बजेटपछि सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । सरकारले सुनको भन्सार दर वृद्धि गरेपछि सुनचाँदी महँगिन थालेको छ । बजेट आउनु अघिसम्म प्रतितोला सुनमा ९ हजार ९ सय ४५ रूपैयाँ भन्सार लागेकोमा अव १४ हजार ९ सय १७ रूपैयाँ तिर्नुपरेपछि सुन महँगिएको छ ।

जसले गर्दा सुन तोलामै ४ हजार ९ सय ७२ रूपैयाँ बढी हुने भएको छ । यहि कारणले नेपाल सुनचाँदी ब्यवसायी महासंघले आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेटप्रति असन्तुष्टि प्रकट गरेको छ । बजटे अघि प्रतितोला सुनको मूल्य एक लाख ८ हजार रूपैयाँ रहेकोमा बुधबार भने एक लाख १२ हजार रूपैयाँ पुगेको छ । बजेटले सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेको छ । यस्तै परम्परागत र रैथाने ब्यवसायलाई प्रवद्र्धन गर्ने भनिएको बजेटको नीतिको ठीक विपरित हुनेगरी यो ब्यवसायमा थप २ प्रतिशत विलासिता कर समेत लगाउने घोषणा गरेकोे छ ।

बजेटले गरेको यो ब्यवस्थाले सुनचाँदी ब्यवसायलाई नियन्त्रण गर्ने मात्र नभई विभेद समेत गरेको र यसले समग्र सुनचाँदी ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत चर्को मार पर्ने महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । यसले गर्दा नेपालमा भन्दा अन्य देशमा प्रति तोला सुन १५ हजार भन्दा कम मुल्यमा पाइने भएकोले त्यसको सिधा असर नेपालमा देखिने उनको भनाई छ । त्यस्तै हालसम्म विदेशमा वस्ने नेपालीहरुले विभिन्न माध्यमवाट नेपालमा बनेका सुनका गरगहना लैजाने गरेकोमा अव त्यो अवस्थाको पनि अन्त्य भएको उनको भनाई छ ।

सरकारको यो निर्णयले अनौपचारिक क्षेत्र हावी हुन गई सरकारी राजस्वमा समेत अशर पर्नसक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । महासंघको बैठकले सरकारले यो निर्णय नसच्च्याएमा विभिन्न निकायमा ज्ञापन पत्र वुझाउने र त्यसवाट पनि समस्याको समाधान नभए आन्दोलनका कार्यक्रम घोषणागर्न बाध्य हुने अवस्थाा आउनेसक्ने महासंघका प्रवक्ता मनोज साहले बताए । हालसम्म नेपालमा प्रतिकिलो सुनमा ८ लाख ५० हजार रुपैयाँ र प्रतिकिलो चाँदीमा ८ हजार ५ सय भन्सार लाग्दै आएको छ । बजेट अनुसार अवदेखि सुन र चाँदी दुवैमा १५ प्रतिशत भन्सार र थप २ प्रतिशत विलासिता कर लाग्ने भएको छ । जेठ १५ सम्म व्यवसायीले एक केजी सुन किन्दा भन्सार शुल्क ८ लाख ५० हजार रूपैयाँ तिर्ने गरेका थिए । अहिले सोही परिमाण सुन किन्दा १२ लाख ७५ हजार रूपैयाँ तिर्नु परेको छ । जेठ १५ अघिसम्म सरकारले सुनमा मूल्यको आधारमा नभई परिमाणको आधारमा भन्सार लगाउँदै आएको थियो ।

सरकारले यसअघि प्रति १० ग्राम सुनमा ८ हजार ५ सय रूपैयाँ भन्सार दर तोकेको थियो। अब भने प्रति केजी सुनको मूल्य जति पर्छ त्यसको १५ प्रतिशत भन्सार दर लाग्ने व्यवस्था गरेको छ । मूल्य घट्दा भन्सारबापत तिर्नुपर्ने रकम पनि घट्छ भने मूल्य बढ्दा भन्सार बापत तिर्नुपर्ने रकम पनि बढ्छ । ’विदेशबाट फर्कदा महिलाले ५० ग्रामसम्म सुन ल्याउन पाउने र पुरूषले २५ ग्रामभन्दा बढी ल्याउन नपाउने प्रावधान रहेको छ ।

प्रतिक्रिया