मुगुको च्यार्कु लेख पाटनमा हिमपहिरोमा तीन जना बेपत्ता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका -२ च्यार्कु लेखमा शुक्रबार हिमपहिरोमा परी तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जुम्लाको पातारासी गाउँपालिका-२ तप्फिका ४२ वर्षीय तारा सिंह सार्की, ३८ वर्षीय पूर्ण सार्की र सोही गाउँका ३६ वर्षीय वीर बोहोरा रहेका छन् ।

जेठ ४ गतेबाट लागू हुने गरी कार्मारोङ गाउँपालिकाले डोल्पु र मुगुम गाउँको पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि सर्वसाधारणका लागि खुला गरेको भएपनि १५ जना यसअघि नै त्यहाँ पुगेका पाइएको प्रहरीले जनाएको छ।सकंलन गर्ने समय अझै नभएको भन्दै गाउँपालिका र पुलु प्रहरीले टोलीलाई वैशाख १५ गते पुलु बजारबाट फर्काएको थियो ।

सोही दिन राति १५ जनाको टोली अर्को बाटो प्रयोग गरेर च्यार्कु लेख पुगेको जानकारी आएको र घटना शुक्रबार भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायव उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

आफ्ना तीन जना साथी हिमपहिरोमा परेर बेपत्ता भएको उनका साथीहरूले जानकारी दिएका थिए । घटनास्थल पुग्न समय लाग्ने भएकाले त्यहाँ प्रहरी पुग्न सकेको छैन । उद्धार तथा खोजी गर्नका लागि प्रहरीलाई त्यहाँ पुग्न करिब दुई दिन लाग्छ ।

प्रतिक्रिया