कांग्रेस रुपान्तरण अभियान जनकपुरबाट सुरु

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियान मधेश प्रदेशको जनकपुरबाट सुरु भएको छ । कांग्रेसको संस्थापन इतर पक्षीय तेस्रो पुस्ताका नेताहरूले बिहीबारदेखि जनकपुरबाट रूपान्तरण अभियान सुरु गरेका हुन् ।

उनीहरुले पार्टीका कमि–कमजोरी, विकृति–विसंति अन्त्यलाई अभियानको मुख्य एजेन्डा बनाएका छन् । कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले अभियानका क्रममा पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रूपान्तरणका लागि सातै प्रदेशमा वृहत् भेला र अन्तरक्रिया गरिने बताएका छन् ।

अभियानले कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउनुका साथै पार्टीमा नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र आमजनतामा नयाँ विश्वास जगाउने उनको भनाइ छ ।

तेस्रो पुस्ताका नेताहरुले जेठ १६ गते बागमती प्रदेशको काठमाडौं, जेठ २० मा गण्डकी प्रदेशको पोखरा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङमा प्रदेशस्तरीय भेला गर्दैछन् ।

यस्तै, जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला गरिने कार्यतालिका रहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया