यातायात व्यवसायीहरूले मनपरी भाडा लिन थालेपछि छड्के अनुगमन

बझाङ । जिल्लामा छोटा दुरीमा चल्ने सवारी साधनहरूले मनपरि भाडा असुल गरेको गुनासो आएपछि छड्के अनुगमन गरिएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको नेतृत्वको टोलीले जिल्लाको जयपृथ्बी राजमार्ग, खप्तडछान्ना गाउँपालिका जाने ग्रामीण सडक र बुंगल नगरपालिकाको बागथला बिजगडा सडक खण्डमा सञ्चालनमा रहेका यातायातका साधनहरूको छड्के अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय र यातायात व्यावसायिक समितिहरूले निर्धारण गरेको भाडा दर कायम भएको भए पनि यातायात व्यवसायीहरूले मनपरी भाडा असुल गर्दै आएका थिए ।

छड्के अनुगमनमा प्रमुख जिल्ला अधिकारी पाण्डे प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक नेत्र केसीलगायत ट्राफिक प्रहरीको टोलीले छड्के अनुगमन गरी नियम विपरीत सञ्चालन गरिएका जिपहरू र अटोहरूलाई कारबाही गरी कानुनी प्रक्रियामा आएर मात्र सञ्चालन गर्न सुझाव दिएको छ ।

अनुगमनको क्रममा मनपरि भाडा लिने जिपहरूलाई जरिवाना गरेको, रातो प्लेटका सवारी साधनहरूले समेत यात्रु ओसारेकाले कारबाही गरी यात्रु नबोक्न र यात्रुहरूलाई रातो प्लेटको सवारी साधनहरूमा नबस्न सुझाव दिएको र जिपहरूका छतहरू हटाउन लगाएको, यात्रुहरूलाई समेत जिल्ला प्रशासनले निर्धारण गरेको भाडा दरअनुसार तिर्न सुझाव दिएको र व्यवसायीले आनाकानी गरे प्रहरीलाई खबर गर्न सुझावसमेत दिएको बताए ।

उनले नियमविपरीत सञ्चालनमा रहेका १५ वटा जिप तथा अटोबाट मात्र २० हजार रुपैयाँ जरिवाना वापत उठाएको बताए । प्रजिअ पाण्डेले अनुगमनका क्रममा जिल्लाको जयपृथ्बी राजमार्गमा चल्ने अधिकांश अटो चालकहरूको लाइसेन्स नभई क्षमताभन्दा बढी यात्रुहरू ओसारेकाले नियमअनुसार लाइसेन्स लिएर सञ्चालन गर्न सुझाव दिनुका साथै भोलिदेखि सञ्चालन गरेको खण्डमा प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाउन स्थानीय प्रहरीलाई निर्देशनसमेत दिएका छन् ।

यसैबीच अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायी समितिको बैठकको निर्णयअनुसार निर्धारण गरेको भाडा दरसमेत सबै यातायात व्यवसायीहरूलाई अनिवार्य गाडीमा टाँस्न लगाइएको छ । टोलीले जिप तथा अटोमा यात्रा गरिरहेका यात्रुहरूलाई समेत निर्धारण गरेको भडाभन्दा बढी नतिर्न आग्रह गरेको छ ।

यातायात व्यवसायीहरूले डिजेलको मूल्य सरकारले घटाएको भए पनि स्थानीय व्यापारीले भने पुरानै मूल्यमा बिक्री गरेका कारणले आफूहरूले चर्को भाडा लिनुपर्ने बाध्यता सुनाए । जिल्ला प्रशासन, यातायात व्यवसायी र सरोकारवालाको बैठकबाट पक्की सडकमा प्रतिकिलोमिटर नौ रुपैयाँ र कच्ची तथा ग्रामीण सडकहरूमा प्रतिकिलोमिटर २० रुपैयाँ निर्धारण गरेको थियो । यातायात व्यवसायीहरूले निर्णयको अटेर गर्दै दोब्बर तथा तेब्बर भाडा असुल गर्दै आएका छन् ।

प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले निर्धारण गरेको भाडाभन्दा बढी नतिर्न सबैलाई सुझाव दिएको तथा कुनै पनि व्यवसायीले बढी भाडा असुल गरेको खण्डमा १०० मा फोन गरी गाडी नम्बर टिपाउन आग्रह गरे । जिल्ला प्रशासन कार्यालयले गरेको यस अभियानमा सर्वसाधारण नागरिक भने खुसी भएका छन् ।

प्रतिक्रिया