उपत्यकाका बन्दै गरेका सडकमा पुल बनाइने

काठमाडौं । काठमाडौं उपत्यकामा विस्तारका क्रममा रहेका सडकमा पुल निर्माण अघि बढाउन लागिएको छ । विस्तारका अधिकांश सडक अन्तिम चरणमा पुगेकाले पुल बनाउने योजना अघि बढाइएको हो ।

चाबहिल–साँखु सडकमा तीन पुलको निर्माण अघि बढिसकेको छ भने जोरपाटी–सुन्दरीजल र कर्मनाशा खोला–गोदावरी सडकमा पुल निर्माणमा जाने गरी योजना अघि बढाइएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । साँखुमा तीन पुल निर्माण गर्न ठेक्का लागिसकेर अहिले सर्बे डिजाइनका क्रममा रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । साढे दुई वर्षमा सम्पन्न गर्ने गरी गत वर्ष ठेक्का भएको उनले बताए ।

जोरपाटी–सुन्दरीजल सडकमा चार ठाउँमा पुल निर्माणका लागि योजना बनाएर अर्थ मन्त्रालयसँग रकम माग गरिएको आयोजनाले जनाएको छ । गोकर्ण मन्दिर नजिकै, गोकर्ण बजार सकिनासाथ, नाम्गेन बसपार्क बजार र एउटा नयाँपाटीमा पुल निर्माण गर्ने योजना रहेको छ । माटो परीक्षण गरेर यतियति लम्बाइका पुलका लागि यति रकम आवश्यक छ भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाइएको सूचना अधिकारी जोशीले बताए । उनले भने, ‘विभाग हुँदै अर्थ मन्त्रालय पुगेको फाइल त्यही रोकिएको छ ।’

सडक निर्माणको अन्तिम काम भइरहेको हात्तीवनदेखि गोदावरी सडकमा दुई पुल निर्माण आवश्यक देखिएको आयोजनाले जनाएको छ । हात्तीवनमा कर्मनाशा खोलामा र गोदावरी पार्क नजिकै हाल कल्भर्ट रहेको स्थानमा पुल आवश्यक रहेकाले निर्माणको योजना बनाइएको उनले बताए ।

आयोजनाले पहिले सबै ठाउँमा सडक विस्तारको मात्रै काम अघि बढाइएमा अहिले साँघुरा पुल रहेका स्थानमा पुल निर्माण गर्ने योजना अघि बढाएको हो । २० र २२ मिटरमा सडक चौडा गर्ने गरी विस्तार सुरु भए पनि आधाभन्दा बढी सडकमा त्यसअनुसार निर्माण हुन सकेको छैन । पहिलेभन्दा केही चौडा भएको ठाउँमा पनि सडकभन्दा पुल साँघुरो भएकाले नयाँ पुल निर्माण गर्न लागिएको सूचना अधिकारी जोशीले बताए । उनले भने, ‘पहिले सडक मात्रै बनाइएकामा अहिले सडकअनुसारको पुल पनि चाहिएको छ ।’

सडक विस्तारको अन्तिम काम भइरहँदा स्थानीयबाट पनि विभिन्न माग भइरहेको छ । सुन्दरीजलमा स्थानीयले बसपार्क निर्माण गर्न माग गरेको आयोजनाले जनाएको छ । स्थानीयवासीले गरेको माग र स्थानीय तहको समन्वयमा गत वर्ष गोदावरी नगरपालिकामा सडक ढलान गरिएको थियो ।

यसैबीच सरकारले चक्रपथको दोस्रो खण्डका रूपमा कलंकीदेखि नयाँबसपार्क हुँदै बसुन्धरासम्मको सडक विस्तार गर्न थाले पनि कतिपय लामो दुरीका बस भने अझै पनि चक्रपथको मुख्य सडकबाटै गुड्दै आएका छन् । यसअघि कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म सडक विस्तार गरेको चिनियाँ पक्षले दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धरासम्म सडक विस्तारका लागि तयारी थालेको हो ।

तयारीसँगै सडक वरपर मिचेर बनाइएका संरचना हटाउनाका साथै निर्माणस्थलसमेत खाली गर्न लागिएको छ । अहिलेसम्म सो स्थानमा ८० प्रतिशत निर्माणस्थल खाली भइसकेको सडक विभागले जनाएको छ । यसरी दोस्रोचरणको सडक विस्तारका लागि निर्माणस्थल खाली गर्न सुरु गरिरहँदा लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीसाधन भने निर्माण भइरहेको सडकबाटै गुड्ने गरेका छन् ।

अहिले काठमाडौंबाट चितवन, नवलपरासी र भैरहवा जाने माइक्रोबस कलंकीको मुख्य सडकबाट गुड्दै आएका छन् । यस्तै पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायत क्षेत्रमा चल्ने माइक्रोबस गोंगबुदेखि नयाँ बसपार्कबीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् ।
यस्तै धादिङ, रसुवा र नुवाकोट जाने सवारीसाधन माछापोखरी तथा गोरखा चल्ने माइक्रोबस बालाजु क्षेत्रबाट चल्ने गरेका छन् । रातीको समयमा चल्ने ठूला बससमेत गोंगबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउबाट चल्ने गरेका छन् । काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्न काठमाडौँ महानगरपालिकाले ०५६ सालमा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस भने अहिले पनि मुख्य सडकलाई बसपार्क बनाएर सञ्चालन हुँदै आएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी पृथ्वी राजमार्गमा चल्ने माइक्रोबसलाई व्यवस्थितरूपमा सञ्चालन गर्न आफूहरू लागिपरेको बताउँछन् ।

‘राज्यले नीतिगतरूपमा सबै सवारी साधनलाई नयाँ बसपार्कभित्र जान अनिवार्य गरे हाम्रा कम्पनीका सवारी साधनलाई नयाँ बसपार्कभित्र जान कुनै समस्या छैन’, उनी भन्छन् । सरोकारवाला निकाय बसेर सार्वजनिक बस व्यवस्थापनका लागि छलफल गर्नुपर्नेमा अहिलेसम्म नगरेको र माइक्रोबसलाई व्यवस्थितरूपमा सञ्चालन गर्न आफ्नो कम्पनीलाई अहिलेसम्म कुनै निकायले छलफल र समन्वय नगरेको अध्यक्ष केसी उल्लेख गर्छन् ।

‘काठमाडौंभित्रको सडक राम्रो हुनुपर्छ, माइक्रोबस र अन्य बस व्यवस्थापन राम्रो हुनुपर्छ भन्ने हाम्रो पनि माग हो, सार्वजनिक बस व्यवस्थापनका लागि हामी बाधक बन्दैनौँ’, उनी भन्छन् । काठमाडौंबाट हाल पृथ्वीराजमार्ग भएर ६ सय सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठ चक्रपथ विस्तारको काम सुरु भएपछि सडकको वरिपरिबाट सञ्चालन हुँदै आएका सवारी साधनलाई नयाँबसपार्क भित्रबाट सञ्चालन गर्नेगरी काठमाडौं महानगरपालिकाले गृहकार्य गरेको बताउँछन् ।

‘काठमाडौं महानगरपालिकाले लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन पार्किङका लागि नयाँ बसपार्कमा १ सय ६१ रोपनी जग्गा उपलब्ध गराएको छ, सबै सवारी साधन बसपार्कभित्रबाट सञ्चालन गर्नुपर्छ भनेर महानगरपालिकाले काम गरिरहेको छ’, उनी भन्छन् । नयाँ बसपार्कभित्र काठमाडौं भित्रिने सवारी साधन नअटाए त्यसको विकल्प खोजिने विज्ञ श्रेष्ठको भनाइ छ ।
ट्राफिक प्रहरीले काठमाडौं महानगरपालिका, यातायात व्यवसायी, यातायात व्यवस्था विभागलगायत सरोकारवाला निकायसँगको छलफलमा रातीको समयमा सञ्चालन हुने सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गराउने निर्णय गरे पनि कतिपय सवारी साधन भने अहिले पनि चक्रपथ वरपरका सडकबाट सञ्चालन हुँदै आएका छन् ।

जनकपुर, वीरगञ्ज, बारा, पर्सालगायत क्षेत्रमा चल्ने रात्रिकालीन सवारी साधन अहिले पनि गौशालाबाट चल्दै आएका छन् । यस्तै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन पुरानो बसपार्क हुँदै कोटेश्वर सडक किनाराबाट सञ्चालन हुँदै आएका छन् ।
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले वडा–२६ को गोंगबुस्थित विष्णुमती खोला किनारामा १ सय ६१ रोपनी जमिनमा झण्डै दुई हजार सार्वजनिक सवारी साधन अट्न मिल्ने पार्किङ बनाए पनि कडा नीति नहुँदा अधिकांश सवारी साधन सडकबाटै सञ्चालन हुँदै आएका हुन् ।

काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दुरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको छ ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट लामो दुरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमै समस्या हुने गरेको बताउँछन् । ‘लामो तथा छोटो दुरीका सवारी साधन गोंगबुस्थित नयाँबसपार्क र पुरानो बसपार्कबाट सञ्चालन हुनुपर्छ, साँघुरो सडकमा जथाभावी सवारीसाधन पार्किङ गर्दा लामो समयसम्म सवारी जाम हुने गरेको छ’, उनी भन्छन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकामा १९ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ७ सय हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय मुलुकको संघीय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको संख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

प्रतिक्रिया