गाउँपालिकाको विकास र समृद्धिको लागि सहकार्य आवश्यक : अध्यक्ष अधिकारी

प्युठान । प्युठानको माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारीले गाउँपालिकाको विकास र समृद्धिका लागि सबैसँग सहकार्य गरेर अगाडि बढाउने बताएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७९–०८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले गाउँपालिकामा सेवाग्राहीले उठाएका जिज्ञासा, सल्लाह, सुझाव अनुसार नै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकामा समस्या तथा गुनासो भएमा वडाध्यक्ष, कर्मचारीहरु तथा अध्यक्ष, उपाध्यक्षलाइ भेटेर जतिबेला पनि आफ्नो गुनासो राख्न सकिने उनले बताए । उनले भने, ‘गाउँपालिकाबासीले उठाएका समस्या गुनासा र विषयबस्तुलाई संवोधन गर्न गाउँपालिकाले सदैव तयार रहने छौं ।’ निर्माणाधीन विकास योजनाहरुको प्रभावकारी ढंगले अनुगमनको काम भइरहेको जानकारी गराउदै जनताको सेवा, विकास निर्माणमा सधैं तत्पर भएर अगाडि बढ्नुपर्ने उनले बताए ।

आईतबार गाउँपालिकाको सभाहल सम्पन्न कार्यक्रममा गाउँपालिकामा चालू आर्थिक वर्षमा अहिलेसम्म भएगरेका गतिविधिको वारेमा आम नागरिकलाई जानकारी गराएको थियो भने सहभागीबाट आवश्यक सुझाव समेत संकलन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गाउँपालिकाले गरेका कामहरुको वारेमा प्रस्तुतीकरण गरेका थिए ।
स्वर्गद्धारी विकास केन्द्र प्यूठानको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नगरिकले आफ्ना समस्या तथा जिज्ञाशा समेत राखेका थिए ।

सार्वजनिक सुनुवाईमा स्वर्गद्धारी विकास केन्द्रले गाउँपालिकाका वडामा गरिएको स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुष्टी, सेवाको नियमितता, सेवाको गुणस्तर, लगाएतको विषयमा उठेका गुनासोको जवाफ आवश्यकता अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले दिए ।

गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकि ,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखाका कर्मचारी,कृयाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, नागरिक समाज, बुद्धिजीवी, साझेदारी संस्थाका प्रमुख तथा प्रतिनिधि स्थानीयबासी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साझेदार संस्था फूलबारी एकीकृत ग्रामीण विकास संस्थाको माण्डवी गाउँपालिकामा संचालित PERCAV परियोजना अन्तर्गत गाउँपालिकामा रहेका नीति तथा कार्यविधिहरुको कार्यान्वयन अवस्था बारेमा पत्रकार महासंघ प्यूठान अध्यक्ष सञ्जय रिजालले बिषयबस्तु प्रस्तुत गरेका थिए भने पत्रकार शसिधर भण्डारीले कार्यक्रम सञ्चालन रहेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया