‘कोसी’ प्रदेश नामको विरोध गर्दै किरातीहरूले मनाए उभौली

इलाम । प्रदेशको नाम ‘कोसी’ खारेज गरी पहिचानको आधारमा पुनः नामांकनको माग गर्दै किरात समुदायले शुक्रबार उभौली पर्व मनाएका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन किरात समुदायले प्रकृति तथा भूमि पुजेर हर्षोल्लासपूर्वक मनाउने उभौली पर्व यसवर्ष भने आन्दोलनको रूपमा मनाएका हुन् । पूर्वी नेपालमा बाहुल्यता रहेको किरात समुदायले यस वर्ष पर्व मनाउँदै ‘कोसी’ नाम सच्याउन माग गरेका छन् ।

किरात समुदायले बिहान प्रकृति एवं भूमिको पूजाअर्चना गरी दिउँसो इलाम सदरमुकाममा भेला भएर आन्दोलनको रूपमा सांस्कृतिक प्रदर्शन गरेका छन् । किरात समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजासहित प्रदेशको नाम ‘कोसी’ खारेज गरी पहिचानको आधारमा पुनः नामांकनको माग गरेका हुन् ।

आफ्नो सांस्कृतिक पोसाकसहित भेला भएका किराँत समुदायले लिम्बू जातिको च्याब्रुङ नाच (केलाङ) र राई जातिको साकेला सिली प्रस्तुत गरेका थिए । साथै उनीहरूले ‘प्रदेशको नाम कोसी खारेज गर’, ‘कोसी नाम मान्दैनौँ’, ‘कोसी नाम मुर्दावाद’ लगायतका नारासहित प्रदर्शन गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले प्रदेशको नामकरणका क्रममा राज्यले विभेदमा पारेका समुदायको पहिचान र अस्तित्वको मागलाई बेवास्ता गर्दै एकल जातीय आधारमा ‘कोसी’ नाम पारित गरेको भन्दै खारेज गरी पुनः नामांकन गर्न माग गरे । आदिवासी भूमिपत्रको पहिचान र अधिकारको मागलाई राज्यले सम्बोधन नगरे राजनीतिक अस्थिरता बढ्ने र त्यसले द्वन्द्व बढाउने चेतावनी दिँदैं वक्ताहरूले ‘कोसी’ नाम परिवर्तन गरी प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा पुनः नामकरण गर्न माग गरे । उनीहरूले प्रदेशको नाम घोषणा भएदेखि नै आन्दोलन गरिरहेको स्मरण गराउँदै पहिचानको आधारमा पुनःनामांकन नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

कार्यक्रममा किरात राई यायोख्खाका केन्द्रीय उपमहासचिव कृष्णकुमार खालिङ राई, पूर्व केन्द्रीय सदस्य प्रेम नाछिरिङ, किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष उमप्रसाद लिम्बू, इलाम अध्यक्ष बुद्धमाया सोङ्मी र नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य छिकिन तामाङले सम्बोधन गरेका थिए ।
उभौली पर्वमा बालीनाली सप्रियोस्, अन्नबालीमा किरा–फट्याङग्रा नलागोस्, प्रकृतिमा सहकाल देओस् भन्दै इष्ट देवतासँग पूजा र प्रार्थना गर्ने गरिन्छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा रहेको छ ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतरि उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको भनाई छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुंगीलगायत जंगली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मंसिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस वैशाख पूर्णिमादेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भन्ने गरिएको छ ।

प्रतिक्रिया