‘मिसन ग्रासरुट’ पार्टीभित्रको आन्तरिक समस्या पहिल्याउने अस्त्र : केन्द्रीय सदस्य रावल

कालिकोट । नेकपा (एमाले) केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्वसामाजिक विकासमन्त्री दल रावलले ‘मिसन ग्रासरुट’ अभियान पार्टीभित्रको आन्तरिक समस्या पहिल्याउने अस्त्र भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल कालीकोट शाखाले मान्ममा आयोजना गरेको शुभकामना आदानप्रदान तथा फेरि भेटौँला कार्यक्रमलाई संवोधन गर्दै कालीकोटका केन्द्रीय प्रतिनिधिसमेत रहेका रावलले यस्तो बताएका हुन् ।

पार्टीले देशैभर सञ्चालन गरेको अभयानले पार्टी र देशका सबै वस्तीहरुका समस्याको पहिचान गर्ने काम भएको बताएका रावलले समृद्ध देश बनाउने कामको नेतृत्व एमाले बाहेक अन्य कुनैपनि दलले गर्न नसक्ने ठोकुवा गरे ।

‘राजनीतिक दललले देशैभर एकै समय पार्टीका सांगठनिक र सामाजिक विषयमा केन्द्रीय नेताहरु परिचलान गरेर ठूलो अध्ययनको काम यो अभियानमा भएको छ’, पूर्वमन्त्री समेत रहेका एमाले नेता रावलले भने, ‘पार्टी सँगसँगै देश र जनताका वास्तविक समस्यामा आधारित नीति तथा कार्यक्रम निर्माणका लागि यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्छ ।’

पर्टीभित्रको दुई लाइन संघर्षका नाममा केही समस्या टोल कमिटीसम्मै भएको जानकारी सबैतिरबाट आएको बताएका रावलले यस्ता समस्याको समाधान गर्न पार्टी केन्द्रले फेरी यस्तै खाल अर्को अभियान सञ्चालन गर्नुपर्ने तर्क गरे ।

कर्णाली जस्तो प्राकृतिक सुन्दरता बोकेको प्रदेशलाई प्रतिव्यक्ति आय बढाउनेतर्फ नेकपा एमालेको प्रमुख यजेन्डा हुने दाबी उनले गरे । उनले अभियानका क्रममा कालिकोट बासिन्दाले एमालेलाई दिएको माया र शुभेक्षाको प्रशंसा गरे ।

कालिकोटको विकट बस्तिकी ९० वर्षीया वृद्धाले पार्टी सदस्यता पाउँ भनेर आग्रह गर्दा आफूलाई निकै खुशी लागेको बताएका रावलले एमालेको नेतृत्वमा तीनै तहका सरकार बने समृद्धिको सपना पुरा हुने दाबी गरे । कर्यक्रमलाई सम्बेधन गर्दै केन्द्रीय प्रतिनिधि तर्कबहादुर शाहीले पार्टीमा देखिएका समस्या समाधान गरी पार्टी संगठनलाई चुस्त र दुरुस्त राख्न अभियान सञ्चालन गरिएको बताए ।

अभियानको रिार्पेटका आधारमा हेरक स्थानीय तहमा पार्टीभित्र कारवाही गर्नुपर्ने र प्रोत्साहित गर्नेको सूची प्रदेश र केन्द्र पार्टीमा प्रतिनिधिले दिएको बताएका शाहीले त्यसका आधारमा पार्टी केन्द्रले ठोस नीति लिने विश्वास व्यक्त गरे ।

एमाले कालिकोटका अध्यक्ष जसीप्रसाद पाण्डेको अध्यक्षतामा सञ्चालन गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रेस चौतारी नेपाल कालिकोट शाखाले ‘फेरि भेटौँला’ र पत्रकार भेटघाट कार्यक्रमको समेत आयोजना गरेको थियो ।

कार्यक्रममा नेताहरुले कर्णाली करिडोर, सुनथराली विमानस्थल, तिला र फुकोट हाइड्रो पावस परियोजना, दैलेख–महाबु–चिलखाया सडकलगायतका भौतिक पूर्वाधारका विकास र पर्यटकिय क्षेत्रहरुको विकासमा जोड दिएपछि मात्रै कालिकोट समृद्धि हुनेमा जोड दिएका थिए ।

गएको फागुन ५ गतेबाट सुरू भएको पार्टी सुदृढीकरण तथा विस्तार अभियान मिसन ग्रासरुटको जिल्ला समिक्षा सकिए लगत्तै केन्द्रीय प्रतिनिधि प्रदेश र केन्द्रको समिक्षामा जाने भएपछि एमाले कालिकोट र प्रेस चौतारी कालिकोटले यस्तो कार्यक्रमको आयोजना गरेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया