रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१ का वडाध्यक्ष देवबहादुर घर्तीले वृद्धभत्ता हिनामिना गरेको रहस्य बाहिर आएको छ । सोही वडाका राँगिला गाउँका ७५ वर्षीय ज्येष्ठ नागरिक नर्बिरे बुढाको १५ महिनाको भत्ता हिनामिना भएको परिवारका सदस्यले बताएका छन् ।
राँगिला निवासी ७५ वर्षीय बुढाले प्रभु बैंकमा रहेको खातामा जम्मा भएको १५ महिनाको ६० हजार वृद्धभत्ता कसैले निकालेको थाहा पाएपछि चकित परेका छन् । बुढा केही दिन अगाडि बैंकमा भत्ता निकाल्न आएका थिए । बैंकले खाताबाट वृद्धभत्ता निकालीसकेको जानकारी दिएपछि उनी रित्तो हात घर फर्किएका छन् ।
१५ महिनाको बुढाले वृद्धभत्ता बापतको रकम ६० हजार पाउनुपर्ने थियो । वडा कार्यालयले नै बैंकबाट पैसा झिकेको थाहा पाएपछि परिवारका सदस्यले छानबिनका लागि मागसमेत गरेका छन् । नर्बिरेका नाती मिलन बुढाले हजुरबुबालाई बैंकमा ल्याएर पैसा निकाल्न खोज्दा वडाध्यक्ष देवबहादुर घर्तीले वृद्धभत्ताको रकम लगिसकेको जानकारी वडा कार्यालयमा पुगेपछि थाहा पाएको बताए ।
बाजेलाई ल्याएर बैंकमा पैसा निकाल्न आएको थिएँ । बाजेको बैंक खातामा ६१ हजार नै पैसा गएको देखिन्छ’, उनले भने, ‘एक वर्षभन्दा बढी समयसम्म भत्ता नआएपछि वडामै गएर बुझ्दा नाममा विवाद भएर आएको छैन । भनेर सचिवबाट थाहा पाइयो । तर उभोखोलादेखि दुई दिन लगाएर बाजेलाई बोकेर आठबिसकोट–९ राडीबजारमा रहेको प्रभु बैंकमा गएर बुझ्दा त बाजेको नाममा जम्मा भएको ६१ हजार रुपैयाँ निकालिएको रैछ ।’
मिलन भन्छन, वडा अध्यक्ष र सचिवको मिलेमतोमा बाजेको वृद्धभत्ता बापतको रकम हिनामिना भएको छ । त्यही भत्ताको भरले बाजेको औषधि खर्च गर्नुपर्छ । तर, जनप्रतिनिधि र कर्मचारी मिलेर यसरी भत्ता नै खाएपछि औषधि उपचार गर्न गाह्रो परेको छ । वडा अध्यक्षसँग कुरा गर्दा उनले वैशाख २ गते दिन्छु भन्नुभएको थियो । तर अहिलेसम्म दिनुभएको छैन ।
‘यो गलत काम भएको छ । राज्यले दिएको वृद्धभत्ता पनि नपाउने अबस्था आउनु दुःखद् पक्ष हो, यो समस्या मेरो मात्रै होइन होला’, नाति मिलनले भने, ‘त्यहाँका धेरै वृद्धवृद्धाको यो समस्या हो । थाहा पाउनेले त भन्ने भए, थाहा नपाउनेलेलाई समस्या भयो ।’ ती वृद्धाका नाति मिलन वृद्धभत्ता हिनामिना भएको विषयमा बुझ्न आठबिसकोट–१ वडा कार्यालय पुगेका थिए ।
बुढाका पारिवारिक सदस्यले वृद्धभत्ता गायब भएको विषयमा वडा, नगरपालिकालाई पनि जानकारी गराएका छन् । वडा कार्यालयका कर्मचारीलाई मिलनले वृद्धभत्ता के भएको हो भनेर जानकारी मागेका थिए । १ नं. वडा कार्यालय र बैंकमा गएर बुझ्दा वृद्धभत्ता हिनामिना भएको कुरा सार्वजनिक भएको हो ।
वडा–१ का अध्यक्ष देवबहादुर घर्तीले काम गर्ने क्रममा त्रुटि हुन सक्ने स्वीकार गरे । उनले सम्बन्धित ब्यक्ति वडा कार्यालय आएमा समस्या समाधान हुने बताए । वडा सचिवको रोहबरमा बैंकबाट भत्ता निकालिएको स्वीकार्दै भने, गत पुसमा नर्बिरे बुढाको नाममा जम्मा भएको सामाजिक सुरक्षा भत्ता बैंकबाट निकालिएको थियो । लाभग्राहीको दोहोरो नाम परेकोले समस्या नआओस् भनेर तत्काल वितरण नगरिएको हो ।
सो घटना सार्वजनिक भएपछि सामाजिक सुरक्षा बापतको वृद्धभत्ता हिनामिना गरिएको आरोपमा परिवारका सदस्यले अख्तियारमा उजुरी हालेको जानकारी दिइएको छ । वडा अध्यक्षले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता हिनामिना भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया