‘रित्तो रथ’ भित्रको सामाजिक अन्तर्य

श्रीबाबु कार्की

नेपाली वाङ्मयको क्षेत्रमा रत्न प्रजापति कुनै नौलो नाउँ होइन । नेपाली कथामा विशिष्ट काल–चेतनाका प्रखर स्रष्टा रत्न प्रजापतिका ‘बिसञ्चो’ (२०६१), ‘सेतो बादल’ (२०६६), ‘बदाम बेच्ने केटी’ (२०७४), ‘स्वच्छन्द साँझ’ (२०७४) र भर्खरै ‘रित्तो रथ’ (२०७९) कथासङ्ग्रह प्रकाशित छन् । ‘रित्तो रथ’ लाई शिखा बुक्सले प्रकाशित गरेको हो ।

नेवारी संस्कृतिको बिहङ्गम अध्ययन र सामाजिक सौन्दर्यका गहिरो आराधक प्रजापतिकृत कथाकारिताको फलक निक्कै विशाल र व्यापक छ । सामाजिक सूक्ष्म विषयलाई पनि कथाको बुनौटमा खँदिलोसँग बुन्नसक्ने सामथ्र्य रहेको छ । उनको कथाकारिता समाजको अन्तरचेतनामा गहिरोसँग डुबुल्की मार्नसक्ने खुवी रहेको छ । हरेक समाजभित्रको आशा–निराशा र प्राप्ति–अप्राप्तिमा कथाको बलियो पोयो कस्न खप्पिस प्रजापतिका कथामा नेपाली समाज, संस्कृति र सभ्यताको मनोविज्ञान छ, अन्तरचेतना छ, सह–अस्तित्व छ र आममानिसले थाहा नपाएको पृथक दृष्टिकोणको खुलासा छ । उनी आफ्नो कथामा निर्ममतापूर्वक प्रस्तुत हुन्छन् । उनले हरेक पात्रहरूको मनोदशालाई प्रखररूपमा उभ्याएको पाइन्छ ।

हरेक समाजका आफ्नै कथा छन् र व्यथा छन् । ती कथा–व्यथा ‘रित्तो रथ’ कथासङ्ग्र्रहमा मसिनो गरी चालिएका छन् । निश्चित क्षेत्र वा स्थानविशेषको जनजीवन, संस्कार, संस्कृति, जीवनशैली, भाषा, वेषभूषा, रीतिस्थिति आदिको प्रतिबिम्बन ‘रित्तो रथ’ का अधिकांश कथामा प्रयोग भएको छ । यसरी हेर्दा कथामा आञ्चलिकताको प्रचुर मात्रामा प्रयोग छ । समाजका हरेक विकृति, बेथिति र बेइमानीका विरुद्ध कथामा पात्रहरू निर्माण गरेर प्रजापतिले सभ्यता–समाज निर्माणको भगीरथ प्रयत्न गरिरहेका छन् ।

बत्तीस कथाहरू सङ्गृहीत ‘रित्तो रथ’ कथासङ्ग्रहको पहिलो कथा ‘गन्ध’ को सामाजिक यथार्थ निक्कै गम्भीर रूपमा देखाइएको छ । व्यवस्थाले उत्पन्न गरेको मूल्यहीनता र अन्याय र प्रशासनको चरम लाचारी तीखोसँग उधिनिएको छ । व्यवस्थाको गन्धको प्रतीकात्मक शीर्षक रहेको पहिलो कथादेखि अन्तिम कथा ‘सजाय’ सम्म आइपुग्दा हामीले भोगेका अनेकौं घटनाक्रमलाई विशिष्ट तवरले प्रस्तुत मात्रै गरिएको छैन, हरेक कथालाई झरिलो र रसिलो आस्वाद प्रदान गरिएको छ । ‘रित्तो रथ’ का हरेक कथाभित्र समाजमा व्याप्त प्रेमको सामाजिक मनोवैज्ञानिक पक्ष देखाइएको छ । हरेक कथामा कुनै न कुनै रूपमा आवृत्ति हुने वैयक्तिक र अन्तर्वैयक्तिक सम्बन्धलाई कथाकारले केन्द्रीय विषय बनाएको पाइन्छ । हामीले भोगिरहेको समाजको अदृश्य वास्तविकता र यथार्थ नै प्रजापतिका कथाभित्रको गुभो बनेर उभिएका छन् । कतिपय स्थापित सत्यलाई उनले फरक कोणबाट मात्रै हेरेका छैनन्, जो वर्षौंदेखि मानिरहेका सत्य पनि यथार्थमा झुट सावित गरिदिएका छन् ।

‘रित्तो रथ’ कथासङ्ग्रहको नाम ‘रित्तो रथ’ शीर्षकबाट लिइएको छ । यो कथाले नै सङ्ग्रहको नामका रूपमा प्रतिनिधित्व गरेको छ । खासमा हाम्रो सांस्कृतिक परम्पराबाट चल्दै आएको मच्छेन्द्रनाथको रथ तानिरहेको जात्राको परिवेश सिर्जना गरिएको छ । कथाकार रत्न प्रजापतिले जात्रालाई परिवेश र कथाको केन्द्रीय विषय ज्ञानीमायाको हल्किँदो प्रेमलाई दर्शाइएको छ । स्वभावैले जवानी चढ्दा प्राप्त हुने ज्ञानीमायाको प्रेमोभाव मच्छेन्द्रनाथको रथ तानिरहेको पठ्ठो युवामा पर्छ । आफ्नै सांस्कृतिक परिधानमा सजिएको पठ्ठो युवकमा पर्न गएको प्रेम नै पुस्तकको शीर्षक कथाका रूपमा आएको छ । यसरी हेर्दा कथाकारमा संस्कृति र प्रेमप्रति गहिरो सम्मोहन छ भन्ने प्रष्ट हुन्छ ।


नेपाली कथाको समकालीन सौन्दर्य र चरित्र नियाल्दा विभिन्न जात, वर्ग, समुदाय र लिङ्गका अनेकौं विषय प्राथमिकतामा पर्न थालेको छ । कथाकार रत्न प्रजापतिका कथामा पनि विभिन्न समुदायको जीवनपद्धति, संस्कृति र जातीय सौन्दर्यका पाटा–पक्ष मसिनोसँग उजागर भएको छ । उनका कथाका पात्रहरू साँइली तामाङ, वीरमान तामाङ, हरिमाया तताजु, ज्ञानीमाया, तेबाचा, सुकुचाजस्ता पात्रहरूले विविधतामय समाजको प्रतिनिधित्व गर्दछन् । यो समाज शास्त्रीय दृष्टिकोणले पनि निक्कै महत्वपूर्ण पुस्तकका रूपमा लिन सकिन्छ । नेपाली समाजको सामाजिक चरित्र, सामाजिक सद्भाव, सांस्कृतिक चेतना र नेपाली वस्तुस्थितिको अध्ययनका लागि पनि ‘रित्तो रथ’ को अध्ययन महत्वपूर्ण हुने देखिन्छ । यो कथा मात्रै नभएर हामीले अनुभूत गरेको समय पर्गेल्ने सामाजिक ऐना पनि हो भन्दा अत्युक्ति हुँदैन । कथाका पात्र मौलिक छन् । पात्रका भाषामा सामाजिक विविधता प्रष्टसँग झल्किन्छ । कथाको बुनोटमा हामी र हाम्रो परिवेश यथार्थ चित्रण देख्न सकिन्छ ।

‘रित्तो रथ’ कथासङ्ग्रहमा यौनमनोविज्ञान हरेक कथा आउने स्थायी विषय हो । सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक विषय उनका कथाका मूल स्रोत हुन् । प्रजापतिको कथासङ्ग्रह ‘रित्तो रथ’ भित्रका अधिकांश कथाहरू विशिष्ट छन् । यद्यपि उनको ‘गन्ध’, ‘रङ्गीन बाफ’, ‘तेबाचाको फेसबुक स्टाटस’, ‘उपदेश’, ‘खर्पन’, ‘म्यादी’, ‘रित्तो रथ’, ‘नागरिकता’, ‘अन्तिम काम’, ‘धमिलो तस्बिर’, ‘सपनाको अवसान’, ‘जाडो ः जिजीविषा’, ‘तलमाथि’, ‘अर्कै घरबाट’ आदि ‘रित्तो रथ’ मा सङ्गृहीत प्रतिनिधि कथा हुन् । उनका हरेक कथामा भाषाको शिल्प बेजोड छ । सरल प्रस्तुति नै उनका कथाहरूको वैशिष्ट्य हुन् । हरेक कथाहरू कथामात्रै होइनन् ती समाजको दृष्टिकोण पनि हुन् । सौन्दर्य हन् र सभ्यता पनि हुन् । सामाजिक परिवेशमा अन्तर्निहित तथ्य हुन् । प्रजापतिका कथा पढ्दा हामी र हाम्रो समाजको चहकिलो तस्बिर हाम्रो मानसखण्डमा आउँछन् । स्थानीकतालाई कथा सिर्जनाको मूल पोयो बनाउनु नै रत्न प्रजापतिको निजत्व बन्न पुगेको छ । ‘रित्तो रथ’ नेपाली कथा साहित्यमा संख्यात्मक रूपमा भन्दा गुणात्मक रूपमा देखिने पुस्तक हो । यो पुस्तकले काठमाडौं आसपासको स्थानीय लय, जीवनशैली, जनजीवन, परम्परा, रहनसहन, यथास्थिति र मौलिकता उजागर गरेको छ ।

तीन दशकदेखि निरन्तर साहित्य लेखनमा समर्पित रत्न प्रजापति बहुबिधामा कलम चलाउने बहुआयामिक व्यक्तित्व हुन् । उनको पछिल्लो प्रकाशित ‘रित्तो रथ’ कथासङ्ग्रहले नेपाली कथाको विकास र बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा म विश्वस्त छु ।
)

प्रतिक्रिया