मुकेश कायस्थलाई सहिद घोषणा गर्न माग

काभ्रे । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थलाई राष्ट्रिय सम्मानका साथ सहिद घोषणा गर्न माग गरिएकाे छ । उपचारका क्रममा बुधबार राति ८ बजे निधन भएका कायस्थलाई सहिद घोषणा गर्न बनेपामा रहेका राजनीतिक दलहरुले माग गरेकाे हुन् ।

९ दलकाे बैठकले कायस्थलाई सहिद घोषणा गरि राष्ट्रिय सम्मान गर्न, मुकेशको निधनमा बनेपा नगरमा एक दिन शोक विदा दिन र अन्त्येष्टि खर्च बनेपा नगरपालिकाबाट बेहोर्न अनुराेध गरेकाे छ । मुकेश कायस्थको शवलाई बनेपा नगरपालिकाको प्राङ्गणमा ११:३० बाट राखिने त्यसपछि नगर परिक्रमा गरिने उग्र तिर्थ घाटमा अन्तिम सस्कार गरिने तयारी छ ।

मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको १४ वर्षका थियो ।

यसैक्रममा दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुस्ख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले भनेका छन्, ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रतिक्रिया