सोती हत्याकाण्ड तीन वर्ष पूरा : ६ परिवारले अझै पाएनन् न्याय

रुकुम पश्चिम । अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको तीन वर्ष पूरा भएको छ । १० जेठ ०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको हत्याकाण्डका पीडितले भने अझै न्याय पाउन सकेका छैनन् ।

न्याय पाउने आशमा बसेका पीडितले न्यायालयमाथि नै शंका गर्ने अवस्था आएको छ । रुकुमजस्तो निकै कम मुद्दाको चाप हुने अदालतमा समेत तीन वर्ष पुगिसक्दा यो मुद्दा टुंगिएको छैन । एकै पटक ६ जनाको ज्यान गएको हत्याकाण्ड भएको तीन वर्षसम्म पनि मुद्दा किनारा नलाग्दा सीमान्तकृत समुदायले न्याय पाउन कठिन हुँदो रहेछ भन्ने देखिएको छ ।

जाजरकोट सदरमुकाम खलंगा बजारबाट । करिब १५ मिनेट उकालो पैदल बाटो हिँडेपछि भेटिन्छ नवराज विकको घर । सेतो रंगले सजिएको घरमा छोरालाई सम्झिँदै न्यायको पर्खाइमा बसेकी नवराजकी आमा भेटिन्छिन् । नवराजकी आमा उर्मिला विक जब आफ्नो छोराको कोठामा छिर्छिन् । भित्तामा टाँसिएको छोराको तस्बिर देखेर भक्कानिँदै उनी रुन्छिन् । कोठाभरी नवराजले खेलकुदमा हासिल गरेका प्रमाणपत्र, मेडल देखिन्छन् । छोराले नेपाल प्रहरीको लागि तयारी गर्दै गर्दा किनेका किताब देखिन्छन् । नवराजसँग गाँसिएका सपनाहरूले उनीभित्र दबिएको पीडालाई ब्युझाइदिन्छ ।

आजभन्दा ठिक तीन वर्ष पहिले आफ्नो प्रेमिकालाई लिन पाँच जना साथिहरूसहित नवराज जाजरकोट्बाट रुकुम पश्चिमको चौरजहारी आए तर त्यो सपना भेरी नदीसँगै विलिन भयो । नवराजसँगै जाजरकोटकै गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक, गोविन्दशाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपाली पनि थिए । अन्तरजातीय प्रेम सम्बन्धमा रहेका नवराज र उनका साथीहरूलाई त्यही आरोपमा सोती गाउँका कथित माथिल्लो जातका व्यक्तिहरूले कुटीकुटी हत्या गरेका थिए । उनीहरूलाई गाउँलेले घेरा हालेर लखेटीलखेटी घरेलु हतियारले प्रहार गरेका थिए । मृतक र घाइतेलाई हातखुट्टा बाँधेर भेरी नदीमा बगाइएको थियो । संसदीय छानबीन समितिले समेत प्रतिवेदन बुझाएको दुई वर्ष बितिसक्यो अहिलेसम्म पीडितले न्याय पाएका छैनन् ।

नवराजकी आमा भन्छिन्, ‘घटना घट्नुभन्दा ४–५ दिनअघि प्रेमिकाले बिहे गरेर लिन आउन भनेकी रहेछ त्यसपछि छोराले आफ्ना मनमिल्ने १९ जना साथीहरूलाई लिएर सोती पुगे । बेलुकी ५ बजे सोतीस्थित प्रेमिकाको घर नजिक पुगेपछि केटीसँग भेट भएन । युवाहरूलाई देख्ने बित्तिकै केटीको आमाले वडाध्यक्ष डम्मरबहादुर मल्ललाई फोन गरेर बोलाइन् । केही बेरपछि एक्कासि ४०–५० जनाको समूह आयो । नवराजसहितका टोलीलाई घेरा हालेर ढुंगामुढा बर्सायो । नवराजलगायत साथीहरू ज्यान जोगाउन भागे । गाउँलेहरूले उनीहरूलाई ढुंगामुढा, हँसिया, चिरपटले प्रहार गरे । भेरी नदी किनारासम्म लखेटे । घेरा हाले । युवाहरू सोती गाउँदेखि करिब तीन किलोमिटर तल आएपछि गाउँलेको आक्रमणमा परेर नवराजसहित ६ जनालाई मारेर भेरीमा फाले ।

न्याय खोज्दै काठमाडौं पुग्दा पनि न्याय पाएनाँै उर्मिला भन्छिन्, अब त न्यायको आस मर्दै गएको छ । कानुन अन्धो हुन्छ भन्थे हो रैछ । मेरो छोराको हत्या गर्नेलाई कानुनले कहिल्यै देख्दैन । घटना भएको तीन वर्षसम्म पनि फैसला नभएपछि पीडितहरूले न्यायको महसुस गर्न पाएका छैनन् । ६ जना मृतकका परिवार न्यायको प्रतीक्षामा छन् । घर भने शोकमा छ । घटनामा ज्यान गुमाएका नवराज विककी आमा न्यायको आस मर्दै गएको बताउँछिन् । अब कतै न्याय नपाइने त होइन भन्ने चिन्ताले सताइरहेको उनले बताइन् । रुकुम जिल्ला अदालतमा पटकपटक फैसलाको पेसी सरिरहेको छ । गत वैशाख २४ मा पेसी तोकिएकोमा जिल्ला न्यायाधीश विदेश भ्रमणमा रहेकाले जेठ ३० मा पेसी सारिएको छ । जेठ ३० गते रुकुम जिल्ला अदालतले उक्त दिन अन्तिम फैसलाको पेसी तोकेको छ । भेरीमा पानी जसरी बगेको छ, त्यसैगरी बगिरहेछ, नवराजका आफन्तका आँशुहरू । घरको पिडीमा बसेर आँशु बगाउनुको विकल्प छैन ।

जाजरकोट भेरी नगरपालिका–४ रानागाउँ अझै शोकमा छ । तीन वर्ष बित्दा पनि न्याय नपाउनुले दलित समुदायको लागि न्याय पाउन कति मुस्किल छ भन्ने प्रष्ट भएको अधिकारकर्मीहरू बताउँछन् । सोती गाउँलेहरूले लेखेटेर कुटपिट पश्चात हत्या गरी भेरीमा बगाइदिएको प्रहरीमा उजुरी परेपछि ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगायतको अभियोगमा मुद्दा दायर भएको थियो । ३४ जना नै पक्राउ परेकामा ११ जना उच्च र सर्वोच्च अदालतको आदेशले रिहा भएका र बाँकी २३ जना पुर्पक्षका लागि जेलमा रहेको जिल्ला अदालत, रुकुम पश्चिमले जनाएको छ । अदालतका अनुसार सो घटनाको यहि जेठ ३० गते अन्तिम फैसला हुने बताइएको छ ।

राना गाउँका सञ्जु विककी आमा सविता विक आफ्नो छोराको लखेटेर हत्या भएकाले सोती गाउँलाई नै सजाय हुनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो घरको जेठो छोरा मारिएको छ । हाम्रो सहारा खोसिएको छ । भेरीमा पौडी खेल्न नसकेर मृत्यु भएको झुटो आरोप रहेको बताउँदै विक बताउँछिन्, ६ जनाकै लागि भेरी तर्न कुनै समस्या थिएन । उनीहरू भेरीमै बढे हुर्केका हुन् । आफैँ नदीमा हाम फालेर मरेको भ्रम फैलाइएको प्रति आक्रोशित हुँदै सविताले भनिन्, ‘२० वर्षकी बुहारीको सिउँदो पुछियो, हाम्रो माया छुट्यो ।’ गाउँले लखेटी लखेटी भेरीमा फाल्ने अनि मारेर फालेको मान्छेले पौडी खेल्छ र ? मेरो छोरोसहित गाउँका पाँच जना मारिएको छ । दोषीलाई जन्मकैदको सजाय हुनुपर्छ । सवितालाई छोरा सञ्जुले नेपाल आर्मीमा भर्ना हुने वचन दिएका थिए । मृतक सञ्जुको पाँच वर्षको सानो छोरा छ । बुबा खोई भन्दै बालकले बोलाउँदा उनीहरू डाको छोडेर रुन्छन् ।
सञ्जु परिवारको पहिलो सन्तान थिए । आशा र भरोसाको खम्बा जेठो छोरा नै गुमाएपछि यो परिवारमा बैचैन छ । राना गाउँबाट देखिनेसोती गाउँको दृश्य देख्नासाथ ६ परिवारका मात्रै होइन् । सिंगो गाउँ नै शोकमा डुबिरहेको छ । ६ जनाको हत्याकाण्ड देशव्यापि बन्यो । तर राना गाउँ र सोतीलाई जसरी भेरी नदीले छुट्याएको छ त्यसैगरी यस घटना माथिको बुझाइ पनि नदीका दुई किनारा झै छन् । हत्या भएको तीन वर्ष पूरा हुँदा अझै पनि मृतकका आफन्त न्यायको पर्खाइमा छन् । तर, अझै पनि मुद्दाले किनारा पाउन सकेको छैन ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया