झापा । नेपालको नजिकको तेस्रो मुलुक बंगलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बंगलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बंगलादेशसँगको व्यापारमा ४५ अर्ब घाटा बेहोरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ५४ किलोमिटरको दक्षिण–पूर्वमा बंगलादेशको सीमानाका बंगलाबन्ध रहेको छ । २५ वर्षअघि नेपाल र बंगलादेशले भारतको फूलबारी नाका हुँदै काँकडभिट्टालाई बंगलाबन्धसँग पारवहन मार्गले जोड्ने ऐतिहासिक सम्झौता गरेको थियो । यसलाई नेपाल बंगलादेश पारवहन मार्गको रूपमा चिनिन्छ ।
भूगोलका हिसाबले नेपालभन्दा सानो बंगलादेशको जनसंख्या भने नेपालको भन्दा चार गुणा ठूलो छ । बंगलादेशको अथाह बजारलाई भौगोलिकरूपमा नजिक भएर पनि नेपालले आफ्नो अनुकूल बनाउन सकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्का नेपालसँग व्यापार सहजीकरणका लागि बंगलादेश निकै अग्रसर रहेको आफूले अनुभूति गरेको बताउँछन् । ‘२५ वर्षे व्यापार अवधिमा घाटा धेरै भयो होला’, नेपाल अदुवा उत्पादक संघका संस्थापक अध्यक्षसमेत रहेका खड्का भन्छन्, ‘नेपालबाट बंगलादेशमा सजिलै बजार पाउन सक्ने थुप्रै उत्पादन हामीसँग छन् । नेपालले त्यसको सही पहिचान गरेर निर्यातलाई प्रोत्साहित गर्ने ठोस कार्यक्रम ल्याउन सक्नुपर्छ ।’
बंगलादेशमा नेपालको कृषि उत्पादनमध्ये अदुवा, अलैँची र अम्रिसोको ठूलो सम्भाव्यता छ । बंगलादेशका व्यवसायी नेपाली उत्पादन आओस् भन्ने पक्षमा रहे तापनि तेस्र्रो मुलुकसम्म सामान लैजान नसकिएको खड्का बताउँछन् । नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन पारवहन मार्गमार्फत विगत २५ वर्षमा दुवै देशले व्यापारिक सहकार्यको अनुपम अनुभव हासिल गरेको बताउँछन् । ‘यस अवधिमा के कस्ता सामान आयात र निर्यात भयो, त्यसमा बजारको प्रतिक्रिया कस्तो रह्यो भन्ने विषयमा अब समीक्षा जरुरी छ’, बंगलादेशसँगको व्यापार प्रवद्र्धनमा निजी क्षेत्रबाट ठूलो योगदान पुर्याएका जैनले भने, ‘काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध पारवहन मार्गलाई अझ सुविधाजनक बनाउँदै व्यापारलाई दुवै देशका लागि लाभदायी बनाउन सरकार र निजी क्षेत्रले ध्यान दिन आवश्यक छ ।’
उनका अनुसार नेपालको अलैँची, अदुवा, सुन्तला, जडीबुटी, चियालगायतका कृषि वस्तुको बंगलादेश निर्यातको अथाह सम्भावना छ । अझ नेपालको ढुंगा र गिट्टीसमेत बंगलादेश निर्यात गर्न सकिने अवसर छ । हालसम्म बंगलादेशले भारत र भुटानबाट ढुंगा र गिटी आयात गर्दै आएको छ ।
०५४ भदौ १४ गते पूर्वी नाका काँकडभिट्टामा नेपाल र बंगलादेशका परराष्ट्र मन्त्रीहरूको उपस्थितिमा काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध पारवहन मार्गको विधिवत् उद्घाटन भएको थियो । त्यतिबेला नेपालको व्यापारले बंगलादेशमा राम्रो नाफा गर्छ भन्ने आँकलनसमेत थियो तर सुरुकै वर्ष परिणाम निराशाजनक निस्कियो ।
आव ०५४/५५ मा नेपालले ११ लाख ५७ हजार ७ सय ६० मूल्य बराबरको मात्र मालसामान बंगलादेश निर्यात गर्न सक्यो भने बंगलादेशले १ करोड ३१ लाख २६ हजार २ सय ७४ मूल्य बराबरको मालसामान नेपालमा पठायो । बंगलादेशसँगको व्यापार पहिलो वर्षदेखि नै घाटामा गयो । पछिल्ला वर्षहरूमा नेपालले व्यापारमा उल्लेखनीय सन्तुलन ल्याउने प्रयास गरेको थियो । यसका कारण आव ०७५/७६ मा आइपुग्दा नेपालले १७ प्रकारका मालसामान बंगलादेशमा निर्यात गर्न थालिसकेको थियो ।
त्यतिबेला बंगलादेश निर्यात हुने प्रमुख वस्तुहरूमा मुसुरो दाल, अम्लिसो, कुचो, कत्था, प्लाइउड, पिना, टमाटर, फलफूल, हजमोला, गहुँको ब्रान, चिराइतो, ग्लुकोजलगायत थिए । नेपालले १७ प्रकारका मालसामान बंगलादेश निर्यात गर्दा उसले भने नेपाल पठाउने मालसामानको संख्या १ सय ५१ पुर्याइसकेको थियो । त्यससमध्ये सबैभन्दा बढी बंगलादेशले हल्का पेय पदार्थ नेपालमा पठाएको देखिन्छ ।
नेपालमा आयात हुने त्यस्ता मालसामानमा सोलार उपकरण, रनर मोटरसाइकल, कागज, तयारी कपडा, जुट, मकै, आलु चिप्स, चकलेट, नेप्किन, पानीका बोतल, ब्याट्री, औषधि, केमिकल, स्पेयर पार्टस्, नरिबल तेललगायत थिए । दोस्रो दशकमा आइपुग्दा नेपालले बंगलादेशमा निर्यात गर्ने मालसामानको सूची निकै साँघुरो बन्दै गयो । व्यापार पनि खुम्चिएर आकारमा निकै सानो भइसकेको छ ।
पारवहन मार्ग सञ्चालन भएयताको २५ वर्षमा नेपालले बंगलादेशसँगको व्यापारमा ४५ अर्ब घाटा बेहोरेको देखिन्छ । मेची भन्सार कार्यालयको तथ्यांक विश्लेषण गर्दा यस अवधिमा नेपालले ३६ अर्बभन्दा बढी मूल्यको नेपाली उत्पादन बंगलादेशमा निर्यात गरेको देखिन्छ ।
सो अवधिमा नेपालले ८१ अर्ब मूल्य बराबरको बंगलादेशी मालसामान नेपालमा आयात गरेको छ । नेपालले सो अवधिमा बंगलादेशसँगको व्यापार घाटामा सुधार ल्याउन सकेन । आव ०७५/७६ देखि बंगलादेशसँगको व्यापार घाटा निकै फराकिलो हुँदै गएको छ । आव ०७९÷८० को चैत मसान्तसम्मको तथ्यांक हेर्दा विगत पाँच आर्थिक वर्षमा नेपालले बंगलादेशसँग २८ अर्ब व्यापार घाटा गरेको छ । त्यसअघिको २० वर्षमा कूल व्यापार घाटा १७ अर्ब मात्र रहेको थियो । पछिल्ला वर्षहरूमा बंगलादेशमा नेपालको निर्यात व्यापार निकै रफ्तारमा ओरालो लाग्दै गएको छ ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार नेपालबाट बंगलादेशमा धेरै निर्यात हुने सामानमा मुसुरो दाल रहेको छ । त्यसपछि पशु आहारको कच्चा पदार्थ, तयारी खाद्य पदार्थ, अदुवा र जडीबुटी बंगलादेश निर्यात हुन्छ । दालको निर्यात घटनासाथ व्यापार घाटा फराकिलो बन्न थालेको हो ।
बंगलादेशबाट जुट तथा जुटबाट बनेका सामान, भटमासको पिना, कपडा, फलफूलका जुस, कस्मेटिकका सामान र चकलेट नै भारी मात्रामा आयात हुने गरेको छ । बंगलादेशसँगको व्यापार सहजीकरणका लागि नेपाल सरकारले काँकडभिट्टामा नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको कार्यालय नै सञ्चालन गरिरहेको छ ।
आयात र निर्यात हुने दुवै प्रकृतिका मालसामान ल्याउन र पठाउन कम्पनीको कार्यालयले काँकडभिट्टाबाट ५४ किलोमिटर टाढा भारतको फूलबारी नाकासम्म कर्मचारी खटाउने गरेको कम्पनीको काँकडभिट्टा शाखा कार्यालयका प्रमुख रोमनकुमार श्रेष्ठले बताए । ‘नेपालबाट बंगलादेशमा सामान निर्यात गर्नुप¥यो भने हाम्रा कर्मचारी सामान राखिएको गाडीसँगै पारवहन मार्ग पहिल्याउँदै बंगलाबन्धसम्म पुग्ने गर्छन्, उनले भने, ‘त्यसैगरी आयातित सामान सुरक्षित रूपमा नेपाल भित्र्याउन हाम्रा कर्मचारी कागजात मिलाउन फूलबारी र बंगलाबन्ध नाका नै पुग्ने गरेका छन् ।’
बंगलादेशसँगको व्यापार विस्तार हुने अपेक्षाका साथ काँकडभिट्टामा अत्याधुनिक सुक्खा बन्दरगाह निर्माण गरिएको छ । यसको सम्पूर्ण व्यवस्थापन ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिले हेर्दै आएको छ । सुरुमा नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाहको व्यवस्थापन हेर्ने गरेको भए तापनि केही वर्षदेखि ठेक्का सम्झौताका आधारमा निजी क्षेत्रको कम्पनीले बन्दरगाहको व्यवस्थापकीय जिम्मेवारी पाएको हो ।
कम्पनीका शाखा प्रबन्धक राजेश तिवारीले विगतमा बंगलादेशको व्यापारमा संलग्न गाडीहरू बाक्लै आउने जाने गरेको भए तापनि हाल निकै घटेको बताए । कम्पनीले बन्दरगाहभित्र राखिएका मालवाहक यातायातका साधनको पार्किङ शुल्कसमेत उठाउने गरेको छ । पाँच वर्षका लागि १३ करोड २३ लाखमा सुक्खा बन्दरगाह ठेक्कामा सञ्चालन गर्ने अनुमति पाएको उनले जानकारी दिए ।
इन्टरमोडल यातायात विकास समितिको काँकडभिट्टा कार्यालयकी प्रमुख अम्बिका सुवेदीले भन्सार परिसरभित्र रहेका मालसामान र यातायातका साधनको सुरक्षा गर्ने र गोदाममा राखिएका सामानको जिम्मेवारी समितिको हुने बताइन् ।
पछिल्लो समय नेपालले बंगलादेशसँग विद्युतीय ऊर्जाको व्यापारमा सहकार्य प्रस्ताव गरेको छ । यही जेठको पहिलो साता बंगलादेशको राजधानी ढाकामा आयोजना हुने द्विदेशीय संयुक्त बैठकमा दुवै देशका ऊर्जा सचिवले आपसी हितका विषयमा संवाद अघि बढाउँदैछन् । जलविद्युत्मा प्रगति गर्दै आएको नेपालले बंगलादेशसम्म विद्युत् निर्यात गर्न थाल्ने हो भने व्यापारमा सन्तुलन मात्र आउँदैन । यसले मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आयाम नै थपिदिनेछ ।
बंगलादेशसँगको व्यापार सन्तुलित ढंगले अघि बढाउने हो भने नेपालले बंगलादेशसँग निर्यातयोग्य वस्तुको सूची बनाएर भन्सार छुटको सुविधा माग गर्नुपर्ने नेपाल बंगलादेश चेम्बर एन्ड ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन बताउँछन् । उनी भन्छन्, ‘नेपालमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनलाई भन्सार छुट दिने बित्तिकै बंगलादेशसँगको हाम्रो व्यापारले गति लिन्छ ।’
प्रतिक्रिया