जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाकाका जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता विकासका लागि सकारात्मक सोच र सामाजिक जबाफदेहिता विषयक तालिम दिइएको छ ।

गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरण तथा नवप्रवर्तन साझेदारी कोष सुर्खेतको आर्थिक सहयोगमा भएको तालिममा गाउँपालिकामा जनप्रतिनिधि, वडा सचिव, विषयगत शाखाका प्रमुख, राजनीतिकदलका प्रतिनिधि, प्रधानाध्यापक लगायत ७५ जनाभन्दा बढीको थियो ।

‘व्यावसायिक कृषि पशुपालन र पूर्वाधार, समृद्ध भगवतीमाईको आधार’ भन्ने गाउँपालिकाको मूलनारालाई सार्थकता दिन पालिकाका कर्मचारी जनप्रतिनिधि र अन्य सरोकारवालाको क्षमता विकासको लागि तालिम आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले जानकारी दिए ।

चैत्र १७ र १८ मा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सुशासन, नेतृत्व विकास, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असलगुण, स्थानीय सरकारको प्राथमिकता, सकारात्मक सोच जस्ता बिषयमा प्रकाश पारेका थिए । त्यसै गरी बास नेपालका पूर्व अध्यक्ष तथा प्रशिक्षक मन भण्डारीले सामाजिक जबाफ देहिताको औजारहरूको बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा महिला कर्मचारी तथा जनप्रतिनिधिको तर्फबाट बोल्दै निरुता गाहाले आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताइन् । दुई दिनको तालिमको समापन सत्रमा गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले तालिमबाट जनप्रतिनिधि र कर्मचारीको कामकर्तव्य र भूमिकाको विषयमा स्पष्टभएको बताए । उनले तालिमबाट सिकेको सिकाइलाई व्यवहारमा लागु गर्न सुरु गरेको भन्दै सबैलाई व्यवहार परिवर्तन गर्न सुझाव दिए । गाउँपालिकामा गर्न नसकिने कुनै कुरा नभएकोले कुनै पनि नागरिक जाँगर चलाउनु पर्ने समेत सुझाव दिए । उनले कर्मचारी तथा जनप्रतिनिधिहरूले भ्रष्टाचार गर्न नहुने बताए ।

प्रतिक्रिया