विदेशमा अलपत्र परेकाहरूको सारथि बन्दै सामी

इलाम । इलाम नगरपालिका–१२ की तिलकुमारी लिम्बू करिब एक वर्षअघि वेदैशिक रोजगारीका क्रममा ओमन पुगिन् । दलालमार्फत डेढ लाख रुपैयाँ तिरेर घरेलु कामदारका लागि ओमन पुगेकी लिम्बू साहुकै बन्धक बनिन् । साहुले घरेलु काममा लगाए, तर पारिश्रमिक दिएनन् । त्यति मात्र होइन साहुबाट मानसिक र शारीरिक यातनासमेत भोगिन् ।

यतनाबाट बच्न तिलकुमारी त्यहाँबाट भागेर एक कम्पनीमा काम गर्न थालिन् । त्यहाँ पनि पारिश्रमिक नपाएपछि लिम्बू विदेशी भूमिमा अलपत्रमा परिन् । उक्त कम्पनीबाट पनि भागेकी तिलकुमारीलाई स्वदेश मन लाग्यो । तर स्वदेश फर्कनका लागि मेनपावरमार्फत नगई दलालमार्फत गएको हुनाले त्यति सहज थिएन । राजदूतावासको सम्पर्कमा पुगेकी तिलकुमारीलाई स्वदेश फर्किन मन लागे पनि फर्किन वातावरण भएन । किनकी उनी मेनपावरमार्फत नभई दलालमार्फत ओमन पुगेकी थिइन् ।

उक्त घटनाबारे तिलकुमारीले परिवारमा जानकारी गराइन् । घटनाबारे परिवारले जानकारी पाएपछि स्वदेश फर्काउन पहल गरे पनि विदेश पठाउने दलालसँग सम्पर्क नरहेकाले सकेनन् । अन्ततः तिलकुमारीको परिवारको सम्पर्क इलाममा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमसँग भयो । सामीको निरन्तर पहलपछि तिलकुमारी आठ महिना अघि मात्र स्वदेश फर्कन सफल भएकी छन् ।

‘म विदेशमा अलपत्र भएपछि राजदूतावासको सम्पर्कमा पुग ेपनि दलालमार्फत गएको हुनाले स्वदेश फर्कन सकिरहेकी थिइनँ । परिवारमा खबर त गरियो तर उहाँहरूको प्रयास पनि सफल हुन सकेको थिएन’ तिलकुमारीले सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा भनिन्, ‘साइनोमा बोजु पर्ने इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू (दाहाल) मार्फत मेरो परिवारको सम्पर्क सामीसँग भएछ । त्यसपछि सामीले निरन्तर प्रयास गरेर म सकुशल घर फर्कन सफल भएकी छु ।’

उता देउमाई नगरपालिका–६ का सोमबहादुर राईको विदेश गएको तीन दिनमा नै मृत्यु भयो । उनको शव विदेशमा अलपत्र भयो । शब ल्याउन सोमबहादुरका भतिज चन्द्रबहादुर राईले एक सातासम्म निक्कै पहल गरे, तर सम्भव भएन ।

जब चन्द्रबहादुरको सम्पर्क सामीसँग भयो, तब चार दिनमा नै शव घरमा आइपुग्यो । त्यसका लागि सामीले जिल्ला प्रशासन कार्यलयमार्फत वैदेशिक रोजगार विभाग र अन्य सम्बन्धित निकायमा पहल गरेको थियो । ‘मेरो काकाको शव ल्याउन आफैँले गरेको पहल सफल नभएपछि सामीको सम्पर्कमा पुगे । उहाँहरूको पहलमा ४ दिनमा नै शव घरमा आइपुग्यो’ चन्द्रबहादुरले सञ्चारकर्मीसँग भने ।

सामीले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा इलाम नगरपालिका–८ अर्जुन तामाङको मुनाल ओभर्सिजले दुई वर्षदेखि नियन्त्रणमा लिएको राहादानी र एक लाख रुपैयाँ फिर्ता गराएको छ ।

यसरी सामीले वैदेशिक रोजगारीका क्रममा अनेक समस्या झेल्न बाध्य भएकाको उद्धारका लागि निरन्तर पहल गर्दै आएको छ । विदेशमा अलपत्र परेका, मृत्यु भएका, बेसाहारा भएकालगायत विभिन्न समस्यामा परेका नेपालीलाई सामीले घरसम्म ल्याउन पैरवी गर्दै आएको छ । सामीको यस्तो प्रयासबाट श्रम बेच्न गएका नेपालीहरूले राहत महसुस गर्न थालेका छन् ।

जिल्लाको इलाम, सूर्योदय र देउमाई नगरपालिका एवं माङसेबुङ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । यसअघि चार वर्ष सुरक्षित आप्रवासन (सामी) परियोजनाको नाममा सञ्चालन भए पनि गएको वर्षदेखि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको नाममा सञ्चालन भइरहेको हो ।

विदेशबाट कमाएर पठाएको रकमको सही उपयोग गराउन, उनीहरूको परिवारका सदस्यलाई उद्यमशीलता तथा मनोसामाजिक परामर्शका लागि पनि सामीले भूमिका निर्वाह गर्दै आएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पछिल्लो नौ महिनामा इलामबाट १२ हजार ५ सय ८७ जना व्यक्तहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । चालु आर्थिक वर्ष ०७९÷८० को साउनदेखि चैतसम्मको तथ्यांकमा सबैभन्दा धेरै कात्तिकमा १ हजार ६ सय ११ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया