‘कृषि उत्पादनमा देश निकै पछाडि’

काठमाडौं । कृषि तथा पशुपक्षी मन्त्री डा.बेदुराम भुसालले नेपालको कुल जनसंख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर रहे पनि कृषि उत्पादनमा भने देश निकै पछाडि परेको बताएका छन् ।

नयाँ वर्ष २०८० एवं भक्तपुरको बिस्केट जात्राका अवसरमा भक्तपुरमा बिहीबारदेखि सुरु भएको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’को उद्घाटन गर्दै उनले कृषि उत्पादनमा देश पछाडि पर्दै गएको बताएका हुन् ।

उनले भने, ‘नयाँ जनगणनाअनुसार नेपालको कुल जनसंख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर छन् तर कृषि उतपादनमा राष्ट्रिय योगदान २४ प्रतिशत मात्रै छ, यसले प्रष्टरूपमा कृषि उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको देखिन्छ, त्यसैले कृषि उत्पादनलाई बढाउनुप¥यो ।’

देशको अर्थतन्त्र सबल बनाउन, जीवन स्वस्थ बनाउन हाम्रा खेतीमा मौलिक उत्पादन बढाउन कृषि उत्पादनलाई बढाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भक्तपुर जिल्ला कृषि उत्पादनमा अगाडि भएकाले जिल्लाका उत्पादन यस्तो महोत्सवमा छुट्न नहुने बताए । मन्त्री भुसालले भक्तपुरको आफ्नो मौलिक उत्पादन जुजु धौलाई महोत्सवमा छुटाउन नहुने र यस्ता उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले विगतका वर्षहरूमा जस्तै महोत्सवमा शान्तिपूर्ण ढंगले सहभागी हुन आग्रह गर्दै भक्तपुरको प्रसिद्ध बिस्काः जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गराउन जात्रा अवधिभर मदिरा बिक्री–वितरणमा रोक लगाइएको जानकारी दिए ।

त्यस अवसरमा नेकपा (एकीकृत समाजवादी) का भक्तपुर अध्यक्ष श्याम बस्नेत, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महत र महोत्सवका संयोजक दीपक थापा, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले महोत्सवले भक्तपुर सांस्कृतिक तथा पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रफलमा आजदेखि सुरु भएको महोत्सव ३ वैशाखसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष महतले जानकारी दिए ।

महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, विभिन्न ब्रान्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुँडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल, सवारीसाधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका विभिन्न सामग्रीको दुई सयवटा स्टल रहेको उनले बताए ।

अध्यक्ष महतले भने, ‘विगतका वर्षहरूमा झैँ यस वर्ष पनि हामीले भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौं जिल्लामा बसोबास गर्दै आउनुभएका विभिन्न जिल्लाका व्यक्तिलाई लक्षित गरी घरायसी सम्पूर्ण सामान एकै ठाउँबाट सस्तो र सुलभरूपमा उपलब्ध गराउने उद्देश्यले महोत्सवको आयोजना गरेका हौँ, यसबाट हजारौँ उपभोक्ताले सहज सेवा पाउने विश्वास लिएका छाँै ।’

महोत्सवमा दैनिक बालउद्यान, रोटेपिङ, मारुति सर्कस, कोलम्बस, जादु, विभिन्न खेल सामग्रीका साथै दर्जनौँ राष्ट्रियस्तरका कलाकारको सांगीतिक प्रस्तुति एवं हास्यव्यङ्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहेको छ । महोत्सवमा हरेक दिन विभिन्न साङ्गीतिक ब्यान्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोइङ र चर्चित गायक गायिकाको प्रस्तुति दैनिक रहनेछ । महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्ठकला, माटोको भाँडा, पर्यटन प्रवर्द्धन गर्ने स्टलहरू निःशुल्क राखिएको छ ।

प्रतिक्रिया