काठमाडौं । ललितपुरको बखुण्डोलमा नेपालकै धनाढ्य विनोद चौधरीको समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि छिमेकीको उठिबास भएको छ । शुक्रबार राति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयको भागाभाग भएको थियो ।
भागेर ज्यान जोगाए पनि उनीहरुको बास उठेको छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न माग गरेका छन् । निर्माणाधीन अपार्टमेन्ट वरपरका घरको एक तला नै भासिएको छ । डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको घरधनीले बताएका छन् । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबारविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न उनीहरुले माग गरेका छन् ।
ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले पनि सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन् । शनिबार बिहान भासिएका घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन् ।
सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् । अपार्टमेन्ट निर्माणका क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन् । उनीहरुको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन् ।
त्यस क्षेत्रको सडकसमेत चर्किएपछि स्थानीय बासिन्दा तनावमा छन् । उनीहरूले आफूहरुको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरुको पीडाको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीयले दबाब दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य भने रोकिएको छ ।
समिट अपार्टमेन्ट चौधरी ग्रुप र रविभक्त श्रेष्ठको संयुक्त लगानीमा निर्माण भइरहेको हो ।
प्रतिक्रिया