विष्णु पौडेलले भीम रावलसँग निर्णायक वार्ता गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई सहमतिमा ल्याउन वार्ता टोली गठन भएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले तीन सदस्यीय वार्ता टोली बनाएर छलफलपछि आवश्यक निर्णय लिन जिम्मेवारी दिएको छ ।

पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेको तर पार्टीको विधि विधान नमानेको कारण रावलसँग वार्ता गरेर सहमतिमा पुग्नका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूर पश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेको तीन सदस्यीय टोली गठन भएको पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेले सो टोलीलाई नेता रावलसँग वार्ता गरेर आवश्यक टुंगोमा पुग्न जिम्मेवारी दिने निर्णय गरेको छ । एमालेले नेता रावललाई स्पष्टीकरण सोध्ने तयारी गरेको गुरुङले बताए ।

शनिबार बसेको बैठकमा नेताहरुले रावलको विषयलाई लिएर प्रश्न गरेका थिए । रावलले पछिल्ला दिनमा एमालेको निर्णय नमानेको र पार्टी अनुशासन नमानेको भन्दै स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

तर, उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्पष्टीकरण नभएर सोधपुछ गर्नेबारे छलफल भएको बताए । केही दिन अघि उपाध्यक्ष विष्णु पौडेल अछाम गएपछि रावल पक्षधर नेता कार्यकर्ताले पौडेलविरुद्ध नारावाजी गरेका थिए । त्यसपछि नेता रावलले आफ्नै गाउमा आउँदा पनि पौडेलले आफूलाई जानकारी नदिएको गुनासो गरेका थिए ।

प्रतिक्रिया