूलो फल पाइन्छ ।

यसरी नुहाइदिनाले त्यो मानिस स्वर्गमा भाग्यमानी र नरश्रेष्ठ हुन पुग्दछ । घिउको स्नानले मेरो लोक, महको स्नानले मेरो मन्दिर पाउँदछ भने दही स्नानले मेरो आदेशमा वैष्णवलोक जान्छ । शक्खर स्नानले विद्याधर (एक देवयनोनि) पद पाउँदछ । सुगन्धित जलको स्नान गराउने गन्धर्वलोक र दूधले नुहाइदिने चन्द्रलोक जान्छ । शीतल जलले स्नान गराउनाले सबै पापबाट मुक्त हुन्छ । जसले अनेक प्रकारका फूलले मलाई पूजा गर्दछ सोचेका कुरा उपभोग गर्दै (अन्तमा) ऊ मेरो मन्दिरमा शोभित हुन्छ । जसले एकाग्र भई भक्तिपूर्वक मेरो आरती गर्दछ ऊ स्वयंप्रभ देश (एक पर्वत, आफैँ पक्राशित हुने) मा जन्म लिन पुग्दछ । जो मेरो भक्त मेरो अंग प्रदक्षिणा (दाहिने पारेर घुम्नु) गर्दछ ऊ सुन्दर, धनी, वज्रको प्रहार पनि सहन सक्ने, युवक, पण्डित र संसारमा छोरानातीले सहित बस्ने हुनेछ ।

जसले विशेष प्रयाशले मेरो भक्तिपूर्वक अंगपूजा गर्दछ ऊ दीर्घजीवी, बलवान् र वीर राजा हुनेछ । जसले मेरो मन्दिरमा भक्तिपूर्वक दीपावली गर्दछ ऊ नेत्रवान्, अति तेजस्वी र लोकले पूज्ने हुनेछ । जसले मेरा अगिल्तिर भक्तिपूर्वक गोकुलधूप बाल्दछ उसले यस लोकमा सुख भोगगरी अन्तमा मोक्ष हुनेछ । (मेरो मन्दिरमा) तिलले भरिएको भाँडो दान गर्नाले (वा चढाउनाले) ठूलो भयबाट जोगिन्छ । त्यस्तै सुन अथवा तिलधेनु दान गर्नाले पनि हुन्छ ।

सुनले सिङ मोरिएको, चाँदीले खुर मोरिएको एवं काँसका घण्टा लगाइएको बाच्छाबाच्छी सहितको कैली गाई दान गर्नाले यज्ञ गरेको फल पाइन्छ । रत्नजडित तयारी चोलो आदि वस्त्र दान गर्नाले मानिस रत्नवान् राजा हुनेछ । वस्त्र दान गरे वस्त्रवान्, जमिन दान गर्नाले जमिन्दार, नाचगान एवं वाद्यवादन गर्नाले दुःखरहित भई मेरो गण हुनेछ । नीलकमल, आँक र कमल चढाउनेले लक्ष्मी पाउँदछ । गुम्पाती र बेलपत्र चढाउनेलाई म विशेष वरदान दिन्छु । धतुरोको फूल चढाए मोक्षता र कँडेलको फूल चढाए धन प्राद्म हुन्छ ।

चमेली आदि सुगन्धित फूल चढाउनाले शुभलाभ हुन्छ । फूल, पात, फल र जल चढाएर जसले मेरो नित्य पूजा गर्दछ । ऊ पनि निःसन्देश स्वर्ग पाएर खुसी हुन्छ । जसले मेरो पशुयोनिको पे्रम एवं भक्तिपूर्वक पूजा गर्दछ । उसले पशुबन्धनबाट मुक्त भई कामसिद्धि प्राप्त गर्दछ । जसले मेरो क्षेत्रमा ब्राह्णहरूलाई खुवाउँदछ उसले यज्ञ गरेको सरह फल पाई (अन्तमा) स्वर्ग पाउँदछ ।

त्यसपछि पशुपतिनाथ भगवान्ले चन्द्रमालाई फेरी भन्न लाग्नुभयो, ‘हे चन्द्रमा ! मेरो भक्ति एवं विधिपूर्वक पूजा गर । परम दुर्लभ यो मेरो क्षेत्रमा मेरो लिंग स्थापना गरी सबै पापबाट शुद्ध भई तिमी कृतार्थ हुनेछौ । यस क्षेत्रको पूर्वमा सबै पाप विनाश गर्ने पुण्यदायी कोसी नदी छिन् । त्रिशूली नामकी गंगा पश्चिमतिर रहेकी छिन् । यसको उत्तर दिशाको सीमा शिवपुरी मानिन्छ । दक्षिण दिशामा पवित्र चिसापानी (मकवानपुर) नदी छिन् । यिनैको बीचमा महापूण्यदायी यो नेपालक्षेत्र रहेको छ । मनोहरा र बाग्मतीको मनोहर दोभानमा तपस्या गरिरहेका महाशय अगस्त्यका समीपमा तिमी जाऊ । उनैले बताएका विधिले आफ्नो मनले खाएको स्थानमा लिंग स्थापना गर, तिमी द्विजराज हुनेछौ ।

मार्कण्डेय भन्ुहुन्छ – यति भनेर शिव भगवान् अन्तध्र्यान हुनु भयो । चन्द्रमा खुसी हुँदै भगवान् शिवलाई नमस्कार गरी शंखमूल गए । त्यहाँ उनले अगस्त्यको सुन्दर आश्रम देखे । जुन आश्रम दारिम, काठेचाँप, चाँप आदिले शोभायमान थियो । कटहर, अत्यन्त बास्नादार आँप र सुन्तलाले भरिएको थियो । ज्यामिर, बिमिरो र खयरका बोटले सुसञ्चित थियो अनि चमेली, ल्वाङका लहरा, मालती (चमेलीको एक जात) र बेलीका फूलले सुगन्धित थियो । घुमिरहेका भमराका झुण्डका आवाजले मनोहर (उक्त आश्रम) बाग्मतीको पानीको संसर्गबाट बहने वृक्षका सुगन्धमिश्रित चिसो हावाले भरिएको थियो । अनेक चराचुरुंगी एवं कोइलीको स्वरले गुञ्जायमान हुने त्यो आश्रम घुम्दै आउने मानिसको थकाई मार्ने थलो थियो ।

त्यसपछि चन्द्रमा त्यही उत्तम तपोवनमा प्रवेश गरे । शुद्ध भएर आएका चन्द्रमालाई देखेर भगवान् अगस्त्य मुनिले अति खुसी भई (यथोचित) स्वागतसत्कार गर्नुभयो । अनि मुनिश्रेष्ठले शान्तसँग बसेका अति तेजिला चन्द्रमालाई देखेर प्रेमपूर्वक सोध्न लाग्नुभयो । अगस्त्य भन्नहुन्छ, ‘प्रभू पशुपतिनाथ स्वयंले के आज्ञा गर्नुभयो, हे चन्द्रमा ! त्यो सबै सुरुदेखि नै मलाई बेलिविस्तार गर ।’

अगस्त्य मुनिका कुरा सुनी चन्द्रमाले भन्दछन्, हे ब्राह्मण श्रेष्ठ ! हजुरका निगाहले म गुरुपत्नी गमनको पापबाट मुक्त भएको छु । भोग, स्वर्ग र मोक्षका दाता भगवान् पशुपतिनाथको मैले दर्शन पाएँ । देवाधिदेवले देवतालाई पनि दुर्लभ मानिएको नेपाल क्षेत्रमा आफैँ एउटा लिंग स्थापना गर्न मलाई आदेश दिनुभएको छ । हे प्रभू ! त्यो लिंग हजुरका मुखारवृन्दबाट निस्किएका मन्त्रका विधिले स्थापना गर्नु भन्नुभएको छ । हे द्विजश्रेष्ठ ! मुख्यमुख्य तीर्थहरू र पूजाविधि समेत मेरो अनुरोधमा उहाँले बताउनुभयो । त्यसैले, हे मुनीश्रेष्ठ ! उहाँकै आदेशानुसार म हजुरसमक्ष उपस्थित भएको छु ।

हे मुनिश्रष्ठ ! उठ्नु हवस्, हामी पशुपतिनाथको दर्शन गर्न जाउँ । विधिपूर्वक पशुपतिनाथको पूजा गरी हजूरसँगै प्रयत्नपूर्वक अरू तीर्थयात्रा पनि गर्नुछ अनि मनले सोचेको ठाउँमा मैले लिंग स्थापना । हे मुनिश्रेष्ठ ! हजुरले बताएको विधिविधान बमोजिम गर्नु पनि छ ।

चन्द्रमाका कुरा सुनी अगस्त्य मुनि उनलाई फेरी भन्न लागे, ‘मैले पनि पशुपतिनाथको पूजा अवश्य गर्नु पर्दछ । हे चन्द्रमा ! मसँगै तिमी पनि तीर्थयात्रा गर र मनले सोचेको स्थानमा चाँडै लिंग स्थापना गर । हे चन्द्रमा ! मलाई पनि यहीँ एउटा लिंग स्थापना गर्नु छ ।’

ती मुनिश्रेष्ठले चन्द्रमालाई यति भन्दै लिंग स्थापना गर्ने मनसायले फेरि भने, ‘हे चन्द्रमा ! होमका लागि सबै सामग्री तयार गर अनि नेपालमा रहेका सबै मुनिजनलाई लिंग स्थापनाको उत्सवमा निम्ता गर ।’

त्यसपछि चन्द्रमाको निम्ता पाएर नेपालमा भएका मुनिहरू त्यहाँ आए । मुनिहरू सँगै श्रेष्ठ मुनि अगस्त्यले उक्त दोभानको नजिकै स्वच्छ एवं मनोहर स्थलमा, शुभ दिन र शुभ लग्नमा यज्ञशाला बनाउनुभयो । मुनिश्वरले विधिले भक्तिपूर्वक भगवान् शिवको आराधना गरी कोटीहोम समाप्तिका लागि अनेक वस्तु दान दिँदै वरुणसँग मिलेर अगस्त्य मुनिले अतुलनीय कुण्ड खन्नुभयो । र यो पातालबाट पानी पलाउने र सधैँ पानी भइरहने कुण्डमा कुम्भेश्वर नाम गरिएको लिंग स्थापना गर्नुभयो । कलियुगमा जो मानिस कुम्भेश्वरका भक्त हुन्छन् ती यसलोकमा सुख भोग गरी अन्तमा मोक्ष हुन्छन् । कुम्भ अर्थात् कलशबाट जन्मिएका, (कुम्भः योनिर्जन्मस्थानं यस्य) अगस्त्य मुनि ले कठोर तपस्या गरी भगवान् शिवको आराधना गरी स्थापना गरेको लिंग भएको हुनाले विद्वानहरू यो लिंगलाई ‘कुम्भेश्वर’ भन्ने गर्दछन् ।

चतुर्दशी वा अष्टमी अथवा संक्रान्तिमा जसले कुम्भेश्वरको दर्शन गर्दछन् निःसन्देह ती मनमाफिक फल पाउँदछन् । एकाबिहानै कुण्डमा नुहाएर कुम्भेश्वरको दर्शन गर्ने अनि यथाशक्ति दान गर्ने मानिसले निःसन्देह सोचेको फल पाउँदछ । जसले कुम्भेश्वरलाई बेलपत्र अर्पण गरेर पूजा गर्दछ, कुम्भेश्वर प्रसन्न भई उसलाई मनले चिताएको कुरा दिनुहुन्छ । त्यो कुण्डको जलमा जसले श्रावणपूर्णिमाका दिन नुहाउँदछ उसले पनि स्वर्ग पाउँदछ । वैशाखपूर्णिमाका दिन जो मानिस सुगन्धी शीतल जलले भक्तिपूर्वक कुम्भेश्रमा रुद्राभिषेक रुद्रसूक्त पढ्दै गर्दछ त्यसको फल सुन ।
हजार वटी बाच्छो सहितकी लैनु कैली गाई गर्नाले जुन फल पाइन्छ त्यही फल पाइन्छ, यसमा सोचविचार गर्नु पर्दैन । जो कुम्भेश्वरका नजिकै वाद्यवादन गर्दछ यहाँ (यस लोकमा) सुख भोग गरी अन्तमा मोक्ष हुन्छ । जो मानिस कात्तिक कृष्ण चतुर्दशीका दिन भक्तिपूर्वक कुम्भेश्वरका नजिकै दीपावली गर्दछ, महादेवका आशीर्वादस्वरूप उसले यमलोक देख्न पर्दैन । जो मानिस नित्य कुम्भकुण्डमा नुहाउँदछ, त्यहाँको जलले मुख धुन्छ वा त्यहाँको जल पिउँदछ वा कुम्भेश्वरलाई दर्शन गर्दछ, उसले सबै सुख भोगी अन्तमा शंकरको लोक जान पाउँदछ ।

जो यो कुम्भेश्वरको जन्मसम्बन्धी अध्याय सुन्दछन्, ती सबै पापबाट मुक्त हुन्छन् । ब्राह्मण वेदान्तविज्ञ हुन्छ, क्षत्रिय विजयी हुन्छ, वैश्य धनी हुन्छ भने शूद्र मोक्ष हुन्छ । कन्या चाहनेले कन्या, धन चाहनेले धन, विद्या चाहनेले विद्या र पुत्र नहुनेले पुत्र पाउँदछ । यो पवित्र अध्याय सुन्नाले गर्भिणीले छोरो पाउँदछे भने पति चाहने कन्याले सुने असल पति पाउँदछे ।

मार्कण्डेय भन्नुहुन्छ, त्यसपछि प्रसन्न भई अगस्त्य आदि मुनिसहित चन्द्रमा भगवान् पशुपतिनाथको दर्शन गर्न गए । प्रार्थनापछि पशुपतिनाथबाट आज्ञा लिई चन्द्रमा अगस्त्यसँगै राजराजेश्वरीको दर्शनार्थ गए । शास्त्रीय विधिले राजराजेश्वरी देवीको पूजा गरेपछि अर्को जन्मको सूचना दिने बडा अचम्मको कुवाको पनि दर्शन गरी भैरव र वत्सला देवीको दर्शन गर्दै, स्तनकुण्ड र पशुकुण्डको दर्शन गरेर ती गुह्यश्वरी गए ।

धूमधामसँग गुह्येश्वरीको पूजा गरी अगस्त्यसँगै अरू अनेक तीर्थको दर्शन गर्दै मुनिगणसहित महालिंग गोकर्णेश्वर गए । त्यहाँ गोकर्णमा रहेको यज्ञमण्डपलाई हेर्दै अगस्त्य मुनिले भन्नुभयो, ‘यहाँ नै रावणले अत्यन्त कठिन तपस्या गरेको थियो अनि यहीँ नै रावणले आफ्नो टाउको काटेर होम्दै अत्यन्त कठिन यज्ञ गरेको थियो र यही तपस्याले गर्दा रावणले उत्तम लंकाको राज्य पाएको थियो ।

त्यो राक्षसराजले देवाधिदेवलाई वशमा पारेको थियो । ऊ गोकर्णेश्वरको वरदान पाई तीनै लोकमा जित्न नसकिने बनेको थियो । अगस्त्य मुनिका कुरा सुनेर सँगै रहेका अन्य मुनिहरूका नाइके तपस्वी एवं भृगुवंशी श्याम मुनिले त्यसपछि अगस्त्य मुनिलाई खुसी हुँदै सोधे ।

श्याम भन्दछन्, ‘रावणको कुल, जन्म, तपस्या तथा पराक्रमका बारेमा सबै कुरा म सुन्न चाहन्छु, हे तपस्वी ! बताउनुहोस् ।’ महात्मा श्यामका यी कुरा सुनी महातेजस्वी अगस्त्यले यसो भन्न लाग्नुभयो । हे श्याम ! त्यो रावणको कर्म, तेज र अति बलका बारेमा सुन्नुहवस् । ऊ शत्रुलाई मारी शत्रुबाट आफू नमारिने कसरी भयो, अनि हे भार्गव ! उसको कुल र जन्म तथा वरदान पाएको कुरा सबै म हजुरलाई बताउँछु । हे श्याम ! पहिले सत्ययुगमा प्रजापतिका शुभ पुत्र पुलस्त्य नाम गरिएका अग्निसमान तेजस्वी ब्राह्मण ऋषि थिए । उनको नाम, यश, गुण, धर्म तथा स्वभावले नै अरूले यी प्रजापतिका पुत्र हुन् भनेर थाहा पाउन सक्दथे ।

हे मुनिश्रेष्ठ ! ती मुनि धर्मका कृपाले विशाल सुमेरुपर्वत नजिकै रहेको तृणविन्दु आश्रममा गएर बस्न थाले । त्यहाँ वेदादि शास्त्र अध्ययनमा तल्लिन हुँदै तपस्या गरिरहेका अवस्थामा उक्त मनोरम आश्रममा कन्याहरू गएर वाधा पु¥याउन थाले । त्यसो गर्नेमा नागकन्या र राजर्षि कन्याहरू थिए । हुँदाहुँदा ती कन्या जसरी नै अप्सराहरू पनि त्यो स्थानमा आउन थाले । ती कन्याहरू दिनहुँ त्यहाँ गएर खेल्ने गर्दथे । अन्त भन्दा रमणीय भएकोले पुलस्त्य तपस्या गरेर बसेकै ठाउँमा गएर ती खेल्दथे ।

एक दिन रिसाउँदै महातेजस्वी पुलस्त्यले भने जो मेरो दर्शन गर्न आउँदछे ऊ गर्भिणी हुनेछे । महात्माको यस्ता कुरा सुनेर ती सबै कन्या त्यसपछि त्यहाँबाट फर्किए । ब्रह्मश्रापको डरले ती त्यो ठाउँमा त्यसपछि ती खेल्न आउँदैन थिए । तर तृणविन्दुकी कन्याले भने मुनिका ती कुरा सुनेकी थिइनन् । उनी ती मुनिका आश्रममा गएर नडराई घुम्न लागिन् । त्यसबेला प्रजापतिका पुत्र महामुनि तपस्याको तेजले धपधपी बलिरहेका अवस्थामा वेद पढ्दै थिए । तिनको वेदपाठ सुनी ती तपस्वीलाई पनि देखेर उनको शरीर गर्भवतीको जस्तो पहेँलो भयो ।

आफ्नो एक्कासि बदलिएको यस्तो रूप देखेर उनी आत्तिइन् । ‘मलाई के भएको यस्तो’ भन्दै सोच्दै उनी आश्रमका रहेका आफ्ना पिताका समिप गइन् । पिता तृणविन्दुले उनको रूप देखेर यसो भने, ‘के हो यो ? तिमीले यस्तो रूप किन बनाएकी ?’ कन्याले निरीह हुँदै हात जोडेर तपस्वी पितालाई भनिन्, ‘हे पिता ! मेरो यस्तो रूप किन भयो, मलाई कारण थाहा छैन । तर म एकपटक पवित्र आत्मा भएका महर्षि पुलस्त्यका आश्रममा आफ्ना सखीलाई खोज्दै पुगेकी थिएँ । तर त्यहाँ मैले कुनै सखी आएको पनि देखिनँ । त्यसपछि मेरो रूप अकस्मात बदलियो र रूप बदलिनासाथ म यहाँ आएँ ।

त्यसपछि तृणविन्दुले आफैँ तपस्यामार्फत ध्यानदृष्टिले हेर्दा यो सबै दैववश मुनिका श्रापका कारण भएको हो भनी थाहा पाए । अनि पुत्रीलाई लिएर पुलस्त्यसमक्ष गई यसो भने, ‘हे भगवन् ! आफ्ना गुणले विभूषित मेरी यी छोरीलाई मैले दिएको भिक्षाकारूपमा स्वीकार गर्नु हवस् । तपस्याको परिश्रमले थकित भइरहनु हुने हजूरको यिनी हमेशा सेवा गर्न तयार हुनेछिन्, यसमा कुनै शंका छैन ।

त्यसपछि यस्तो अनुरोध गरिरहेका धर्मात्मा मुनिलाई पुलस्त्यले कन्या स्वीकार गर्दै ‘अति उत्तम, स्वीकार गरँे’ भने । यसरी ती राजर्षि कन्या दिएर आफ्नो आश्रममा गए । उनी पनि चित्त लगाएर त्यहाँ बसी आफ्ना गुणले पतिलाई सन्तुष्ट पार्न थालिन् । उनको स्वभाव र कर्मले मुनिश्रेष्ठ पनि प्रसन्न भए ।

महातेजस्वी मुनिले एक दिन खुसी हुँदै भने ‘म तिम्रा गुणले अति प्रसन्न छु । यो खुसीको अवसरमा म तिमीलाई आफू समानको छोरो दिन्छु । मातृ तथा पितृकुलको कर्ता भई यो पौलस्त्य नामले संसारमा चिनिनेछ । हे प्रिये ! तिमीले मलाई वेद पढिरहेका अवस्थामा सुनेकी थियौ, त्यसैले जन्मने पुत्रको नाम निःसन्देह विश्रवा हुनेछ ।
मनैदेखि प्रसन्न भएर ती कन्याले यी कुरा सुनिन् र केही समयपछि नै विश्रवा नाम गरिएको छोरो पाइन् । त्यो पुत्र तीनै लोकमा शौचकर्ममा समर्पित, बुद्धिमान्, समदर्शी, व्रतबन्धमा रुची राख्ने सत्यवक्ता, कृतज्ञ, तेजस्वी, धैर्यशाली र पिताझैं तपस्यामा लागिरहने मुनिश्रेष्ठ ‘विश्रवा’ भनेर लोकमा चिनिए । क्रमशः…

प्रतिक्रिया