नयाँ वर्षमा ‘माङमालुङ कृषि तथा पर्यटन महोत्सव’

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले नयाँ वर्ष २०८० को अवसरमा धार्मिक एवं पर्यटकीयस्थल माङमालुङमा माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । माङसेबुङ गाउँपालिका–२ र ६ को संगमस्थलमा रहेको माङमालुङमा वैशख १ र २ गते महोत्सव आयोजना गर्न लागेको हो । गाउँपालिकाले स्थानीय कृषि उत्पादनसँगै माङमालुङको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको जनाएको छ । स्थानीय किरणकुमार राईको अध्यक्षतामा माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजक समिति गठन गरी कामलाई तीव्र पारेको छ ।

महोत्सवको आकर्षणको रूपमा माङसेबुङ गाउँपालिकाभित्र पाइने कृषिजन्य उत्पादनहरूको प्रदर्शन र बिक्रीवितरण रहनेछ । त्यसका लागि स्टलहरू निर्माण भइरहेका छन् । महोत्सवले यहाँ उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनका लागि सहयोग पुग्ने आयोजकले अपेक्षा राखेको छ ।

OLYMPUS DIGITAL CAMERA

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा मेलिन राई, ताराप्रकाश लिम्बू, रुक्साना लिम्बू, नुमा राई, निमा तामाङलगायत अन्य स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ ।

कार्यक्रममा विभिन्न जातजातिको संस्कृतिक पहिचान झल्किने नाचहरूको प्रस्तुति रहनेछ । लिम्बू जातिको सांस्कृतिक नृत्य च्याब्रुङ नाच (केलाङ) र राई जातिको साकेला नृत्यसँगै विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरूको प्रदर्शनी हुने महोत्सव आयोजक समितिका सचिव कमल कार्कीले जानकारी दिए । महोत्सवको अर्को मुख्य आकर्षण एक औंलाले हल्लिने ढुुंगा (चक्रशिला) रहेको छ । साथै विविधत प्राकृतिक मनमोहक दृश्यहरू महोत्सवका अन्य आकर्षण रहनेछन् ।

महोत्सवमा डेढ लाखदेखि दुई लाख पर्यटक भित्र्याउने उद्देश्य आयोजकको रहेको छ । महोत्सवबाट यहाँका पर्यटकीय क्षेत्रका प्रचारप्रसार गरी विश्वमा चिनाउने लक्ष राखिएको आयोजकले जनाएको छ ।

छुट्टै मौलिक पहिचानको माङमालुङ

माङमालुङ इलाम जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलहरूमध्ये एक प्रसिद्ध ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो । माङमालुङ इलाम सदरमुकामदेखि करिव १५ कोष पश्चिममा अवस्थित छ । धार्मिक एवं पर्यटकीय महत्व बोकेको माङमालुङ समुन्द्री सतहबाट २ हजार १ सय मिटरको उचाइमा पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ माङसेबुङ गाउँपालिका–२ र ६ को संगम स्थलमा अवस्थित छ । यो करिब १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

माङमालुङको छुटै मौलिक पहिचान र चिनारी रहेको छ । माङमालुङ ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको एक पवित्र धार्मिक क्षेत्र मानिन्छ । विविधताले भरिपूर्ण मनमोहक माङमालुङ घुम्न आउने जो कोही पनि यसको वर्णन गर्न चुक्दैनन् ।

OLYMPUS DIGITAL CAMERA

यहाँ उधौली र उभौलीमा गरी वर्षामा दुईपटक पूजापाठ हुने गरेको छ । विशेष गरी किराँत धर्मावलम्बीहरूको उपस्थिति रहने गरेको भए पनि यस क्षेत्रमा सबै प्रकारका धर्मावलम्बीहरू आउने गर्दछन् । सबै प्रकारका धर्मावलम्बीहरूका लागि माङमालुङ आस्थाको केन्द्रविन्दु बन्न पुगेको छ । यहाँका मठमन्दिरमा बलि पूजा नगर्नु यसको प्रमुख विशेषता हो । पूजा आजाका लागि यहाँ सबै धर्मावलम्बीहरूले सात्विक तरिका अपनाउँछन् ।

यहाँ विभिन्न आकृतिका ढुंगा देख्न पाइन्छ । यी शिला पत्थरमा पनि विभिन्न आकृति प्राकृतिक रूपमा कुँदिएका छन् । यहाँका शिला पत्थरमा कुँदिएका विभिन्न पशुपक्षीदेखि देवीदेवताको आकृति हेर्दा यो ठाउँ अदभूतस्थल हो भन्ने भान गराउँछ । यो ठाउँ अहिंसोपाषक गुरु ज्योतिनन्दको तपस्यास्थल पनि हो । ज्योति नन्दपछि अन्य थुप्रै गुरुहरूले यहाँ तपस्या गरेको बताइन्छ ।

माङमालुङमा औपचारिक पूजा गर्न थालिएको साढे तीन दशक जति भएको पुराना पाका बताउँछन् । यसको उत्पति भने तीन सय वर्षअघि भएको अनुमान स्थानीय बासिन्दाको छ ।

एक औँलाले हल्लिने ढुुंगा (चक्रशीला)

अँगालोले फेरो पु¥याएर उचाल्न नसकिने विशाल ढुुंगा, एउटै औँलाले हल्लाउन सकिन्छभन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, माङमालुङमा रहेको यो ढुुंगाले जो कोहीलाई अचम्मित बनाइरहेको छ । माङमालुङ पुग्ने जो कोही पनि यो अनौठो ढुुंगाको रहस्यमा परेर फर्कन्छन् । यो ढुुंगाको छुट्टै आकर्षण छ । यसलाई स्थानीयले चक्रशिला नामकरण गरेका छन् । गोही आकारको ढुुंगामाथि अडिएर रहेको सो ढुुंगालाई एकै औँलाले सजिलै हल्लाउन सकिन्छ तर त्यहाँबाट हटाउन भने सकिँदैन ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण

माङमालुङ प्राकृतिक सौन्दयले भरिपूर्ण क्षेत्र हो । यहाँ विभिन्न प्रजातिका वनस्पति, बोटविरुवा, जीवजन्तु, राचुरुंगी, रंगीचंगीहरू फूल नजिकबाट नियाल्न सकिन्छ । यो ठाउँ सूर्योदय र सूर्यास्त दृश्यावलोकनका लागिसमेत उपयुक्त क्षेत्र हो । यहाँबाट हिमशृखलादेखि तराईका विभिन्न क्षेत्रको नजर गर्न सकिन्छ । वनभोजका लागि उपयुक्त स्थलसमेत उपलब्ध छ । यसका साथै माङमालुङ चिया बगानले यस क्षेत्रका आगन्तुकलाई प्राकृतिक सुन्दरतामा भुलिन थप मद्दत गर्छ ।

विजुवानी ढुुंगा (थालाचेप्पा)

किंवदन्तीका अनुसार विगतमा यो डाँडामा रहेको पोखरीको नागले बटुवा र गोठाला, दाउरा घाँस गर्न जाने स्थानीय बासिन्दालाई दुःख दिने गर्दथ्यो । नागले हैरानी दिएकै समयमा यो क्षेत्रमा एक जना माङमा (विजुवानी महिला) आइपुगिन् । स्थानीयवासीले माङमासमक्ष नागले हैरानी पारेको दुःखेसो गरे । तब माङ्ले स्थानीय वासीलाई नागको पीडाबाट मुक्त गराउने वचनबद्धता गरिन् ।

स्थानीयलाई आफू मरे दूध बग्ने र नागको मृत्यु भए रगत बग्ने बताएर उनी नागसँग संघर्ष गर्न पोखरीमा पसिन् । पोखरीमा पस्नुअघि उनले पोखरी छेउमा रहेको शिलामा घाम तापिरहेको नागलाई काँसको थालले प्रहार गरिन् । यो शिला सात चिरा भयो । जुन अझै हेर्न सकिन्छ । त्यसपछि नाग पोखरीमा पस्यो । माङ्मा पनि पोखरीमै पसिन् । भीषण भिडन्त भयो । अन्ततः पोखरीमका रगत देखियो । तापनि नागको मृत्यु भने सम्भव भएन । नाग पोखरीबाट भागेर अन्यत्र गयो ।

यहीबाट यस ठाउँको नाम माङ्माले नाग भगाउने क्रममा शक्ति प्रदर्शन गरेको ढुंगा (लुङ) लाई आधार मानेर वान्तवा नेपाली भाषामा माङमालुङ रहन गएको हो । यसलाई लिम्बू नेपाली भाषामा थालाचेप्पा पनि भन्ने गरिएको पाइन्छ । त्यही समय नागको रगतले पोखरीबाट रगतसहितको पानी बगेर खोल्समा मिसिएकाले अपभ्रंश भएर खस नेपाली भाषामा रत्तुवा खोलाको नामकरण भएको मानिन्छ । यो खोलाको शिर माङमालुङ, ढेङगुरे डाँडा र तीनथुम्की डाँडा हो ।

कसरी पुग्न सकिन्छ माङमालुङ

माङमालुङ पुग्न इलाम जिल्ला सदरमुकादेखि पैदल हिँडे एक दिन लाग्न सक्छ । सदरमुकामदेखि पाँचथरको सीमावर्ती राँकेसम्मा पक्की र त्यसपछि, घुर्पिसे पञ्चमी, रवी हुँदै कच्ची सडकमार्फत माङमालुङ पुग्न सकिन्छ । अर्को बाटो इलाम सदरमुकादेखि नेपालटार हुँदै मंगलबारेसम्म पक्की, त्यसपछि गजुरमुखीसम्म कच्ची र पुनः इभाङदेखि चतुरेसम्म पक्की हुँदै गाडीबाट पनि पुग्न सकिन्छ । झापाको दमकदेखि गाडी चढे रतुवा खोलाको किनारैकिनार त्यसपछि माङसेबुङ भएर दुई घण्डामा माङमालुङ पुग्न सकिन्छ । यो मोटरबाटो निर्माणाधीन दमक रवि सडक (फाल्गुनन्द मार्ग) हो । दकमदेखि चपेटीसम्म कालोपत्रे र त्यसपछि कच्ची सडक पार गर्नुपर्ने हुन्छ ।

पैदल यात्रुले इलाम सदरमुकामदेखि एकदिनमा पुग्न सकिन्छ । दमक र बेलडाँगीबाट अनि अर्को मोरङको मधुमलाबाट पेरुँगे, टोड्के कुसुन्डे हुँदै आठ घण्टाको यात्रा तय गर्नुपर्छ । यो बाटो पदयात्राको लागि आर्कषक गन्तव्य बन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । यसका साथै माङमालुङ क्षेत्र भएर इलाम र पाँचथरको सीमावर्ती राँके भएर धनकुटाको राजारानी हुँदै सुनसरीको धरान जोड्ने मोटरबाटो निर्माणधीन छ ।

प्रतिक्रिया