पत्रकार ढुंगानालाई २५ हजार राशीसहित ललितकला पत्रकारिता पुरस्कार

काठमाडौं । गणतन्त्र दिवसको अबसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ काे अवसरमा पत्रकार नारायण ढुंगानालाई रु २५ हजार राशीको राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

उक्त प्रदर्शनीको उद्घाटनका क्रममा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । पत्रकार ढुंगाना राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन् ।

ललितकला क्षेत्रमा योगदान पुर्याएका पत्रकारहरु मध्येबाट उनलाई छनोट गरी पुरस्कार प्रदान गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा प्रदर्शनीको कार्यकारी समितिका संयोजक लालकाजी लामाले जानकारी दिए ।

चितवन निवासी पत्रकार ढुंगाना विगत २० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी कलाका साथै सुरक्षा, सामाजिक तथा परोपकारी पत्रकारितामा रुची राख्छन् । यस पटकको कलालेखन पुरस्कार भने नरेन्द्रप्रसाद पौडेलले प्राप्त गरेका छन् ।

यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवर्द्धन सम्मान संगीता थापालाई प्रदान गरिएको थियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरिएको थियो ।

‘म, मेरो देश र मेरो सिर्जना’ थिममा शुरु यस वर्षको कला प्रदर्शनीको लोगो निर्माण गर्ने कलाकार प्रा राधेश्याम मूल्मीलाई ताम्रपत्रबाट सम्मान गरिएको थियो ।

समारोहमा ललितकलाका विभिन्न विधामा तीन दर्जन बढी कलाकारलाई पुरस्कार प्रदान गरिएको थियो । यस पुरस्कारबाट आफूलाई पत्रकारिता क्षेत्रमा थप जिम्मेवारी तुल्याएको र आगामी दिनमा थप दृढ र मर्यादित भएर कलम चलाउने पत्रकार नारायण ढुंगानाले बताए ।

प्रतिक्रिया