पहिलोपटक गाडी पुग्दा स्थानीयद्वारा नाचेर स्वागत

रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका सडक सञ्जालमा जोडिएको छ । नगरपालिकाले वडा–१ को शाहीकुमारीमन्दिर नजिकैको चट्टान फुटाएपछि पालिकाको वडा–१ सडक सञ्जालमा जोडिएको हो । विकट वडा सडक सञ्जालमा जोडिएसँगै शनिबार पहिलोपटक यातायातका साधन सञ्चालनमा आएका छन् ।

भेरी कोरिडोरसँग प्रत्यक्ष सम्पर्क भएको नगरपालिका भए पनि वडा–२ देखि वडा–१ वडा जोड्ने सडक निर्माण गर्न पालिकालाई निकै सकस भएको थियो । शनिबार सडक निर्माण कार्य सकिएपछि वडा–१ मा पुगेका दुई वटा ट्रयाक्टर, डोजरका चालक सहचालक र जनप्रतिनिधिलाई स्थानीयले खुसी हुँदै फूलमालासहित पैसेरुले नाचद्वारा भव्य स्वागत गरेका थिए ।

चटानी क्षेत्र धेरै भएकाले दुई वर्षसम्म भिर फुटाउन नसक्दा वडा–१ र २ का नागरिक वडा–३ हुँदै एक दिन पैदल हिडेर पालिका आउन बाध्य थिए । अब भने उभोखोलाको चट्टान फुटाएपछि पालिका आउजाउ गर्न सहज भएको आठबिसकोट नगरपालिका–१ का वडा अध्यक्ष देवबहादुर घर्तीले आफ्नो चुनावी प्रतिबद्धता पूरा हुने क्रम जारी रहेको बताए । उनले आज पालिकाको सबैभन्दा विकट भएको वडाका सबै नागरिकलाई सडकमार्फत पालिका जोड्न पाएको भन्दै बाँकी कामहरू सम्पन्नका लागि सबैलाई सहयोग गर्न अपिलसमेत गरे ।

अघिल्लो सरकारले धेरै लगानी गरेको भए पनि चट्टानलाई फुटाउन नसक्दा यस वडाका नागरिकहरू पालिका पैदल आउन बाध्य थिए । ०७९ सालको स्थानीय निर्वाचनमा विजय भएसँगै आफू, पूर्वनगरप्रमुख र नगरपालिकाका नगरप्रमुखले साझा रूपमा प्रतिबद्धता गरेको र त्यहीअनुसार बजेट केन्द्रित गरेर सडक उभोखोला पुगेको जानकारी दिए । नगरपालिकाका नगरप्रमुख रवि केसीले सबै वडा सडक सञ्जालमा जोड्न निकै दुःख भएको बताए ।


भौगोलिक रूपमा निकै कठिन ठाउँ भएकाले सबै वडालाई प्रत्यक्ष पालिकाको केन्द्रसँग जोड्न समय लागे पनि अब भने सहज भएको बताए । अब सबै वडामा सडक पुगेका छन् । उनले भने, वडा–१ देखि ३ सम्मको सडक पनि आगामी आर्थिक वर्षमा सम्पन्न भएपछि पालिका भित्रका सबै बस्ती सडक सञ्जालमा जोडिने भएकाले बाँकी वर्षहरूमा मर्मत सुधारमा काम गर्ने नगरप्रमुख केसीले सौर्यदैनिकलाई जानकारी दिए ।

भौगोलिक रूपमा विकट मानिने यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न सडक निर्माण सामग्री डोजर हेलिकोप्टरमार्फत ०७८ सालमा ढुवानी गरिएको थियो । सडक सञ्जालसँग नजोडिएको यो क्षेत्रमा नगरपालिकाले डोजर ढुवानी गरेको थियो । अप्ठेरो भूगोलका कारण सर्वसाधारणले सडक खन्न सम्भव नभएपछि हेलिकोप्टरमार्फत ढुवानी गरिएको डोजरले दुई वर्ष अघिदेखि सडक खनिरहेको थियो ।
अब उमोखोलादेखि खदी र पालिकाको केन्द्र, सदरमुकाम र मुख्य राजमार्गको सडक सञ्जालमा जोडिएको छ । उक्त योजना साफेबगर, चैतेखारा, बारिङे सडकअन्तर्गत पर्दछ । यसअघि पनि नगरपालिकाको वडा–२ का विभिन्न भूभागमा हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरिएको थियो ।

प्रतिक्रिया