रास्वपाबाट चितवनमा रवि लामिछाने, तनहुँमा स्वर्णिम वाग्ले र बारामा रमेश खरेल उम्मेदवार

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३ वटै क्षेत्रमा उम्मेदवार घोषणा गरिएको छ ।

आज पार्टी कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरी रास्वपाले चितवन– २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ– १ मा स्वर्णिम वाग्ले र बारा– २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

गत मंसिरको चुनावमा चितवन– २ मा रवि लामिछाने नै निर्वाचित भएका थिए । तर, नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरे पछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

त्यस्तै, नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ– १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउन लागेको छ ।

बारा– २ मा उठ्न लागेका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं– १ मा उठेका थिए । काठमाडौं– १ मा पाँचौँ भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपनिर्वाचन लड्न लागेका हुन् । रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा– २ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया