पोखरामा राष्ट्रिय फोटो पत्रकार समूहको फोटो प्रदर्शनी

पोखरा । पर्यटकीय नगरी पोखरामा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)को ‘साहसिक पर्यटन’ फोटो प्रदर्शनी सुरु भएको छ। पोखरा ग्राण्डी होटलमा सुरु प्रदर्शनी माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह मौसुम र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले रिवन काटेर उद्घाटन गरेका थिए ।

प्रदर्शनीको उद्घाटन गर्दै माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले प्रदर्शनीमा फोटो पत्रकारहरुले खिचेका उत्कृष्ट फोटोहरू देखेर निक्कै नै खुसी लागेको बताए। ‘म आज यहाँ उपस्थित हुँदा नेपालको सबै ठाउँ पुगेको जस्तो अनुभूति भएको छ’ उनले भने। पर्यटन प्रवर्द्धनमा फोटोले महत्वपूर्ण भूमिका खेल्ने भन्दै नेपालका आकर्षक ठाउँहरुको फोटो अवलोकन गर्ने अवसर दिएकोमा आयोजक एनएफपिजेलाई धन्यवाद दिए। एनएफपिजेले मन्त्री मौसुमलाई मायाको चिनो स्वरुप फोटो बुक पनि प्रदान गरेको छ ।

माल्दिभ्सका पर्यटनमन्त्रीसँगै दक्षिण एशियाका विभिन्न विशिष्ट व्यक्तिहरुले उक्त प्रदर्शनी अवलोकन गरेका थिए । (पाटा) संगको सहकार्यमा आज मंगलबारदेखि सुरु प्रदर्शनी शुक्रबारसम्म ४ दिन चल्नेछ।

एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा)को वार्षिक शीखर सम्मेलन र एडभान्चर ट्राभल मार्टमा भाग लिन मन्त्री मौसुमसहित विभिन्न मुलुकका करिब १६० जना पाहुना, क्रेता र बिक्रेता गरी करिब २ सय ५० जना पोखरा आएका छन् । सम्मेलनमा सहभागि हुने राष्ट्रिय अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरुले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा छलफल चल्ने छ ।

शीखर सम्मेलन विभिन्न देशका पर्यटन व्यावसायी सहभागि हुने भएकोले एकअर्का मुलुकबीचको पर्यटन सम्भावना र अवसरबारे अनुभव साटासाट गर्ने छन्। नेपालले तेस्रोपटक एडभेन्चर मार्ट र पहिलोपटक पाटा वार्षिक शीखर सम्मेलन आयोजना गर्न लागेको हो।

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा खिचिएका उत्कृष्ट पर्यकीय र साहसिक फोटोहरु राखिएको आयोजक एनएफपिजेका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक सुनिल शर्माले जानकारी दिए। प्रदर्शनीमा करिब ३० फोटो पत्रकारहरूले खिचेका ६० भन्दाबढी फोटोहरू राखिएको छ ।

प्रतिक्रिया