पनौतीतिर बरालिँदा

(नियात्रा)

पोष चापागाई

अचानक, मेरो नाकमा चुरोटको धुवाँ पस्यो । ख्वाक्क खोकेँ । यताउति हेरेँ. । कोही छैन । कताबाट आयो धुवाँ ? अलि तल महिला एक चुरोट तान्दै गरेको देखेँ । अहँ हँ गरेँ । भित्तातिर फर्किनु भो । चुरोटको धुवाँ भने उड्दै उड्दै मतिर आइरहेको छ । ‘हजुर यहीँ को हो ?’ सोधेँ, सारो । मतिर हेर्दै भन्नुभो, ‘हो, ऊ माथि, थापागाउँमा घर छ मेरो ।’ अब मतिरै हेर्दै हुनुहुन्छ । चुरोट भने लुकाको छ पछिल्तिर ।

देशका जुन भागमा गए पनि यो मन आनन्दित हुन्छ, प्रफुल्लित हुन्छ, तरंगित हुन्छ । म जहाँ पुग्छु, त्यहाँ पुग्दा घुम्दा आपूmलाई छोएको कुराको टिपोट गर्छु । यसै गरी टिपोट गरिएको ‘सुन्दर नेपाल’ नियात्रा संग्रह यसै पत्रिकामार्पmत शनिवासरीय अंकमा प्रकाशित हुँदा यहाँहरूबाट जुन माया पाएको छु यहाँहरूप्रति म सधैँ आभारी रहनेछु ।

आज यहाँहरूलाई काभ्रेपलाञ्चोक जिल्लाको पनौती घुमाउन लाँदै छु । २०७८ पुस २९ गते भएको यस यात्रा यहाँहरूले पढ्दा आफैँ यात्रा गरेको महसुस गर्नुहुनेछ भन्ने आशासमेत राखेकाु छु ।

कैलास–मानसरोवर जाँदा चिनेका, मनोरोग अस्पताल पाटनका डाइरेक्टर डा.अनन्त अधिकारीले फोनमा भन्नुभो – एकदिन पनौति जान भ्याइन्छ ?
रिटायर्ड हुँ । फुर्सदै फुर्सद छ । जान्छु नि म ।

यो कुरा २०७८ कात्तिकको । त्यसपछि भेट भएन । फोन नि आएन । २०७८ पुस २८ को एकाबिहानै फोन आयो । भोलि पनौती जान भ्याइन्छ ?
भ्याइन्छ । भोलि बिहान ७ः३० मा आउँछु । ठीक परेर बस्नु । हुन्छ ।
अरू को को जाने नि ? म ११ र ६ मा पढ्ने छोरीहरू अनु र आभा अनि कक्षा सातमा पढ्ने भान्जी समज्ञा जान्छन् । औषधि वितरण गर्ने भाइ अनि चालक शिव र म हुन्छौँ । अरू कोही हुन्न । फोन राखेँ । फोन राख्ने बित्तिकै मेरा कानले नियात्राले गाएको मधुर संगीत सुने ।
पुस २९ बिहान ७ः३० मा ग्रिनहिल सिटीको १ नंं गेटमा आउनुभो । म गाडीभित्र पसेँ । नारायणटारको अर्थोपेडिक हस्पिटलमा काम रहेछ । एकैछिन भित्र पसेर तुरुन्तै बाहिर आउनुभो ।

अब कार खुइँ कि खुइँ कुद्न थाल्यो । बत्तियो । गफैगफमा बनेपा पुगेछौँ । धेरैपटक आउजाउ गरेकोले केही टिपोट गरिनँ । बनेपाको भत्केको सालिकबाट कार पनौतीको बाटो समारभित्र पस्यो ।

उत्ता लागेपछि सोधेँ, ‘चिया कफी केही खाने कि ?’

‘भो न खाउँ ।’ ‘पनौती टेक्नासाथ भातै खाउँ ।’

पनौतीमा बिरामी हेर्न थालेपछि भात खाने अनुकूल नपर्न सक्छ ।

डाँडो खेत । खोल्सो । मैदान मज्जाले हेरेँ । काठमाडौंको अभ्यस्त दृश्यभन्दा बोट विरुवा प्राकृतिक रमझम देखेर मेरो मन रमाइरहेको छ ।
पनौती पसेछौँ हामी । गाडी उभ्भियो ।

‘ऊ त्यो होटलमा खाना खाऔँ’ – भन्नुभो ।

वहाँ अघि हामी पछि ।

होटलको आँगनमा छौँ । म लेखेको पढ्दैछु । ‘तारानाथ बजगाइँको भोजनालय, पनौती’ खान बस्यौँ । मैले शाकाहारी खान्छु भनेँ । त्यही आयो मलाई । माथि झोल तल थिगर दाल । काक्रो, मुला, गाँजर प्याज, कागती सलाद । मुलाको थेवे अचार । तरुलको लेदो तर्कारी । राम्रो साग । त्यहीँका खेतको चामल–भात । यस्तै यस्तै स्वाद आयो ।

नियात्रमा खाको कुरा नलेख्नु भन्ने म तर लेखेँ । किन पनि लेखे भनेँ – आजभन्दा पचास वर्ष जति अघि भोजपुर दिङ्लाको रयाले खेतबाट धान बोकेर ल्याउने किसानहरूलाई मेरी आमा र ठुली भाउजू मिलेर पकाको भात र अहिले मैले खाएको भात उस्तै । अझ मुलाको थेवे त ठ्याक्कै ठ्याक्कै ।

बाटो लाग्यौँ । बजार भित्रबाट जाँदै छौँ । घरै घर । नौलो । एकैछिनमा छेउ लाग्यो कार । डाक्टर ओर्लिनु भो । हामी सबै निस्कियौँ ।
बन्दै गरेको मन्दिरतिर देखाउँदै भन्नु भो – ‘यो कुशादेवीको मन्दिर हो । पुरानु भत्कियो । नयाँ बन्दै छ । सकिएको छैन ।’ अगाडि हेरेँ –पनौति न.पा.वडा नं.२, कार्यालय, कुशादेवी । वडा कार्यलयमा सानु काम छ मेरो भित्र जाऔँ । ‘हुन्छ ।’

२ नं का वडाध्यक्ष पुरुषोत्तम अधिकारी त्यही हुनुहँुदो रहेछ । गफगाफ भो । छोरीहरू त्यहीँ आफ्नो काम गर्न थाले । हामी निस्कियौँ ।

कुशादेवीको काभ्रो : बन्दै गरेको मन्दिर नजिकै उभ्भिनु भो डाक्टर । औँलो तेस्र्याउँदै भन्नुभो – ‘ऊ त्यहाँ सये वर्ष जति पुरानु काभ्राको रुख थियो । ठूलो झ्याम्म । रुखमा मान्छे छिर्ने टोड्काहरू थिएँ । हामी भुराहरू रुख चढ्थ्यौँ । टोड्काभित्र पसी खेल्थ्यौँ । टोड्काभित्र साथीसाथी झगडा गर्दा क्या मज्जा आउँथ्यो । त्यो रुख बुढो भएछ सकियो । अचेल नामो निशान छैन ।’
बुढापाकाहरू भन्थे, ‘त्यो रुख देवी भक्त हो । कुशादेवीको सेवा आराधना गरी बसेको काभ्राको रुख ।’

कुशादेवी मावि : मैलेँ पढेको स्कुल । औँलाले स्कुल देखाउनुभो । भन्नुभो, ‘काभ्रोको रख सकिएजस्तै मैले पढेको कुशादेवी स्कुल छैन । नाम उही छ । भूमि उही हो । स्कुल नयाँ भयो ।’
‘पढ्दाको अनुभव सम्झना छ कि ?’ म
भन्नुभो । बिर्से धेरै भो । अँ बाटोको हिलोमा एउटा चप्पल अड्किएर एउटा मात्रै चप्पल लार स्कुल पुगेको छु । पढाइमा अब्बल भएकाले कहिल्यै सरहरूको सिर्कनु खानुपरेन । दुःख त कति भोगियो कति । माथि जाऔँ । बिरामीहरू मलाई पर्खी बसेका होलान् । हुन्छ ।
गाडीमा एक मिनेट । प्रहरी भवन र स्वास्थ्यचौकी कुम जोडेर बसेका रहेछन् तल माथि । सरासर हामी स्वास्थ्यचौकीमा गयौँ ।

स्वास्थ्यचोकीमा डाक्टरसँग म : गेटभित्र पस्दा बाटोमा चउरमा, आँगनमा कोठामा टन्नै थिए मान्छे । स्वयं सेवकहरूले डा.लाई भित्र कोठामा लगे । म पनि सँगै गएँ । डाक्टरलाई स्वागत गर्ने कार्यक्रम रहेछ । खादा, फूल र अबीरले छपक्कै छोपेर गाउँलेले गाउँकै डाक्टरलाई अत्युच्च स्वागत गरे । मैले पनि स्वागत गरेँ । डा. का ललाटमा अबीर अर्पण गर्दागर्दै म त फुत्त उडेर मेरो गाउँ दिङ्लाको नागी पो पुगेँ ।


हो त मेरो जन्म घर दिङ्ला । डा. को घर पनौती । उनले जन्म घर । पढेको स्कुल । गाउँलेलाई बिर्सन सकेनन् । अर्को हस्पिटलको डाइरेक्टर । तैपनि महिनामा एकदिन निःशुल्क सेवा गर्न आउँछन् । म लण्ठु । घर छोडेँ । मेरो पनि थियो । थिए गाउँले । थिए साथीभाइ दुःखमा होलान् उनीहरू । सुखमा होलान । केही गर्नै सकिनँ ।

जीवनको सबल र उन्नत र कुरा जन्मभूमि चिन्तन हो ।

डा. कोठामा पसे । सोधेँ, ‘कति समय लाग्ला ?’

‘त्यस्तै चार घण्टा जति ।’ लौजा परेन फसाद । यो चार घण्टा के गर्ने । पनौती बजार घुम्छु भन्ने लाग्यो । हिडेँ । अलि ओरालो झरेपछि पिच सडक आयो । उभ्भिएर वरपरका दृश्य हेर्न थाले ।

पारि खनेको बारिमाथि सुन्तला घारी देखेँ । हेर्न थालँे । शरीरभरी सुन्तलाका दान भिरेका सुन्तलाका बोटहरू मतिर हेर्दे, ‘खान आउन । बल्ल बल्ल आइपुग्यौ ।’ भन्दै थिए ।

अचानक, मेरो नाकमा चुरोटको धुवाँ पस्यो । ख्वाक्क खोकेँ । यताउति हेरेँ । कोही छैन । कताबाट आयो धुवाँ ? अलि तल महिला एक । चुरोट तान्दै गरेको देखेँ । अह हँ गरेँ । भित्तातिर फर्किनुभो । चुरोटको धुवाँ भने उड्दै उड्दै मतिर आइरहेको छ । ‘हजुर यहीँ को हो ?’ सोधेँ, सारो ।
मतिर हेर्दै भन्नुभो, ‘हो, उ, माथि, थापागाउँमा घर छ मेरो । अब मतिरै हेर्दै हुनुहुन्छ । चुरोट भने लुकाको छ पछिल्तिर । ‘एउटा कुरा सोध्छु । नरिसाउनुस है ।’ ‘हुन्छ,’ सोध्नुस न ।

‘चुरोट कहिलेदेखि खान थालेको ?’

‘६ वर्षकी हुँदादेखि ।’

‘कति हुनुभो ?’ साठी ।

छोड्न मन लाग्दैन ?

छोडौ भन्छु । सक्तै सक्तिनँ । आमा खानुहुन्थ्यो । म सानी । सल्कार ले भन्नुहुन्थ्यो । बानी प¥यो । त्यस्तै पाँच÷६ कि थेँ होला ।
‘आमा खानुहुन्छ ?’ सोधेँ ।

‘एकपटक बिरामी हुुनुभो अनि छोड्नुभो । अचेल खानुहुन्न ।’

ऊ त्यो ढुंगातिर हेर्नुस त ।

हेरेँ ।

‘केही देख्नु भो ?’

‘अहँ त्यहाँ त केही छैन ।’

‘त्यहाँ तपार्इंलाई लिन आको काल लुकेको छ । बाघले झम्टिए झैं भुक्काएर झम्टिन्छ ।’

‘मर्नु त भएन नि । कसरी कालबाट बच्ने आफ्नु कति काम बाँकी छ । भो भो नभन्नुस् । म त कालसँग जान्न ।’

‘म भन्छु । मान्नु हुन्छ ।’

‘बाँच्न पाउने भए त तपार्इंले जे भने पनि मान्छु नि !’

काल भन्छ – चुरोट खानेलाई म समय नपुगी लैजान्छु । चुरोट नखानेलाई समय भएपछि मात्रै लान्छु ।
चुरोट भुइँमा फाल्दै भनिन्, ‘अबदेखि कहिल्यै खान्न ।’

म त्यहीबाटो ओरालो झरेँ । पिचैपिच । हाँस्तै । ओरालो झर्दै थिएँ । तलबाट पच्चिस तीसकी एउटी नानी उकालो आउँदै रहिछिन् ।
कता हिँडनु भो ?

‘स्वास्थ्यचौकी । डा.आ छन् रे ! ओखती गर्न ।’

‘पनौती सहर कति टाढा छ ?’ म ।

‘बिस्तारो हिँड्नु हुँदो रहेछ । एक घण्टा लाग्छ होला ।’ – उनी ।

ए भने जे त पर्ला । हिँड्ने हो । हेर्ने हो । भन्दै हिड्न थालेँ ।

‘बिस्तारो जानुस् है । लड्नुहोला ।’

मैले पनि भनेँ, ‘सेवा गर्न डा. अनन्त आउनु भा छ । गाउँबाट जँचाउन आउनुभएकी तपै राम्ररी देखाउनुस् । निको हुनुस् । शुभकामना ।’
खोचमा पुगेको मलाई डाँडामा उभ्भिएर हेर्दै थिइन् ।

गौखुरेश्वर महादेव : स्वास्थ्यचौकीबाट झर्दै थिएँ । सडक नजिकको फलामको रेलिङमा रङ लगाउँदै थिए भद्र पुरुष । ढुंगा छापेको । उकालो उकालो । खुड्किले ठाडो बाटाको छेउमा । तलदेखि माथिसम्म फलामको रेलिङ लाको । वरपर खेत ।

‘त्यो बाटो कहाँ पुग्छ ?’ रङ लगाउनेलाई सोधेँ ।

‘तेति पनि थाहा छैन गौखुरेश्वर महादेवसम्म पुग्छ नि ।’

चुरोट फुस् फस् उडाउँदै उनी फेरि रङ लाउन थाले ।

रङ लाउने कामदारतिर हेरेँ । मैलेँ ।

स्वर्गबाट मत्र्यलोकमा झरेका गौखुरेश्वर महादेवले आफ्नै मन्दिरमा जाने बाटाको रेलिङमा रङ लगाइरहेको अनुभूति गरे । सबै श्रमजीवीहरू देवताका प्रतिकृति हुन् ।

लीलावती : झर्दै छु । मेरो दाहिने कुद्दै छ सिन्धु । हिम कचौरा भित्रको सेतो पानी जस्तै छ पानी । सेतो पानी । हिम प्रवाह । नजिकै बाख्रा चराउँदै थिइन् सानी नानी । सोधेँ, ‘नानी यो नदीको नाम के हो ?’

भनिन्, ‘लीलावती नदीको नाम पनि थाहा नपाउने लण्ठु ।’ उनी हाँसिन् मुख छोपेर । म मुख नछोपी मुस्कुराएँ ।

गंगा । अलकनन्दा । भन्दा उच्च देखेँ लीलावती महतारी । मनोरम जल लावण्य । जललीला । काया सुन्दरी लीलावती ।


तोरीबारी : हिँड्दाहिँड्दै के देखेँ, के देखेँ ? मनमोहक तोरीबारी देखेँ । अद्भूत । पहेँलपुर भूदृश्य । डाँडापाखा तोरीबारी । सुवर्ण संसार । पहेँलो सुन झुलिरहेको टुप्पाको बारी । तारीेबारी हेर्दाहेर्दे म त फुत्तै मेरो दिङ्ला पुगेछु ।

आँगनको डिलमा उभ्भिएर साडी तान्दै आमा भन्नुहुन्थ्यो, ‘बाख्रा पाठा गाईवस्तु राम्ररी हेर । तोरी खाला । एक बोट खायो भने दश बोट तिराउँछु ।’
झसंग भएँ । म तोरीबारीको सुनबारीमा छु । भन्छु – पनौतीमा सुन फल्छ । थाहा नपाएर मान्छेहरू बाहिर जान्छन् ।

बस र सहकारी : लीलावती नेसनल एकेडेमी बस । लीलावती सहकारी । दुवै पढेँ सडकबाट । लाग्यो पनौतीमा कुशादेवी र लीलावती प्रसिद्ध रहेछन् । ठुइँ कि ठुइँ हिँड्दै छु । लमतन्न सुतेको छ सुतेको छ सडक । निकै बेरमा फुत्त एक वाहन आउँछ । जान्छ । घाम छन् । चर्का होइनन् । ढाडमा घाम पर्दा मायालुले मुसारेजस्तो लाग्छ । यति धेरै शून्य पनि हुन्छ र न.पा. भित्रको चिल्लो सडक ।

काग र खेत : खेतभरी काला काग बसेको देख्छु छपक्कै । के उधि काग भन्दै उभ्भिएर हेर्छु । के को काग । मलका थुप्रा पो रहेछन् त । घाँगर ला कि नानी खेतका डल्ला फोर्दै छिन् । एक्लो बजार । घरबाहिर कोकाकोला पिउँदैछन् सेतो पटुका बाँधेका बा । दुई आमै डोको बोकेर खेततिर जाँदैछन् ।

परालको माच : हिँड्दाहिँड्दै म त दिङ्लाको मेरो लप्सीधारो खेतको परालको माच छेउमा पुगँे त हौ । होइन, यो त पनौती पो त कान्छा । कताबाट दिङ्ला आयो । भन्छ मेरो मन । सडकमाथि धुस्ने परालका तीन माँच देखेँ । माच वरिपरि उभ्भिएर ८/१० गाईगोरु माँचको पराल तान्दै मुखमा हाल्दैछन् । यसो त्यता हेरेँ । फेरि चाँडो चाँडो हिँड्न थालेँ । सडकै सडक ।

तिर्तिरे धारो : म अहिले त्यही छु । जहाँ बिहान गाडी रोकेर अनन्तले भनेथे, ‘यहाँ तिर्तिरे धारो थियो । बटुवाहरू ठाडो घाँटीलार पानी पिउँथे । अधिकारी गाउँबाट हामी पनि आमाबासँग सहर जाँदा तिर्खा लागेको दिन यही धाराको पानी पिउथ्यौँ, गाउँ र सहर आउजाउ गर्दा । बाटाको तिर्तिरे धारो सुक्यो । सुक्यो होइन नि । गज्जबको धारो थियो । सडक बनाउँदा डोजर लाए । सकियो धारो । अचेल धाराको गीत मात्रै बाँकी छ ।’
‘लामा डोलुको नि है ढुंगे धारो,

पानी आउँछ तुरुरु

हौ मायालु हजुर’

–रचना तथा स्वर मच्छेश्वर सापकोटा ।

म अरमठ्ठ परेर धारो सुकाको कथा सम्झिन्छु । नेपाली विकास र निर्माण प्रक्रिया सम्झेर दाँतै कुुढिन्छ । धारो थियो । त्यो ठाउँबाट हेर्छु । अघिल्तिर त…लदेखि आएको बाक्लो झ्याम्म वन देखिन्छ । वनमुनि तीन वटा साना घर देखिन्छन् । रिसोर्ट हुन् रे ! जंगल सकिँदै सकिन्न । सम्मबाट सुरु भको जंगल माथि आँखाले देखुन्जेल डाँडैसम्म मौन बसेको छ । घरिघरि काग कराउँछ । पनौतीको शोभा । तिर्तिरे धारामाथिको वन । भीमकाय अरण्य । ठट्टै ठट्टामा सुकाए धारो ।

तर्कारी घर : उकालो सकियो । वन एकातिर । बाटो अर्कोतिर । डाँडामा उभ्भिएर तलको फाँटतिर हेरेँ । धेरै घर । प्लास्टिकको छाना भएका के विधि घर । पनौतीमा थुप्रै घर रहेछन् तर्कारीका । प्लास्टिक छाने ।

रगतबाट बनेको बाटो : च्वाट्ट खसी काटेर रगत चुहाउँदै टाउको लैजाँदा रगतको रेखाले बनेको आकृतिजस्तो बाटो देखेँ डाँडामुनि । डोजर लगायो । भत्कायो । विछिन्न प्रकृति । तहसनहस । लुरुलुरु झर्दैछु सडकमा कुल्चिँदै । जाडो छैन । गर्मी पनि छैन । पाउले भने ‘थाक्यौ है कान्छा बाजे भन्दैछन् ।’

राधाकृष्ण चोक : राधाकृष्ण चोक । खरिबोटमा उभ्भिएर हेर्दैछु । अगाडि चौतारो छ । नीलो रङ । ठूलो । कोही बसेका छैनन् । सजिसजाउ छ मन्दिर । होइन, मन्दिर जस्तै छ मन्दिर । छैनन् धेरै मान्छे । फाट्टफुट्ट एक÷दुई हिँड्दा हिँड्दा थाकेका बटुवालाई आराम गर्ने स्थान अथवा मानव जीवनका उहापोह बोकेर थाकेकालाई आराम गर्ने आश्रयस्थल राधाकृष्ण मन्दिर । उच्च लाग्यो ।

पनौती बजार : थाहै नपाई म बजारभित्र पसिसकेछु । उत्तानो परेर लमतन्न सुतेका नांगा सडक । सवारी साधनको प्याँ पु छैन । फाट्टफुट्ट मान्छेको आवतजावत छ । प्राचीन कालमा ऋषिमुनिहरूलाई लीलावती नदीमा स्नान गर्न जाँदा काँडा नबिझोस् भनेर बनाका जस्ता चिल्ला सडक ।

मेला विज्ञापन : पनौतीको १२ वर्षे मकर मेलाको विज्ञापन । बाटैभरि पढ्दै आएको थिएँ । यो विज्ञापन चैँ मज्जाको लाग्यो । ‘पुर्खाको पौरख, पनौतीको
गौरव – १२ वर्षे मकरमेला ।’

बसपार्क : पातला घर । बाक्ला भएँ । शून्य सडक । सवारी साधन र मानव पाइलाले आच्छादित भयो । हेर्दाहेर्दै म भिडमा मिसिएँ । अहिले बसपार्कमा पुगेछु ।

सरस्वती मन्दिर र पोखरी: बसहरू कराइरहेका छन् । मान्छे मान्छेसँग ठोक्किँदै हिँड्दैछन् । म कता जाने ? अलमल्ल परेँ । भिडमा नबसाैं । अघि जानु वेस भन्दै हिँड्न थालेँ । वरिपरि पानी । बीचमा एक मान्छे अग्लो पिलर । ढुंगा छापेको । बढार्दै महिला । हेर्नुपर्यो भनेर गेटभित्र पसेँ । यो के हो ? बढार्ने बहिनीलाई सोधेँ । भनिन्, ‘सरस्वती मन्दिर । बन्दैछ पुरा भा छैन ।’ निस्केँ बाहिर । भनेँ – पनौती बजारले सरस्वतीको आराधना गरेको स्तुत्यकृत्य ।

पूण्यमाता : डोकामा घर तरुल बेच्दै गरेकी बहिनीलाई सोधेँ, ‘बगिरहेकी नदीको नाम के होला ?’ फिस्स हाँस्तै भनिन्, ‘पूण्यमाता ।’ पूण्यमातालाई बजारेहरूले फोहोर पारेको देखेँ ।

सत्तल : अलि पर पुगेँ । माथि झिगटीले छाको आठ वटा अग्राखका खावा भाको । एकनाले सत्तल मतिर हेरिरहेको थियो । बाहरू वस्ने । दुःखसुख पोख्ने । भोजभतेर खाने । दिनमा आएर खेलवाड गर्ने सुन्दर सत्तल ।
भोक र थकाइले सतायो । पारिपट्टि गएँ । एक कप चिया खाएँ । अरू खान डर लाग्यो कोरोनासँग । त्यसपछि डाक्टरलाई सोधेँ, ‘सकियो हजुर ।’


भन्नुभो, ‘सकिनै आँट्यो । आधा आधा घण्टामा मात्रै पाइन्छ यता आउने बस । चढि हाल्नुस् ।’ हुन्छ । भन्दै हतारहतार भनेको बस लाग्ने ठाउँमा गएँ । लागेको रहेछ । चढेँ । भिड छैन तर खाली सिट पनि छैन । पाँच मिनेट जति पछि कुशादेवीतिर जाने बस हिँड्यो । माथि समाएर उभिएँ । पाउ थर्कराउँदैछन् । नाकमा मोहला लाको छु । बोल्न मिल्दैन । आँखा नाँचिरहेका छन् । नजिकैको सिटमा बसेकी आमैलाई भनेँ, ‘कुशादेवीमा रोक्न भनिदिनुस् है । म त्यही झर्छु ।’ हास्तै भनिन्, ‘म पनि त्यही झर्ने हो भइहाल्छ नि !’

