दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाले कार्यालय प्रमुख र सूचना अधिकारीलाई अभिमुखीकरण तालिम दिएको छ । आमनागरिकले माग्ने सूचनालाई प्रभावकारी बनाउन पालिकाले कार्यालय प्रमुख र सूचना अधिकारीलाई तालिम दिएको हो ।
भगवतीमाई गाउँपालिकाको आयोजना, राष्ट्रिय सूचना आयोगको सहजीकरण तथा नवप्रवर्धन साझेदारी कोष प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा ‘व्यावसायिक कृषि, पशुपालन र पूर्वाधार, समृद्ध भगवतीमाई गाउँपालिकाको आधार’ भन्ने नाराका साथ सार्वजनिक निकायका कार्यालय प्रमुख र सूचना अधिकारीलाई सूचनाको हकसम्बन्धी अभिमुखीकरण शनिबार गाउँपालिकाको सभा हलमा सम्पन्न गरिएको भगवतीमाई गाउँपालिकाका सूचना अधिकारी प्रेमबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रमको सहजीकरण गर्दै कार्यक्रमका प्रमुखअतिथि एवं राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त माननीय रत्नप्रसाद मैनालीले कस्ता निकायहरू सार्वजनिक निकाय हुन्, सार्वजनिक निकायको दायित्व के हो, सूचना अधिकारीको व्यवस्था र सूचना प्रवाह किन गर्नुपर्छ, राष्ट्रिय सूचना आयोगको काम कर्तव्य र अधिकार, सूचनाको संरक्षण र दुरुपयोग, सूचना दिँदाको प्रक्रिया, सूचना दाताको संरक्षण, सूचना नदिएमा हुनसक्ने सजाय र क्षतिपूर्तिको बारेमा सहभागीहरूलाई जानकारी दिएका छन् ।
अभिमुखीकरण कार्यक्रमको बारेमा प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले सार्वजनिक निकायका काम कारबाही प्रभावकारी कार्यान्वयनका लागि सुशासनको महत्व रहेकाले सार्वजनिक निकायका हरेक कामको निगरानीसँगै सूचनाहरू आमनागरिकसामु पु¥याउनका लागि यो कार्यक्रम गरिएको बताए । उनका अनुसार सार्वजनिक सूचना लुकाएर कसैलाई फाइदा हुँदैन सूचनाहरू कुनै पनि नागरिकले मागेको खण्डमा दिनुपर्छ । कहिलेकाहीँ पालिकामा सूचना माग्नेले प्रयोजन नखुलाई अस्पष्ट सूचना माग गर्दा दिन नसकिएको उनले भने । अब भगवतीमाई गाउँपालिका भित्रका सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गरेको हुँदा सूचना दिन कठिनाइ नहुने बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता गणेशप्रसाद शर्मा, वडा–२ का सचिव राजु विक लगायतले यस्ता तालिमले कर्मचारी जनप्रतिनिधिहरूलाई साक्षर बनाउने हुनले बेला बेलामा यस्ता कार्यक्रम हुनुपर्ने धारण राखेका थिए ।
गाउँपालिकाको निमन्त्रणमा काठमाडौंबाट पालिकासम्म आएका सूचना आयुक्त र कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गाउँपालिकाका उपाध्यक्ष मीनाकुमारी खड्काले गरेकी थिइन् ।
भगवतीमाई गाउँपालिकाले गाउँपालिका भित्रका सबै सामुदायिक÷निजी विद्यालय तथा सहकारीहरूलाई सूचना अधिकारी तोक्न भन्दै सूचना जारी गरेपछि ३४ वटा विद्यालय र तीन वटा सहकारीहरूले सूचना अधिकारी तोकिसकेका छन् । पालिकाभित्र २७ वटा सहकारी छन् जसमध्ये तीन वटाले सूचना अधिकारी तोकेको जानकारी गाउँपालिकामा पठाएका छन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ६ को उप–दफा (१)मा भएको सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह प्रयोजनका लागि सूचना अधिकारी तोक्न गाउँपालिकाले फागुन २३ गते सूचना जारी गरेको जनाइएको छ । त्यहीअनुसार शनिबार सय जनाभन्दा बढीको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमका सहभागीहरूले प्रत्येक सार्वजनिक निकायहरूले सूचना अधिकारीको व्यवस्था गर्ने, सूचना अधिकारीको विवरण सबैले देखिने स्थानमा राख्ने, सबै सार्वजनिक निकायमा नागरिक बडापत्र राख्ने, तीन÷तीन महिनामा स्वतः प्रकाशन सार्वजनिक गर्ने, वार्षिक प्रगति पुस्तिका तयार गरी सार्वजनिक गर्ने र प्रत्येक सार्वजनिक निकायले प्रत्येक वर्षको पहिलो चौमासिक अवधिमा सामाजिक परीक्षण गरिसक्ने प्रतिबद्धता जाहेर गरेका छन् । गाउँपालिकामा सूचना प्रवाह सहज बनाउन डिजिटल बडापत्रसमेत राखिसकिएको छ ।
प्रतिक्रिया