आन्दोलनमा रहेका महावीर पुनसँग सरकारले वार्ता सुरु गर्यो

काठमाडौं । माइतीघरमा आन्दोलनमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग सरकारले वार्ता सुरु गरेको छ ।

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारदेखि माइतीघरमा आन्दोलन सुरु गरेका थिए । पुनसँग आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारले वार्ता गरिरहेको छ ।

आइतबार रक्षा मन्त्रालयमा जारी वार्तामा मुख्य सचिव शंकरदास वैरागी पनि सहभागी रहेका छन् । उपप्रधानमन्त्री खड्काको सचिवालयका अनुसार पुनको तर्फबाट पनि केही व्यक्तिहरूको सहभागिता रहेको खड्काको सचिवालयले जनाएको छ ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका थिए । पुनले सरकारले आफ्ना माग पूरा नगरेसम्म सडकमै सुतेर आन्दोलन गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया