कलामा लैङ्गिक चुनौतीमाथि बहस

काठमाडौं । राष्ट्रिय ललितकला प्रदर्शनी–२०८० अन्तर्गत, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘कलामा लैङ्गिक चुनौती’ विषयमा समूहगत छलफल भएको छ । दिपमाला महर्जनले संयोजन गरेको उक्त कार्यक्रममा प्यानलिस्टको रुपमा कलाकार सुनिता राणा, मेरिना चित्रकार, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ र सन्ध्या रेग्मी रहेका थिए । सो अवसरमा कलाकार मेरिनाले कलाक्षेत्रमा आफ्नो बुवाबाट प्रेरित भएर लागेको बताइन् । उनले बीचमा परिवारिक जिम्मेवारीले गर्दा कलाक्षेत्रबाट अलिक टाढा रहनुपरेता पनि पछिल्लो समय सक्रियता बढाउँदै गएको सुनाइन् ।
कलाकार सन्ध्या रेग्मीले आफूले यस क्षेत्रमा लाग्दा प्रोफेसनल संघर्ष धेरै गर्नुपरेको जिकिर गरिन् । उनले चित्रकलामा बच्चादेखि नै लगाव भएको तर आर्थिक र पारिवारिक समस्याका कारण आफूजस्ता धेरै महिला कलाकारले आफ्नो करिअरबाट टाढा हुनुपरेको धारणा राखिन् । उनले बुद्धिज्म र इन्भाइरोमेन्टको विषयमा १०औं प्रदर्शनी गर्न लागेको जानकारी दिइन् ।

सो कार्यक्रममा कलाकार सुनिता राणाले बाल्यकालदेखि नै कलाक्षेत्रमा आफ्नो लगाव भएको सुनाउँदै पारिवारिक माहोलले सहज भएको बताइन् । उनले कलेजपछि कलामा आफ्नो करिअर बनाएर त्यसलाई निरन्तरता दिन चुनौती रहेको सुनाइन् । उनले भनिन्, ‘कलाकारले आफ्नो मौलिकता सँगसँगै एक्सपेरिमेन्ट्सहरु गर्दै जानुपर्छ । कला भनेको क्यानभास र रङ मात्र होइन, नयाँ प्रविधि र समय सँगसँगै आफूलाई लैजान सक्नुपर्छ ।’

न्ेपाल ललितकला प्राज्ञसभा सदस्य संगी श्रेष्ठले सबैभन्दा पहिले कलाकारले आफूले आफूलाई चिन्न सक्नुपर्ने र दृढ अठोट राख्नुपर्ने विचार व्यक्त गरिन् । उनले भनिन्, ‘अरुले के गर्छ भन्नेभन्दा पनि आफूले के गर्न सकिन्छ भनेर पनि सोच्नुपर्छ ।’ उनले प्रतिष्ठानले गरेको यस्ता कार्यक्रमबाट आगामी दिनमा नीति निर्माण तथा योजना बनाउन सजिलो हुने बताइन् । उनले थपिन्, ‘कलाक्षेत्रमा महिलाको उपस्थिति सबल र प्रभावकारी ढंगले भइरहेको छ । यसलाई अझै गुणात्मक रुपमा अगाडि बढाउनु पर्ने चुनौती छ ।’ सो कार्यक्रममा कलाकार सरिता डंगोल, सम्झना राजभण्डारी, चन्द्रा श्रेष्ठ, सरिता मण्डल, पुनम कुमारी दास, रुवि कर्ण, कमला खड्का, प्रतिमा थकाली, सुशिला सिंह, मिङमा डोमा लामा, दिप्ती शेरचन, रीता मानन्धर, अनिता भटट्राई, सरुणा श्रेष्ठलगायतले कलाक्षेत्रमा महिलाको उपस्थिति प्रभावकारी रहेको विचार गरे ।

यस्तै, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, चित्रकला विभाग प्रमुख संजय वान्तवा, प्राज्ञसभा सदस्य महेन्द्र सुनार, आरम्भ समसामयिक मूर्तिकार समूहका अध्यक्ष सुदर्शन विक्रम राणा, उपप्राध्यापक ओम खत्री, निलेश शाक्य, कलाकार उद्धवराज रिमाल लगायतका कलाकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया