काँकडभिट्टाबाट ८ महिनामा साढे ४० करोडको अदुवा र सुठो भारत निर्यात

काठमाडाैं । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना) मा नेपालबाट ४० करोड ६१ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ४७ हजार ६ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ ।

गत आव २०७८/७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट १७ करोड १७ लाख २१ हजार रुपैयाँ बराबरको ५३ लाख ७४ हजार ५ सय रुपैयाँ केजी अदुवा र सुठो भारत निकासी भएको थियो । उक्त आर्थिक वर्षको १२ महिनामा भने ३२ करोड ५४ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको १ करोड १ लाख ७८ हजार १ सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो ।

यसैगरी चालू आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना) मा नेपालबाट ५ अर्ब ८४ करोड ४६ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको ७२ लाख २१ हजार ३ सय ७४ केजी अलैँची भारत निर्यात भएको छ । गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट ३ अर्ब २२ करोड २७ लाख २२ हजार मूल्य बराबरको ३५ लाख ८४ हजार २२ केजी अलैँची भारततर्फ निकासी भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उक्त आवको १२ महिनामा भने ४ अर्ब ७६ करोड ४३ लाख ८६ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४२ केजी अलैँची भारत निकासी भएको थियो । मेची भन्सार कार्यालयले जनाएअनुसार चालू आव २०७९/८० को फागुन मसान्तसम्म (आठ महिना) मा नेपालबाट १ अर्ब १० करोड ९१ लाख मूल्य बराबरको ३ करोड ६८ लाख ६८ हजार छ सय छ क्युविक फिट प्लाइउड भारत निर्यात भएको छ ।

गत आव २०७८/७९ को सोही आठ महिनाको अवधिमा नेपालबाट रु २९ करोड सात लाख चार हजार मूल्य बराबरको चार लाख ६४ हजार चार सय ५८ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो । उक्त आवको १२ महिनामा भने १० करोड ८० लाख ५२ हजार मूल्य बराबरको २४ लाख ५० हजार आठ सय २२ क्युविक फिट प्लाइउड भारत निकासी भएको थियो ।

पूर्वी पहाडका जिल्लामा अलैँची र अदुवाको खेती हुने गरेको छ भने प्लाइउडका कारखाना अधिकांश यहाँ जिल्लामा रहेका भएता पनि यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने रुखहरू भने पहाडी जिल्लाबाटै आउने गरेको छ । रासस

प्रतिक्रिया