एकैछिनमा उनले भनिन्, ‘कुशादेवी आइपुग्यो । झर्नुस् ।’ ‘हुन्छ’ भन्दै निस्केँ । हतारहतार स्वास्थ्यचौकीभित्र पसेँ ।

सूर्य र जै को लभ : डा. भित्रै हुनुहुन्थ्यो । म पसिनँ । बाहिरै बसेँ । उभिएर तल खेत वरपरको भू–दृश्य हेर्दैछु । डा.अनन्त दिउँसो छुटफुट भएका बिरामी हेर्दै हुनुहुन्छ भित्र । यतिबेला बेलुकाको चार बज्दै छ भन्छ घडी । भर्खरै खाजा खाइसकेर म यहाँ आएको छु । हेर्दैछु नयनाभिराम भू–दृश्यहरू –
आकाश । वन । डाँडापाखा । मनोरम । प्रकृति पराग । नौलो ठाउँ । नौलो परिवेश । गर्विलो आकाश । पावन पृथ्वी ।

उभिएको ठाउँदेखि अलि तल अलि पर खेत छ । माथिबाट तल झरेको खेत । कतै खनेको । कतै खाल्डाखुल्डी परेको । कतै बाँझो । आधा गरो खनेको । आधामा हरियो जौ जस्तो लहलह देखेँ । नजिकै उभिएका महानुभावलाई सोधेँ, ‘त्यो तलको हरियो गहुँ हो कि जौँ ?’

भन्नुभो, ‘दुवै होइन । त्यो ‘जै घाँस’ हो । गहुँ वा जौको जस्तै बिउ हुन्छ । किसानहरू खेत खाली भको बेला जैको खेती गर्छन् । जै को घाँस खाएपछि गाईभैँसीले धेरै दूध दिन्छन् भन्ने जनविश्वास छ ।’ धन्यवाद हजुर ।

हेर्दैछु म । जै घाँस काट्दै हुनुहुन्छ आमै । कोदालोले खेतको भित्तो ताछ्दै हुनुहुन्छ बा । एउटा गरामा मलका थुप्राहरू कालै । खेतभरी कालो काग बसेको अनुभूति हुन्छ । आधा जोतेका, आधा बाँझै खेतका कुनै कुनै पाटा । शिरानबाट पुच्छरसम्म आँखा डुलाउँदा सुकिलो अनुहार भएको त्यो खेत चहचह लाग्छ ।

पर माथि नागीको टुप्पाका अग्ला वनको बीचबाट मतिर हेर्दैछन् सूर्यदेव ।
सूर्य भन्छन् मलाई, ‘बाबु किन यहाँ आएको ? ’

म भन्छु, ‘देवाधिदेव भास्कर ! म महान् परोपकारी मनोरोग विशेषज्ञ डा. अनन्तको मानव सेवा लीला हेर्न यहाँ आएको छु ।’
मुसुक्क हाँस्दै सूर्यले भने, ‘पर सेवा हेर्ने होइन, बाबु आफूले गर्नुपर्छ ।’

यति भनिसकेपछि पनि सूर्यले मेरो शरीर मुसारीरहे । म आहल्लादित र रोमाञ्चित भइरहेँ । भित्रबाट डाक्टर बाहिर आउनुभो । ‘हिडौँ ।’ ‘हुन्छ ।’ म उठेको देखेर त्यहाँको प्रकृति डोलायमान भो । उच्च स्वरमा खेत, भित्तो, घाँस, खाल्डा, थुपारेको मल, डाँडाको लालुपाते सबै कराउन थाले । मलाई पनि फिर्ने मन थिएन । बसौँ बसौँ लाग्दै थियो । समय । वाध्यता । हामी नजिकै राखेको गाडीभित्र पस्यौँ ।


स्वास्थ्यचौकीबाट हिँड्याैं । एकैछिनमा गाडीबाट निस्कौ भन्ने कुरा भो । गाडिभित्रबाट केही देखिएनन् दृश्यहरू । भताभुंग भएँ । हिँड्दा वरपर मज्जाले हेर्न नपाएँ मेरा आँखा बटारिन्छन् । के हरायो ? के हरायो भन्दै मसँग उफ्रिन्छन् । प्रकृतिसँग जिस्किनै नपाए के को घुमफिर । हामी लप्सेटारका रुद्रप्रसाद अधिकारीको घरको आँगनमा उभियौँ ।

अहिले म डा.अनन्तका बाको घर आँगनमा उभ्भिएको छु । घरमुनि । बाटोमाथि सुन्तला फलेका देखिन्छन् पहेँलपुर । मेरो दिङ्लाको घु¥यान नजिकको सुन्तला जति घ्वाक्कका भने देखिनँ मैले दाना । सुन्तला घारिमुनि उभ्भिएका मुलाका बोटहरू ठाडो घाँटीलार मतिर हेर्दैछन् । हरियो सिफन साडिलाका रायोसागका बोटहरू को आयो भनेर मतिर हेर्दैछन् ।

खेल ग्राउन्डः ‘त्यो खेल ग्राउन्ड हो ?’ तल, नजिकै, वनमुनि औँलाले देखाउँदै मैले सोधेँ, हो, त्यसलाई धारा चौर भन्छन् । खाली जमिन थियो । अहिले सदुपयोग भएको छ । खेल्छन् । तेही घरमा बस्ने पचहत्तरे बा अर्थात् भीम मगर छोरीहरूका लागि सुन्तला टिप्न थाल्नुभो । म जंगलतिर हेर्न थाले ।

चुलेत्रोः घरसँगै झ्याम्म, ठूला पात भएको एउटा रुख एक्लै अधिकारीको घर रुगेर बसेको रहेछ । यो रुख त दिङ्लामा थियो । कताबाट यहाँ आइपुगेछ । तेति टाढोबाट । मनमनै भनेँ ।

त्यो रुखको नाम के हो ?

चुलेत्रो । ठूला पात भएकाले हात्तीपाइलेको रुख पनि भन्छन् ।

डा.साब काठमाडौबाट यहाँ कति कि.मि. हो ?

भन्नुभो – काठ–बनेपा २६, बनेपा–पनौती ६ कि.मि., पनौति–कुशादेवी घरसम्म ४ कि.मि.
घरमाथि वनैवन देखेँ । रुखै रुख । आहा ! स्वर्गबाट झरेको वन । तेत्ति बेलै वनको टुप्पाबाट तल झरेर अस्ताउन आँटेका सूर्य हामी उभ्भिएतिर हेर्र्दै थिए । अधिकारी बाको घरलाई सूर्य पनि रुगि बस्ता रहेछन् । को आयो ? को गयो ? खोजीनीति गर्दा रहेछन् ।
‘त्यो डाँडालाई के भन्छन् ?’ ‘नागी डाडाँ हो ।’

ओहो ! मेरो दिङ्लाको घर भएको भूमि, जन्मस्थान नागी । भुर्र उडेर पनौतीमा आएर पो बसेछ ।
कसैले भन्यो, ‘त्यो डाँडाबाट प्याराग्लाइडिङ सुरु गरेथे । चालु भएको छैन ।’ मैले भनेँ, ‘चालु होला नि ।’
बाटोको डिलमा फर्किंदै नाँच्दै छ बाँस झ्याङ । कति मजाको बाँस झ्याङ नाच ।

निबुवा : लटररम्म ठूला ठूला दाना फलेको देखेँ घर नजिकै । ‘तेस्को के नाम ?’ मैले सोधेँ । ‘निबुवा ।’ ‘यो दुई प्रकारको हुन्छ । रातो र सेतो ।’

तोरीबारी : पनौतीको आत्मा रहेछ तोरीबारी । जताततै तोरीबारी । तोरी फुलेको बेला त तोरी बारीको दृश्य झनै रमणीय देखिँदोरहेछ । अधिकारी गाउँको पहेँलपुर तोरीबारी ।

‘यो अधिकारी गाउँ हो ?’

‘हो नि ।’ ‘सय घर जति छन् अधिकारीहरू ।’

चिया खाइसकेपछि गिलास आँटमा राख्दै भनेँ, ‘जाआँै रात प¥यो ।’

‘हुन्छ, हुन्छ ।’ हामी गाडीभित्र पस्यौँ ।

ग्रिनहिल सिटी पुग्दा रातीको आठ बजेको थियो ।

प्रतिक्रिया